– मदन लम्साल
अहिले हामी नेपाली भूकम्पको चपेटामा छौं । यसले निम्त्याएको अकल्पनीय विपत र क्षतिले सबैलाई भावविह्वल बनाएको छ । यसले हाम्रो जीवनमा असह्य पीडा थपिदिएको छ । हजारौंले आफन्त गुमाएका छन् अनि लाखौं करोडपतिबाट रोडपति बनेका छन् । अहिले नरोएको मन र नभत्केको वा नचर्केको घर पाउन दुर्लभ छ ।
मुख्तियार भीमसेन थापाले २ सय वर्षअघि बनाएको धरहरालगायत राणा र शाहकालका शासकहरुको कृत्य र कुकृत्य सबै कुराका साक्षी थुप्रै ऐतिहासिक मठ मन्दिर र संरचना यो भूकम्प २०७२ सँगै सदाका लागि ढलेका छन् । यस्तो अवस्थामा मिठो लेख्ने कुरा केही छैन, सबै केवल तितो–तितोमात्र छ ।
देशमा पानी र बिजुली आपूर्ति यसै दुर्लभ थिए । अहिले झन् अभाव चर्केको छ । टेलिफोन र यातायात सेवा पनि त्यस्तै उस्तै रहे । खाद्यान्न छैन, औषधि छैन, पाल छैन । समग्रमा सरकारको गति अर्थात् चाल छैन । भलै सरकारका मन्त्रीहरु कुदिरहेको अभिनयजस्तो गरिरहेका छन् । यसले पीडा झन् बढाएको छ । तर, यस्तो बेलामा फाइदा खोज्नेहरु पनि देखिए । बस व्यवसायीहरु र अरु कालाबजारीहरुले यही हो मौका भन्दै अति चर्काे मूल्य लिएर चौका हान्ने काम गरेका छन् । ऐतिहासिक पुराना भवनको भग्नावशेषमा पैसा खोज्न जाने पनि भेटिए । अझ सरकारका एक सहसचिवकै निर्देशनमा पुराना इँटा चोरेर लानेहरु पनि देखिए । सरकार स्वयम् भने काठमाडौं बसेकाहरुलाई बाहिर भगाउने काममा सक्रिय देखियो । शायद त्यसपछि यहाँ आरामले सुत्न पाइन्छ भनेर होला । राज्यको व्यवस्थापकीय क्षमता पहिलेदेखि नै देखिएकै हो । जाजरकोटको पछिल्लो महामारी र स्वाइन फ्लुको प्रकोपभन्दा धेरै अघिदेखि नै ।
नेपालको निजीक्षेत्रको व्यवस्थापकीय क्षमता र ‘आन्त्रप्रेनरशिप कल्चर’ पनि निकै कमजोर देखियो । दुई/चार सय कार्टुन चाउचाउ र बिस्कुट बाँडेर प्रचार गरेर आफ्नो दायित्व पूरा गरेका ठूला भनिने व्यावसायिक घरानाहरुको चाला पनि देखियो । सभासद् हुन करोडौं पनि खर्चन तयार प्रायः उनीहरु यस विपद्मा झारा टार्ने काम गरेर पन्छिएको देखियो । हो, स्वास्थ्यकर्मीहरुको अनवरत सहयोग, नेपाल प्रहरी, सेना, नेउवासंघ, चेम्बर, खेतान समूहलगायत धेरै बैङ्कहरुको आर्थिक–भौतिक सहयोग, नेपाली औषधि उद्योगहरुको निःशुल्क औषधि वितरण भने सराहनीय रह्यो । यसरी स्वदेशी र विदेशी थुप्रै सहयोगी हातहरु उद्धारमा जुटेका छन् ।
यस्तो महाविपतमा पनि तथाकथित राजनीतिक दलका नेता, कार्यकर्ता, वाईसीएल, युथफोर्स र तरुणदलका हर्ताकर्ताहरु दुलोभित्र लुकेर बसेका छन् । अझ पूर्वमन्त्री, प्रधानमन्त्री भइसकेकाहरु देशको विपतमा सहयोग जुटाउन हिँड्नुको सट्टा आफ्नो कुन चाहिँ ससुरालीको घर चर्किएको चिन्ता दुनियाँलाई देखाउन सामाजिक सञ्जालमा फोटो ट्विट गरेर बसेका छन् ।
हुँदाहुँदा एक हुल बुद्धिजीवी भनिने जीवहरु पीडितहरुको उद्धारमा हिँड्नुको सट्टा प्रम निवास पो धर्ना दिन पुगेछन् । पहिलेदेखि लागेको बानी के छुट्थ्यो । हुन त जीवनमा जे जानेको छ, त्यै गर्ने हो । बेमौसमको बाजा बजाएको भनेर बबुराहरुलाई प्रमको पुलिसले कठालो समातेर लाठो लाएर खेदेछन् र सरकार छ है भन्ने अनुभूति दिलाएछन् ।
आफू बसेको घर सुरक्षित हुँदाहुँदै पनि बाहिर पालमै बसिरहने काठमाडौंका धनीमानी जो अरुलाई सहयोग गर्ने प्रशस्त क्षमता राख्छन्, तिनीहरुसमेत पीडितका लागि बाँडेको राहत र खानापिना पाउन आफ्ना गाडी, मोटरसाइकल पार्किङमा राखेर शिविरको लाइनमा लागेको देखियो । फ्रीमा पाए भने नेपालीले अलकत्रासमेत खान्छन् भन्ने उखानलाई यिनले चरितार्थ पारेका छन् ।
आफू बसेको घर सुरक्षित हुँदाहुँदै पनि बाहिर पालमै बसिरहने काठमाडौंका धनीमानी जो अरुलाई सहयोग गर्ने प्रशस्त क्षमता राख्छन्, तिनीहरुसमेत पीडितका लागि बाँडेको राहत र खानापिना पाउन आफ्ना गाडी, मोटरसाइकल पार्किङमा राखेर शिविरको लाइनमा लागेको देखियो । फ्रीमा पाए भने नेपालीले अलकत्रासमेत खान्छन् भन्ने उखानलाई यिनले चरितार्थ पारेका छन् ।
त्यस्तै यस विपत्तिलाई धर्म प्रचार गर्ने राम्रो मौका बनाएका छन् केहि फिरङ्गीहरुले । भूइँफुट्टा ज्योतिष र मानसिक सन्तुलन गुमाएका एक÷दुई मनुवाहरुले भनेको सुनेकै भरमा शनिवारपछि पनि हरेक घण्टा पुनः यति र उति रेक्टरको महाभूकम्प आउँछ भनेर पढेलेखेका भनाउँदाहरुबाटै भ्रम छर्दै हिँडेको पनि देखियो ।
उद्धार कार्यमा खटिनु त कता हो कता, कोही भने सामाजिक सञ्जालमा सरकारलाई एकोहोरो गाली गरेर आफ्नो दायित्व पूरा भएको ठानेर हिजोसम्म पनि आफ्नो कार्यालयसमेत नगई बस्ने कुम्भकर्णका सन्तानहरु पनि देखिए ।
हिजो मापदण्ड पूरा गरेर घर बनाउने सल्लाह बेवास्ता गर्दा पछुताउँदै रुँदै हिँडेका पनि थुप्रै भेटिए । सुन्न त ९० सालको भूकम्पको विनाशको कुरा नसुनेको वा ठूलो भूकम्प आउनसक्छ भन्ने थाहा नपाएको होइन । तर, भूकम्पको पूर्वतयारी गर्न भन्दा आफैले नभोगी किन त्यसो गर्नु भन्नेहरुको अहिले शुद्धि फिरेको पनि देखियो ।
यो विपत्तिले धेरैलाई धेरै दुःख दिनुका साथै धेरै पाठ सिकाएको पनि छ । जस्तोसुकै सङ्कट आए पनि धैर्यपूर्वक जीवन अगाडि बढाउनुको विकल्प हुँदैन । सकारात्मक, सहकार्य, सहयोगतिर बढ्नु आजको आवश्यकता हो । प्रकृतिकै नियमानुसार पनि जीवन अगाडि बढाउन, आगामी पुस्ताका लागि, आफू र अरु बाँच्न चाहनेहरुका लागि समेत सक्रिय रहनुको विकल्प छैन । त्यसैले आउनुहोस्, सबै मिलेर यो सङ्कटलाई शक्तिमा परिणत गर्ने प्रण गरौं ।
(लम्सालको फेसबुकबाट साभार)