मृत्युको मुखदेखि स्वर्गसरी घरसम्म

'कामनपाका पूर्व मेयर केशव स्थापितको दिगंवत पूजनीय माता'
– महेश्वर श्रेष्ठ, ललितपुर
कामनपाका पूर्व मेयर केशव स्थापितकी पूजनीय आमाको निधन भएकोले समवेदना प्रकट गर्न २०७२ बैशाख १२ गते शनिवार विहान ताहाचल स्थित उनी कोरा बसेको घर पुगेको थिएं। करिब दशक पछि मात्र भेटघाट भएकोले अलि लामो गफसफ पनि गरियो। उनीसंग विदा भएर घर फर्कने क्रममा विष्णुमती किनारको रामघाट निर डल्लुबाट लगनखेल चल्ने माइक्रोबस पर्खिरहेको थिएं, कोने (परम्परागत तल्लो, दक्षिण काठमाडौं) काजी खलकका रघुराज राजभण्डारी एक भद्र महिलालाई मोटरसाइकलमा लिएर त्यहीं आइपुगे। महिलालाई ट्याक्सीमा चढाएर गन्तव्य तर्फ पठाइसके पछि हामी बीच केही छिनको भलाकुसारी पश्चात उनले "मेरो घर नजिकै माथि यंगालमै हो। जाउँ दाई आज म तपाईंलाई मेरो घर देखाउँछु। खाना पनि मेरै घरमा खाउँ है दाई" भन्दा मैले "हुन्छ भाई। तपाईंको घर पनि हेरुंला, चिया पनि खाउँला, खाना चाहिं आफ्नै घरमा खाउँला" भनेर मोटरसाइकलको पछिल्लो सिटमा बसेर उनको घर भएको ठाउँ यंगाल तर्फ जाने क्रममा काठमाडौं भीमसेनस्थानबाट चिकंमुगल छिचोल्ने साँघुरो गल्लीको आधा बाटो जति मात्र के पुगेका थियौं वातावरणमा एकाएक बाक्लो हुस्सु लागेको जस्तो अँध्यारो लाग्यो। मानिसहरु कोलाहल गर्दै भागदौड गर्न थाले। माथिबाट केही ईंटा पनि झर्न थाले। ओभरहेड ट्याङकीबाट पानी छचल्किएर पोखिन थाले। यो सब देखेर पनि मैले राघुराजलाई के भएको होला भनेर सोध्दै थिएं। मोटरसाइकलको सन्तुलन गुमाएका उनले पनि "भूकम्प आएको जस्तो छ दाई, सुरक्षित ठाउँमा लागौं" भनेर मोटरसाइकललाई बाटोमा त्यतिकै लडाएर नजिकको एक घरमा छिरे। म पनि एउटा घरको ढोकामा चौकोस समातेर ओत लागेर बसें। २०१८ सालदेखि उपत्यकामा आउने लगभग सबै खालको भूकम्पको झट्का खाँदै आएको मैले १ मिनेट जति समय बितिसक्दा पनि त्यस दिनको भूकम्प थामेको होइन। आफू ओत लागेको ढोकाको माथि घरको अन्तरंग तिर आँखा लगाएको त म जस्तो मान्छेले जम्माएर २-४ लात हान्यो भने पनि गर्ल्याम गुर्लुम ढल्ला जस्तो अलिकति भुँडी फुलिसकेको काँचो माटोको जोडाईको पुरानो घर पो रहेछ। 'लौ, विधाताले मेरो देह त्याग गर्ने ठाउँ यही भनेर लेखेको रहेछ' भनेर मनमा गम्दै थिएं, शुरु भएको करिब २ मिनेटमा भूकम्प रोकियो। रघुभाई पनि आफ्नो ठाउँबाट निस्केर "यहाँबाट छिट्टै निस्कौं दाई" भन्दै लडेको मोटरसाइकल उठाएर मलाई पछाडी चढाएर बाटोमा खसेका ईंटा काठ माथि समेत चढाउँदै भीमसेन मन्दीर तर्फै लागे।
भीमसेन मन्दीरको अगाडी र बायाँ तर्फ केही खुला ठाउँमा भूकम्पको आतंकले कालोनीलो भएका हजारौं मानिसहरु भेला भइसकेका थिए। हामी एक छिन त्यहीं रोकेर मोबाइल फोनबाट घरमा सम्पर्क गर्न खोज्यौं तर टेलिकमको नेटवर्क पूरै बन्द थियो। यतिकैमा रघुभाईलाई अकस्मात घरको असामान्य स्थितिको सम्झना भयो होला "मर्मतको लागि टेकोसेको लगाई राखेको मेरो घर के भयो कोला ? दाई, तपाई कुनै तरिकाले आफ्नो घर पुग्नु होला। जति सक्यो त्यति छिटो म मेरो घरमा पुग्नै पर्ने अवस्था छ" भन्दै अघि भनेकै गल्ली भित्र हुईंकिए। म पनि घर फर्कनको लागि परोपकार संस्था तर्फ जाने बाटोमा ओरालो लाग्न लाग्दा अलि पर कोहिटी जाने बाटोमा एउटा भत्केको घरले पुरिएका मानिस निकाल्न पचासौं मानिस शिला खोजे जस्तै गरेर मलवा खन्दै थिए। म त्यहाँ जान चाहन्थें तर बीचमा मानिसको भीड भएकोले छिचोल्न नसकेर टाढैबाट फोटो खिचेर विष्णुमती किनार तर्फ लागें र भत्केका अरु घरहरुको पनि फोटो खिच्दै गएं। टेकु पुलको मुखमा रहेको पेट्रोल पम्प निर उभिएर १०-१२ मिनेट कुर्दा पनि घर नजिक पुग्ने सार्वजनिक यातायातको साधन नपाएकोले ट्याक्सी चढेर जान खोजें। ट्याक्सी पनि पाउन नसकेकोले जहाँ पाउँला त्यहीं चढुँला भनेर पैदलै अघि बढ्न थालें फ्याट्टफुट्ट फोटो पनि खिच्दै गएं। त्यसै बेला घरको ल्याण्डलाइन फोनबाट मेरी अर्धाङ्गिनीको कल आयो। म घरमा आउँदै गरेको र अहिले नेशनल ट्रेडिङ नजिक पुगेको बताएं। उताबाट त्यहाँ सबैलाई ठीक भएको, बाकी कुरा म घर आइपुगे पछि गर्ने खबर पाएं। ल्याण्डलाइनबाटै फोन आएकोले घर र परिवार दुबै सकुशल रहेकोमा म ढुक्क भएं तर बाकी कुरा पछि गर्ने भन्ने शव्दहरुले केही झस्काउन भने छोडेन।
त्रिपुरेश्वर चोक नजिक आइपुग्दा त्यहाँ मानिस र गाडीको बाक्लै भीड लागेको थियो। त्यहाँ भएको राजा त्रिभुवनको सालिक पनि किन हो नौलो नौलो लागिरहेको थियो। भीडलाई छिचोलेर सालिकको नजिक पुग्दा पो थाहा भयो सालिक माथिको छतको सिंगै संरचना उत्तर तर्फ उच्छिट्टिएर डल्लै खसेको रहेछ। तर सालिक भने सहिसलामत थियो। केही फोटो खिचिसके पछि रंगशालाको अग्लो पश्चिमी प्यारापिटलाई केही असर पुगेको छ कि भनेर नियाल्दै थिएं, जमिन फेरि बेस्सरी हल्लिन लाग्यो। सडक भरीका मानिसहरु घोप्टो परेर जोडजोडले देवीदेवताको नाम जप्न थाले। म पनि घोप्टो पर्न खोजें तर मलाई पछाडीबाट कसैले सुइरोले घोचेको जस्तो लागेर जुरुक्क उठेर फर्केर हेरेको, कुनै रेष्टुराँका सेतो एप्रोन लागाएका एकजना शेफ भाई हातमा काँटा लिएर घोप्टो परेर "रामराम, रामराम" भन्दै गरेको पाएं। त्यही काँटाले मेरो नितम्बमा घोचेको रहेछ। करिब २०-२५ सेकेन्ड पछि भूकम्पको त्यो दोस्रो झट्का थामेको जस्तो लागेर अब म त्यहाँ फोटोग्राफर बनेर रल्लिंदै घरका मानिसलाई चिन्तामा पार्नु हुन्न भन्ने सोचेर घर तिरै खुट्टा बढाएं। त्रिपुरेश्वर टुकुचापुल नजिक सजनगोठ नामको बंगाली मिठाई पसल अगाडी आइपुग्दा मेरो पछि पछि आइरहेकी करिब १६-१७ वर्षकी एक किशोरीले "अंकल, यहाँबाट पुतलीसडक पुग्न सकिन्छ ?" भनेर सोधिन्। उनी हालसालै उपत्यका छिरेकी रहिछिन् जसलाई थापाथलीबाट पुतलीसडक पुग्न सकिन्छ भन्ने सम्म थाहा थिएन। थापाथाली ट्राफिक चोक पुगे पछि मैले उनलाई पुतलीसडक पुग्ने दिशानिर्देश गरेर पठाइदिएं र आफू बागमती पुल तरेर ललितपुर तर्फ लागें।
ललितपुर तर्फको पुलको मुखमा मानिसहरुको भीडमा १२-१४ जना रैथाने साथीहरु एकले अर्कोलाई आआफ्नो कुरा सुनाउँदै थिए। म उनीहरु नजिक पुगे पछि आफ्नो टोलमा त्यस बेलासम्म कोही हताहत भएको, कुनै घर भत्केको नसुनेको बताएर मैले देखेको कुरा भन्न मलाई पनि भनियो। मैले आफ्नो वृतान्त अत्यन्त संक्षिप्तमा बताउँदै काठमाडौं तिर हेरेको, त्यहाँबाट प्रष्ट देखिने धरहरालाई नदेखेर "होइन, धरहरालाई के भो हँ ?" भनेर सोध्दा "धरहरा त भुकम्पको पहिलो धक्कामै ढलिसक्यो नि, थाहा थिएन र ?" भनेर प्रतिप्रश्न गरे। म अवाक भएर पारी पट्टी नियाल्दै जाँदा मेरो मुखबाट अनायास "लौ, खोइ त त्रिपुरेश्वर महादेवको मन्दीर ? अनि खोइ त कालमोचन मन्दीर ?" भन्ने प्रश्नहरु निस्केको पत्तै भएन। तब पो अघि आएका भूकम्पका झट्काहरु निकै ठूला थिए भनेर बुझ्न थालें र अधीर भएर छिटो छिटो घर तर्फ लागें।
पुरानो घरमा पानीको रिजर्भ ट्याङ्की बनाउन एकजना निर्माण मजदुर माइला राई त्यही दिन खाल्टो खनी सिध्याउने योजनामा थिए। त्यहाँ पुग्दा उनी मलाई नै पर्खिरहेका रहेछन् र भने "कस्सो आफै खाल्टोमा पुरिएर मरिन"। मैले उनलाई स्थिति सामान्य नभएसम्मका लागि काम रोक्न भन्दै छाक टार्नका लागि भनेर केही रकम अग्रीम भुक्तानी दिएर विदा गरी पठाएं। त्यहाँबाट दायाँ बायाँ भत्केका कम्पाउण्ड वाल हेर्दै आफू बस्ने गरेको नयाँ घर नजिक पुग्दा मेरी श्रीमती र छोरी छिमेकीहरुसंग सडकमा बसिरहेका थिए। मलाई देख्ना साथ छोरी दौडेर आई गम्रङ्ग आंगालो मारेर सुक्सुकाउँदै रुन थाली। मैले "म आइपुगी हालें, अब रुनु पर्दैन। हेर त मलाई केहि भएको पनि छैन" भनेर सम्झाउँदै छिमेकीहरु जम्मा भएको ठाउँमा पुगे पछि पो छोरी रुनुको मुल कारण बुझें। भुकम्पको पहिलो झट्का आउँदा घरमा उनी एकलै तेस्रो तलामा रहिछिन्। कम्पको अवधि भरी कोठाको चौकोस समातेर झुल्दै सुरक्षित रहने प्रयास गरिछिन्। सकी नसकी भारीभरकम पुरानो खालको टिभी, माइक्रोवेभ ओभन र भित्तामा झुण्ड्याइएको ऐनालाई भुईंमा राखिछिन्। सँधै 'अन' रहने इन्भर्टर र फ्रीजलाई 'अफ' गरेर रुँदै तल सडकमा जम्मा भएका छिमेकीहरुसंग मिसिन पुगेकी रहिछिन्। डरले कालोनीलो भए पनि नआत्तिकन पछि आउन सक्ने भूकम्पीय झट्काबाट सरसामान जोगाउने व्यवस्था गर्न सक्ने छोरीको बुद्धिमता र साहसलाई मैले सलाम नगरी रहन सकिन।
भूकम्पको पहिलो झट्का आएको बेला मेरी श्रीमती माथि उल्लेखित पुरानो घरमा पानी ट्याङ्की बनाउने खाल्टो खनेको हेर्न गएकी रहिछिन्। घरको पछाडी बाहिर बनाइएको सौचालयमा सौच गरेर निस्कँदै गर्दा अकस्मात रिङ्गटा लागेको जस्तो लागेर घरको भित्ता समात्न पुगेकी मात्र थिइन, जस्ताको छाना मुनि खुकुलो परेको ईंटाको टुक्रा झरेर टाउकोको दायाँ छेउमा लागे पछि र मानिसहरुले सडकमा कोलाहल गर्न थालेको सुने पछि पो भुईंचालो गएको भनेर थाहा पाइछिन्। घर भित्र छिर्ने कुरै थिएन, त्यसैले भूकम्प नथामेसम्म घरको भित्ता समातेर उनले जाने सुनेका सबै देवदेवीको नाम जपेर बसेकी रहिछिन्। भूकम्प थामे पछि हामी बस्ने गरेको नयाँ घर तर्फ कुददै पुगेकी रहिछिन्।
आआफ्नो अनुभवहरु सुनाउँदा सुनाउँदै पनि भूकम्पका साना साना झट्काहरु कैयों पटक गए। झुलामा झुलेको जस्तो गरेर बस्नु बाहेक अर्को उपाय पनि थिएन। केही छिन पछि झुण्ड झुण्ड गरी बसेका अन्य छरछिमेकलाई भेटेर फर्कँदा श्रीमतीले मेरो भागको खाना ल्याएर कुरेर बसेकी रहिछिन्। बिहानदेखि १ कप कफि बाहेक केहि खाएको थिइन। बिलखबन्दी र तनावले गर्दा भोक लागेको पनि थिएन। सबैको करले गर्दा दिउँसो १४३० बजे फ्रीजमा राखेको जस्तो चीसो भात खाएर त्यस दिनको अपरान्हसम्मको समय गुजारें।

SHARE THIS

Author:

Facebook Comment