दलालहरुको हातबाट बेचिएका युवा शक्तिहरु

-सीता पौडेल
      रातिको दुई बजिसकेको थियोे निद्रा मानौं कोसौ टाढा थियाे । सुनसान रात अनि कतै कतै कुकुरहरूको भुकाइले रातको सुन्यतालाई बिथोली रहेको थियो ।
  अब केही दिन मात्र बाकी थियो फेरि विदेशको यात्रालाई निरंतरता दिन ।फेरि आफ्नु घर परिवार छोडेर जानु पर्ने बाध्यता  ऐना जस्तै छर्लंग थियो । जतिजति दिन नजिक आउँथ्यो त्यतित्यति नै मन उदास हुन्थ्यो ।मलाई राम्रैसंग याद छ , परदेशमा बितेका ती हरेक दिन अनि ती हरेक पल मेरोलागी युग जस्तै भएको थियो तर समय परिवेशले धेरै कुरा सिकाएको हुनाले दुखलाई आफ्नो साथी मान्दै फेरि परदेशी भूमिमा फर्किन तयार पारेकी छु यो मन मस्तिष्कलाई ।
   म मात्रै होईन म जस्ता लाखौं युवा युवतीहरु विदेशीन बाध्य भएका छन् । देशको बिगर्दो अर्थतन्त्र , बेरोजगारी , महँगाई अनि भ्रष्टाचारले निम्त्याएको दुर्दशाको चपेटामा परेका हामी नेपाली यसैलाई स्वीकार गर्न बाध्य छौं । यसरी विदेशीने क्रम पनि द्रुतगतिमा नै छ । देशका शिक्षीत चेतनशील युवायुवती यसरी विदेशीएर आफ्नो श्रमको पसिनाले अरुको मरुभूमिमा सिचाइ गरि रहेका छन् ।
कास यी सबैकुरामा सरकार सचेत भइ दिएको भए र केही गर्ने अवस्था बनाई दिएको भए आज यसरी युवाशक्ति परदेशीभूमिको शरणमा हुने थिएन होला र हाम्रो देश नेपाल अनि हामी नेपालीको स्वाभिमानमा प्रश्नचिन्ह लाग्दैनथ्यो होला ।
   अझ खास गरि भन्ने हो भने खाडी मुलुकमा छिरेका युवाशक्तिहरुको स्तर या मुल्य भनौं अत्यन्त न्यून छ ।दलालहरुको हातबाट कयौं पटक बेचिन बाध्य भएको छ युवाशक्ति । समयमा पारिश्रमिक नपाउनु जबर्जस्ति श्रम र यौनशोषण हुनु , शारीरिक , मानसिक यातना दिनु ।यी सबै पिडाहरुलाई पनि नेपाली दूतावासले चासो नदिदा नेपालीहरु ठुलो मारमा परेका छन् ।
    शारीरिक र मानसिक पिडाको मार खेप्न नसकेर कयौं नेपालीहरुलाई हृदयघात भएर सुतेको ठाउँमा सुतेको सुतै भएको अवस्था भेटिन्छन् भने कोही आत्महत्या गर्न पुग्दछन् ।
   दलालहरुलाई मोटो रकम बुझाएर पीडित बनेका युवाशक्तिहरुको बारम्बार आग्रहको सुनुवाइ अहिलेसम्म भएको छैन् ।नेपालमा उनीहरुलाई एउटा काम बताइन्छ तर विदेश छिरी सके पछि उनीहरूलाई अरु नै काम दिइन्छ । न त घरनै फर्किन सक्छन् न त भने बमोजिमको पारिश्रमिक नै पाँउछन् ।रिन धन गरेर दलाललाई बुझाएको पैसाको भार तिर्न त दूर आफ्नो र आफ्नो परिवारको खर्च सम्म राम्रो संग धान्न सकेका छैनन् । आखिर किन र कहिले सम्म सरकार यसरी सुती रहन्छ ।
   न त नेपालमा नै गरि खाने बाटो छ न त विदेशमा नै । सरकारले यदि जथाभावी म्यानपावरहरु खोल्न नदिएको भए शायद यस्तो अवस्था आउने थिएन होला । यसरी खाडी मुलुकहरूमा विचल्लीमा परेका नेपालीहरुको ब्यथा पुरानै भै सक्यो तर अहिलेसम्म सरकार पक्षबाट कुनै पहल नहुदा दुख जहाँ को त्यहीँ छ अनि पीडितहरु पनि जहाँ का त्यही छन् दुर्घटनाको शिकार बन्न पुगेकाहरुलाई पनि नत राम्रो उपचार नै हुन्छ नत उनिहरुले पाएको पारिश्रमिकले भ्याउछ् ।
    देशमा आफ्नो भविष्य सुनिश्चित नदेखे पछि इजरायलमा कार्यरत नेपालीहरु पनि उतैबाट युरोप छिर्ने गरेका थुप्रै उदाहरणहरु छन् । विदेशमा बसेर वाक्क दिक्क भइ सकेकाहरु देशमा गरि खाने संकेत देख्ना साथ स्वदेश फर्किन तयार रहेको बताउँछन् । यसकोलागि सरकारले जतिसक्दो चाडाे भन्दा चाडाे देशमा सुव्यवस्था कायम गरि युवाशक्तिको पसिना परदेशी भूमिमा खेर जान नदिन कदम चाल्न जरुरी छ ।
(प्रकाशन मिति: २०७३ वैशाख ०९ गते बिहिवार)

SHARE THIS

Author:

Facebook Comment