वीरगन्ज,२७ फागुनः आराध्यदेव भगवान् शिवको पूजा–आराधना गर्दै आइतबार देशभरका हिन्दू धर्मावलम्बीहरुले महाशिवरात्री पर्व मनाउँदैछन् ।
भगवान् शिव उत्पति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा पुराणहरुमा उल्लेख छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रुपमा पनि लिइन्छ । हिन्दु धर्मावलम्बीहरुयो दिन बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धााभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरु ऊनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको धर्मशास्त्रमा उल्लेख छ ।
महाशिवरात्रिका दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी ब्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।
शिवरात्रीको अवसरमा काठमाण्डौको पशुपति नाथ मन्दिरमा दर्शनार्थीहरुको ठूलो घुँइचो लागेको छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यसपाली पशुपतिमा १० देखि १२ लाख दर्शनार्थी आउने पशुपति क्षेत्र विकास कोषको अनुमान छ ।
यता, महाशिवरात्री पर्बका अवसरमा पर्साको महादेवपट्टी गाविसमा आइतबार ऐतिहासिक धार्मिक मेला लागेको छ ।
महादेवपट्टी गाविसको वडा नम्वर ९ मा अवस्थित जिराभवानी मन्दिरमा बिहानैदेखि दर्शनाथीहरुको भीड लागेको छ । शिवरात्री पर्बको अवसरमा शनिबारदेखि शुरु भएको मेलामा नेपाल तथा भारतका विभिन्न जिल्लाहरुबाट हजारौंको संख्यामा दर्शनार्थीहरु महादेव शिवको पूजा आराधना गर्द आएका छन् । शिवरात्री पर्वकै अवसरमा वीरगन्जको अलखिया मठमा पनि बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।यसैगरी हाम्रा सीमरा संवाददाताका अनुसार बाराको काँटघाटस्थित सहजनाथ महादेव मन्दिरमा पनि दर्शनार्थी र भक्तजनको घुँइचो छ ।
महाशिवरात्रि पर्वको अवसरमा ब्रह्महाकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले प्रवचन कार्यक्रम आयोजना गरेको छ । छपकैयास्थित सेवा केन्द्रको कार्यालयमा सम्पन्न प्रवचनमा सहभागीहरुले समाजमा बढ्दै गएको विकृतीका कारण धर्म संस्कृती ओझेलमा पर्दै गइरहेको टिप्पणी गरेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी वेणी माधव ज्ञवालीले अध्यात्मीक ज्ञानका माध्यमबाट विश्वमा फैलिएको हिंसाको अन्त्य गर्न सम्भव भएको बताए । कार्यक्रममा निर्वतमान सभासद रमेश रिजाल ,जितेन्द्र सोनल ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय सरावगी,प्रहरी उपरिक्षक पिताम्वर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।