नेपाल विकसित हुँदै गरेको नवनाजी पथ

–स्वयम्भुनाथ कार्की
जर्मनमा हिटलरले स्थापना गरेको नाजी पार्टी राष्ट्रवादको नाममा नै थियो । तर त्यसमा राष्ट्रवादमा हुने माधुर्यता थिएन , राष्ट्रको हिस्सा भएका सबै नागरिक प्रति हुनु पर्ने प्रेम थिएन । किनभने हिटलरले राष्ट्रको अलग परिभाषा गरेका थिए ।

जातीय समुदायलाई राष्ट्र भन्ने यो परिभाषाले राष्ट्रवादलाई संकुचित पार्नु स्वभाविक नै थियो । त्यसमाथि ‘यहुदी’ हरुलाई जर्मन मान्न अस्विकार गर्दा नाजीवाद वर्तमानमा गाली गर्ने शव्द हुन पुगेको छ ।

सबैले नाजीसंग नै सहमती र सहकार्यको गर्नै पर्ने वाध्यकारी अवस्थामा त्योसंग असहमती राख्न पाउने त के असहमती प्रकट गर्दा पनि ज्यान जाने डर व्याप्त भएकाले हिटलरलाई तानाशाह हुन सहयोग पुग्यो ।

नाजी पार्टीका सिद्धान्तमा जुनजुन खरावीले र कार्यले यसलाई यत्तिको बदनाम गरायो , असंख्य ज्यान जाने कारण बन्यो त्यहि कुराहरु नेपालमा विस्तारै टाउको उठाउन लागेको देखिदैछ ।

आधुनिक नेपालको निर्माणदेखि नै पानीमा चिनी जस्तो एकाकार भएर रहेको भौगोलिक अनि भावनात्मक एकता भएको नेपाललाई नयाँ नेपालले तोड्दैछ ।

आज नेपालमा नेपाली धेरै कम रहेका छन , खस छन, बाहुन छन, नेवा छन , मधेशी छन, आदिवासी छन, मुस्लिम छन, इसाई छन । यस्ता धेरै जातिय समुदाय छन जो आफुलाई नेपाली भन्न भन्दा जातिय परिचयले चिनाउन गौरव मान्छन ।

हिटलरको जातिय भनेको नै राष्ट्रियता हो भन्ने रट लगाउदैछन । यो जातिय राष्ट्रियतामा समग्र नेपाली राष्ट्रियता निसासिदै छ ।

यहुदी र जर्मनआर्य विचको जस्तो वैमनश्यताको विउ रोपिई सकेको छ । धोती, टोपी , दोक्चा आदिमा राष्ट्रियता खोजिदैछ । यसलाई नयाँ नेपालको संविधानले संरक्षण गरेको छ । सबै नेपाली भन्दा पुग्ने स्थानमा जाती समुदायको लामो सुचीको साथै दलित, महिला आदिका सुची पनि राखिएको छ ।

कथं कदाचित त्यो सम्वोधनले नपुग्ने कुनै समुह पर्‍यो भने संविधान संसोधन गर्नु नै पर्ने हुन्छ । मुलुकमा वैचारिक प्रतिस्पर्धा सहमती र सहकार्यको नाममा निषेध सरह छ ।

संविधानमा राख्ने हिम्मत पनि नगरेको उच्चस्तरिय राजनैतिक समितिलाई नियंत्रक र निर्देशकको भुमिका दिएर राख्‍नाले नाजीको झझल्को देखिदैछ । यहि झझल्कोलाई ‘नवनाजी पथ’ भनिएको हो ।

राष्ट्रमा एकै राष्ट्रको नागरिकको निमित्त भरसक प्रयोग गर्न नै नहुने गरेर आपत्तिजनक मानिनु पर्ने शव्दहरु जस्तै विहारी शरणर्थी, भोटे शरणार्थी , शरणार्थी बाहुन क्षेत्री जस्ता शव्दका प्रयोगहरु राष्ट्रप्रेम देखाउने माध्यम ठानिएका छन ।

जारी गर्ने वित्तिकै संसोधनको प्रस्ताव गरिएको संविधानलाई उत्कृष्ट संविधान भनेर कसैले भनेन भने बाहुवलले त्यसलाई त्यो भन्न लगाइनुलाई जागरण अभियान नाम दिईन्छ ।

कुनै समुदाय विषेशलाई गाली गरेर हिटलरले जस्तो ‘यहुदीकरण’ गरिनुलाई ठिक मान्ने प्रचारतन्त्र बलियो बनाईदैछ । यस्तै कामहरु जर्मनमा नाजीको उदयताका भएको कुरो इतिहासमा उल्लेख छन ।

मुलुकमा कोही केही कुराले असन्तुष्ट पनि हुन सक्छ । यो असन्तुष्टीको सम्वोधन गर्ने जिम्मा सत्ताधारीको हो, सत्ताधारी दलका हरेक कार्यकर्ताको हो । असन्तुष्ट त असन्तुष्ट नै भै गयो उसले त कुतर्क पनि गर्न सक्ला , कुकाम पनि गर्न सक्ला तर त्यसको वदलामा त्यसै गरेर असन्तुष्टहरुलाई सिध्याउन खोज्नु नवनाजी पथ नै हो ।

हालै भएको रंगेलीको घटना पछि जब सत्ताको नेतृत्व गरेको दलको युवा मोर्चाका नेता सार्वजनिक रुपमा ‘रंगेलीमा चटनी बनाई दिन सक्थ्यौ तर धैर्य गर्‍यौ ’ भनेर भन्छन भने हाम्रो कुरा नमान्नेलाई ‘ग्यास चेम्वर’ पठाई दे भन्ने हिटलर भन्दा कुन कुरामा कम भयो र ?

यहाँ तर्क आएको छ, कुनै भुभागमा हामीले कार्यक्रम नै गर्न नपाउने र ? यहि तर्कलाई मात्र सुनेर फैसला गर्नेहरुको चर्का कुराहरु पनि सामाजिक संजाल र पत्रपत्रिका भरी आएका छन ।

तराई भुभाग धेरै समयदेखि अशान्त बनेको छ यो कुरा सबैलाई थाहा छ । कतिपय स्थानहरु त रणभूमि सरह भएका पनि थाहा छ । ति स्थानहरुमा जिम्मेवारहरुले कस्तो कार्यक्रम केका निमित्त चलाउनु पर्ने भन्ने सामान्य विवेक पनि नभएका हैनन ।

नवनाजी पथ लागु गर्न खोजिएको हैन भने प्रष्ट भन्नु पर्‍यो सदभाव बढाउने कार्यक्रम के के थियो ? यो कार्यक्रम पछि त्यहाँको सदभाव वढ्यो कि घट्यो ? कि त्यो स्थानलाई पराई भूमि मानेर गरिएको युद्धघोष हो ?

साठी प्रतिशतसम्म मुख्यबाली धानको उत्पादन घटेको त्यो क्षेत्रमा रवीवाली गहुँको सिचाईको मौसम हो यो । सिचाईको निमित्त डिजेल नपाएर किसान प्याकप्याक परेको बेलामा जनताको , किसानको सुविधाका कार्यक्रम लिएर गएको भए पनि त सरकार प्रति सद्भाव बढने थियो ।

सरकार हाम्रै रहेछ, हाम्रो दुखमा थोरै भए पनि साथ दिन आयो भन्ने भावना पैदा हुने थियो । यो कार्यक्रम पछि त सिंचाइ गर्न सक्ने संभावना झन टाढा भएको छ । रवी बालीको पनि उत्पादन घटेको अवस्थामा मुलुकमा भोकमरीको अवस्था आउन सक्छ । के यो कार्यक्रमले मुलुकको हित गर्‍यो त ?

आफ्नो कुरा जसरी पनि लागु गर्ने , आफ्नै भुभागलाई पराया व्यवहार गर्ने, आफ्नै नागरिकलाई गैर नागरिकको व्यवहार गर्ने प्रवृत्तिलाई मन नलागे पनि नवनाजी पथको संज्ञा दिनुको विकल्प छैन ।

कसैको रंग र समुदाय हेरेर उसको मुलुक प्रतिको आस्था अड्कल गर्नु ठिक हैन । मुलुकको उच्चतहमा रहने तर अमेरिका आदि विकशित मुलुकको ग्रिनकार्ड बोक्नेहरु जुनसुकै समुदायका पनि पाईन्छन ।

मुलुकको उत्पादनलाई हानी पुर्‍याएर विदेशीको सामुन्ने भिख माग्नु पर्ने अवस्थामा लैजाने पनि छन के तिनीहरुको मुलुक प्रतिको आस्थामा शंका गरिनु पर्दैन ?

यो नवनाजी पथको यात्रामा नेपालीले पुणविराम लगाउनै पर्दछ । नेपाली सबै समुदायका छन, सबै भुगोलका छन । यो मुलुकलाई धोका दिने पनि सबै जातीका हुन सक्छन, सबै समुदायका हुन सक्छन ।

त्यसैले अवको संघर्ष भनेको नेपाली र ति नेपालीको भेषमा रहेका गैर नेपालीको बीचको हो । जनताको आदेश शिरोधार्य गर्ने र जनतालाई जवरजस्ती आफ्नो कुरा मान्न बाध्य बनाउने नवनाजी बीचको हो ।

यसलाई रंगले, समुदायले, जातजातीले छुट्याउन सकिन्न । त्यसको काम र त्यो कामको परिणामले छुट्टिन्छ । आजको आवश्यकता हो नेपालमा विकसित हुँदै गरेको नवनाजी पथको उन्मोलन ।

विराटनगर १
साभारःगोरखा एक्सप्रेस

SHARE THIS

Author:

Facebook Comment