बैशाख १ - महिलामाथि पटक पटक अभद्र टिप्पणी गरेका कारण आलोचित हुँदै आएका भारतको उत्तरप्रदेशका एक जना मन्त्री बर्खास्त भएका छन् ।
मुख्यमन्त्री अखिलेश यादवले खादी तथा ग्राम उद्योग मन्त्री राजाराम पाण्डेलाई गएराती बर्खास्त गर्नुभएको हो ।
गएको फेब्रुअरीमा एउटा सार्वजनिक कार्यक्रममा जिल्ला अधिकारीको सुन्दरताको बयान गरेपछि बिवादमा आएका मन्त्री पाण्डेले अस्ति शुक्रबार जिल्लाका सडक भारतीय अभिनेत्रीहरु हेमा मालिनी र माधुरी दिक्षीतको गाला जस्तै चिल्ला बनाउने टिप्पणी गरेका थिए ।
सडकको मर्मतलाई फेशियलको संज्ञा दिंदै उनले फेशियल गरेपछि महिलाको अनुहारमा चमक आएजस्तै सडकमा पनि चमक आउने बताएपछि विभिन्न महिला संगठनले उनको नियत खराब रहेको भन्दै विरोध शुरु गरेका थिए ।
मन्त्रीको टिप्पणीका कारण आक्रोशित बनेका मुख्यमन्त्री यादवले राती अबेर पाण्डेलाई बर्खास्त गर्नुभएको हो । यादवले महिलामाथिको कुनै पनि गलत व्यवहार आफूलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
फेब्रुअरीमा सुल्तानपुरका प्रमुख जिल्ला अधिकारीको शारीरिक ढाँचा र सुन्दरताप्रति टिप्पणी गरेपछि मन्त्री पाण्डेसंग महिला आयोगले स्पष्टीकरण मागेको थियो ।
- भारतीय सञ्चार माध्यमको सहयोगमा