भटमास गेडी खसेली, हाम्री भेंडी हँसेली

-राम लोहनी

एउटा लठेब्रो थियो। उसको काम भेँडा चराउनु थियो। अरू त के गर्थ्यो र। गोठालो जाँदा आमाले उसका पोल्टामा भटमास भुटेर हाल्दिन्थिन्। भटमास पोल्टामा हाल्दिँदै आमा भन्ने गर्थिन् -- भटमास नखसालीकन खाएस् नि! लठेब्रो भटमास बोकेर भेँडा धपाउँदै परको खरबारीतिर जान्थ्यो भेँडा चराउन। एकदिन लठेब्रोको पोल्टाबाट एउटा भटमासको गेडो खसेछ। लठेब्रो खरबारीको पुछारतिर थियो। त्यहाँ छोडेको भेँडा चर्दै चर्दै माथितिर पुगिसकेका थिए। आमाले भटमास नखसाली खानु भनेको एउटा गेडो खस्यो भनेर लठेब्रोलाई पर्नु पीर पर्‍यो। अब के गर्नु? भटमास नखोजी त भएन! खर पन्छ्याएर एकछिन खोज्न थाल्यो, तर भटमास फेला परेन। उसको पालो खरमा आगो लगाइदियो। आगो फेला पारेको खर हुरुरु बल्न थाल्यो। बलेको खरले भेँडाहरू पनि सबै डढायो। खर बलिसक्दा भेँडा फर्काउने बेला भैसकेको थियो। भटमासको गेडो पनि डढेर खरानी भयो। लठेब्रोले भटमास फेला पारेन।

लठेब्रो भेंडा खोज्न माथितिर गयो। डढेका भेंडा ङिच्च हाँसेजस्ता देखिएका थिए। एक एक भेंडा घिसार्दै खोरमा पुर्‍यायो। यति गरिसक्दा रात परिसकेको थियो। उता छोरा नफर्केकोमा आमाचाहिँ आत्तिसकेकी थिइन्। बल्ल बल्ल लठेब्रो फर्क्यो। आमाले सोधिन् -- कहाँ गएको थिइस्? भेंडा खोइ?
लठेब्रोले जवाफ दियो -- भटमास गेडी खसेली, हाम्री भेंडी हँसेली।
--------
प्रजातन्त्र, अधिकार, समानता आदि विविध नारा राखेर आन्दोलन गर्ने चलन विश्वमा सबैतिर होला। हुनु पनि पर्छ। हाम्रो देशाँ पनि निरन्तर छ। अन्तको त थाहा छैन, तर हाम्रा देशाँ भने आन्दोलनको नाममा जसको लागि आन्दोलन गरियो तिनैलाई ढाल बनाउने, तिनैलाई रसातलमा पुर्‍याउने गरी बन्द-हडताल गर्ने, विकास निर्माण ध्वंस गर्ने, उद्योग, कल-कारखाना बन्द गर्ने प्रचलन छ।

खरबारीमा हराएको भटमासको गेडो खोज्न भेंडा चरनमा आगो लगाउने मात्र होइन, भेंडै डढाएर सिध्याउने आन्दोलन संसारमा अन्त पनि हुन्छ कि हाम्रो देशाँ मात्र हुन्छ? डढेको भेंडालाई हाँसिरहेको बताउँदै आन्दोलनको उपलब्धी भनेर डिङ हाक्ने चलन चाहिँ शायदै अन्त होला!

(लोहनीको फेसबुकवालबाट साभार)

SHARE THIS

Author:

Facebook Comment