वीरगंजमा एकैदिन ४६ जना पक्राउ


वीरगन्ज,५ चैतः जबरजस्ती बजार बन्द गराएको आरोपमा प्रहरीले सोमबार राष्ट्रीय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम पटेलसहित ४६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरी हिरासतमा रहेका पप्पु सिंह र पवन गुप्ताको रिहाईको माग गर्दै पार्टीका कार्यकर्ताहरुले बिहान वीरगन्ज बजार बन्द गराउन भन्दै जुलुस निकालेपछि प्रहरीले जुलुसमै हस्तक्षेप गरेर जिल्ला अध्यक्ष पटेल र महिला कार्यकर्ता रेखासाहलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई लखेट्दै बजार छोड्न बाध्य बनाएपछि प्रर्दशनकारीहरु थप तयारीका लागी आदर्शनगरस्थित स्वीमिङमपुल परिसरमा जमघट गर्न गएका थिए । प्रदर्शनकारीहरु वीरगन्ज उपमहानगरपालिका कार्यालयको स्वीमिङगपुलमा आश्रय लिइरहेको जानकारी पाएपछि प्रहरीले स्वीमिङगपुलमै छापामारी गर्दै थप ४४ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले पारिवारिक झगडाको निहुँमा शहरमा गुण्डागर्दी गर्दै हिंड्ने जोसुकैलाई प्रहरीले उन्मुक्ति नदिने बताउँदै गत शुक्रबार जग्गाको स्वामित्व विवादलाई लिएर भएको हिस्रक झडपमा पक्राउ परेका २ जनासहित ६ जनाविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गरिने  जानकारी दिएका छन् । छपकैयाँ निवासी गोपाल यादव र उनका भिनाजु जीतबहादुर यादवबीचको घरजग्गा सम्पत्ति विवादलाई राजनीतिक रंग दिंदै मधेश समाजवादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ताले झडप निम्त्याएका हुन् ।
मधेश समाजवादी पार्टीले झडपलगत्तै पक्राउ परेका पप्पु सिंह, पवन गुप्ता आफ्ना कार्यकर्ता भएको र झडपमा संलग्न नरहेको दाबी गर्दै रिहाई गर्न माग गरेको छ । झडपबाटै पक्राउ परेका शेरु भनिने महबुब आलम ठकुराई र एराज आलमलाई प्रहरीले हिरासत मुक्त गरिसकेको छ । प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले उनीहरु पीडित भएको र गम्भीर घाइते भएकाले मुक्त गरिएको दाबी गरेका छन् ।
शेरु भनिने महबुब आलमले इनर्वा सीमा प्रहरी चौकीको नयाँ भवन निर्माणका लागी जिल्ला प्रहरी कार्यालयलाई आर्थिक सहयोग गर्नुका साथै भारततर्फ अवैधरुपमा कवाड निर्यातको काम गर्दै आएकाले इनर्वा चौकीमा नियमितरुपमा मासिक नजराना समेत बुझाउने गरेको सम्बद्ध श्रोतले जानकारी दिएको छ ।

SHARE THIS

Author:

Facebook Comment