पथलैया,४ चैतः त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगम स्थलका रुपमा रहेको बाराको पथलैया बजारका बासिन्दाले सुकुम्बासी आफूहरुलाई भूमीहिन नबनाउन सरकारसँग आग्रह गरेका छन् ।
पथलैया संघर्ष समितीका तर्फबाट अध्यक्ष उदयबहादुर श्रेष्ठले आइतबार एक विज्ञप्ती जारी गर्दै जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै सुकुम्बासी आयोगले मठ श्रेस्ता कायम गर्ने कार्य रोक्का गरेपछि आफूहरु पुनः जग्गाधनी प्रमाणपूर्जा चलनचल्तिमा ल्याउनबाट बञ्चित हुन पुगेको उल्लेख गरेका छन् ।
अनियतिता भएको भनि रोकिएको प्रकृयालाई तत्काल छानबिनबाट वास्तविक पहिचान गरी मठ श्रेस्ता कायम गराउनु पर्ने भएपनि सम्बन्धित निकायबाट हालसम्म पनि पहल हुन नसकेकाले आफूहरुलाई पीडित तुल्याएको पथलैयावासीका तर्फबाट जारी गरिएको विज्ञप्तीतमा उल्लेख छ ।
बाराको पिपरा सिमरा गाविस वडा नं. ९ पथलैयामा संवत् २०२१ सालदेखि बसोबास शुरु भएको स्थानीयबासिन्दाले बताएका छन् । सुकुम्बासी समस्या समाधान आयोगले २०५५ सालमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरेपनि हालसम्म ति लालपुर्जा चलनचल्तीमा आउन सकेको छैन । जग्गाधनी प्रमाणपुर्जा चलनचल्तीमा आउन नसकेको अवस्थामा सुकुम्बासी समस्या समाधान आयोगले बितरण भएका ती लालपुर्जा चलनचल्ती कायम गर्न भन्दै आयोगले २०६७ सालमा पुनः सुचना जारी गरेको थियो । आयागले प्रकृया पुरा गरेर २०६७ सालमा पथलैयाबासीलाई जग्गाधनी प्रमाणपुर्जा पुनः वितरण गरेपछि वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा अहिले स्थगन गरिएको छ ।