वीरगंज, ७ चैत्र
पर्साको लिपनिविर्ताका एक बालका ३ दिन देखि वेपत्ता छन् । गत सोमबार घरबाट विद्यालय गएका बालक आज सम्म पनि नफर्के पछि परिवारजन चिन्तामा डुबेको छ । वीरगंज लगायत यस क्षेत्रमा अहिले कुनै पनि सर्वसाधारण अपहरणमा पर्नु वा हराउनु भनेको खसि बाख्र बेपत्ता भए जस्तै स्थायिन प्रशासनको चिन्ता र चासो विहिन बन्न पुगेको छ । बरु खसि बाख्रा हराउँदा त्यसको खोजि गरिएला तर कोइ सर्वधारण अपहरणमा प¥यो भने यहाँको प्रहरीले न त त्यसको खोजि नै गर्छ न त चिन्ता र चासो नै देखाउँछ । यस्तै स्थितिको सृजना भएको छ अहिले पर्सामा जिल्लामा । विगत ५÷६ महिना देखि बढेको श्रृङ्खलाबद्ध अपहरण र हत्याका घटनाले अहिले यस क्षेत्रका बासिन्दाहरु त्रासमा जीवन गुजार्न बाध्य छन् । गत सोमबार स्कुल गएका लिपनि विर्ता गाविस १ निवासि विनोद महतोका १५ बर्षिय छोरा पवन कुमार महतोको अवस्था आज सम्म पनि पत्ता लाग्न सकेको छैन । स्कुल गएको छोरो घर नफर्के पछि विनोदको परिवार अहिले निकै चिन्तामा डुबेको छ । आफ्ना नातागोताकोमा गएको छ की भनेर सवै खोज्दा पनि फेला नपरेको र खोजिका लागि प्रहरीलाई जानकारी दिए पनि आज सम्म पवनको अवस्था अझै अज्ञात रहेको विनोदले गुनासो गरे । पवन मोडर्न इङ्गलिस बोर्डिङ स्कुल परवानिपुरमा पढ्छन् । छोरोले बोकेको मोवाइलमा केहि बेर फोनको घण्टि गएको भए पनि त्यस पछि मोबाइल अफ रहेको विनोदले बताए ।
उनले पनि छोरो अपहरणमा परेको आशंका प्रकट गरे । तर अहिले सम्म कतै बाट पनि केहि खबर नआएकाले विनोदको परिवार झनै अत्ताल्लिएको छ । छोरोको अवस्थालाई लिएर अहिले विनोद मात्र होइन उनकी श्रीमतीको अवस्था पनि खानु न पिउनुको बनेको छ । परिवारले पवनको खोजिका लागि भन्दै स्थानिय प्रहरीमा पटक पटक घचघचाउँदा पनि आज ४ दिन भइसक्दा समेत प्रहरीले सिन्को सम्म भाँच्ने काम गरेको छैन । यस अघि पनि वीरगंजबाट अपहरणमा परेर बेपत्ता हुनेहरुको सुचि लामै छ । विशेषःत प्रहरी उपरिक्षकका रुपमा पिताम्बर अधिकारीले पर्साको कमाण्ड सम्हाले देखि नै अपहरण, हत्या, लागुऔषध ओसारपसार र तस्करीका काम रोकिनुको सट्टा दिन दुगुना रात चौगुनाले बढिरहेको छ । वीरगंज उपमहानगरपालिका ६ कुम्हालटोल निवासि १९ बर्षिय राजु प्रजापतिको गत कार्तिक २१ गते वीरगंजको मुटु मानिने घण्टाघरबाटै अपहरण भएको पनि आज ५ महिना पुग्न लाग्यो । यो अवधिमा राजुको कुनै खोजखबर प्रहरीले गरेन वा खोजि गर्ने चासो नै देखाएन । राजु फर्केला भन्ने पर्खाइमा दिन वितिरहेको छ पिडित परिवारको । तर पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारी भने राजु घटनाका सम्बन्धमा प्रहरीले निकै मेहनत गर्दा पनि फेला पार्न नसकेको बताउँदै उहि रेडिमेड जवाफ खोजतलास र अनुसन्धान जारी छ भन्न लाजै मान्दैनन् । मंसिर २६ गते वीरगंज १६ राधेमाइबाट अपहरणमा परेका १८ बर्षिय ब्रजेश महतो, अशोज ३ गते देखि वेपत्ता भएका मुड्लि ३ का दशरथ कम्कड, तिहारताका धनतेरसको राति वीरगंजको रानीघाटमा रहेको कृषि शाखा कार्यालय नजिक बाट वेपत्ता भएका भारतको सुगाहा भवानिपुर कंगलि थाना बस्ने ५० बर्षिय रामजित यादव र रामगढवा थानाका २१ बर्षिय रामचन्द्र साहको अवस्था अहिले सम्म यस्तै अज्ञात छ । घटनामा प्रहरीको अनुसन्धान प्रकृया निकै फितलो रहेकाले केहि पत्तो लाग्न नसकेको यी नै घटनाले छर्लङ्ग भएको छ । वीरगंजको आदर्शनगरका एक मारवाडि समुदायका बालक श्लोक अग्रवाललाई अपहरण मुक्त गर्न पनि अन्चल प्रहरी कार्यालय नारायणीका बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालको सकृयतामा सफलता मिलेको थियो । यी नै घटनाले पर्साका प्रहरी उपरिक्षक अधिकारीले स्थानिय बासिन्दामा शान्ति शुरक्षाको प्रत्याभुति दिलाउन निकै असक्षम भएको पुष्टि गरिदिएको छ ।