राजनैतिक दल : आस्था र सिद्धान्त कि व्यक्ति पुजा ?

– स्वयम्भुनाथ कार्की

सामान्यतया राजनैतिक दलहरुलाई जनताले आफ्नो अधिकार उपभोग तथा कर्तव्य निर्वाहनको औजार भनेर मान्ने गरिन्छ । अझ बहुदलिय व्यवस्थामा त जनताको यो काम राम्रोसंग गर्ने अनि जनता प्रति उत्तरदायित्व निर्वाहनको प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राखिन्छ । तर यो मान्यता केवल विभिन्न विचारधारा स्विकार गर्ने पद्धतिको निमित्त मात्र हो । केहि समयदेखि छलफलमा आउने गरेको बहुलवाद र बहुदलको आरभुत भिन्नता पनि यसैमा रहेको छ । जव आस्था वा सिद्धान्त भन्दा दलहरुमा सर्वमान्य नेता, शीर्ष नेता आदि नामले व्यक्तिपुजा शुरु हुन थाल्छ तव बहुलवादको अन्त्य र केवल बहुदलको मात्र वर्चश्व हुन थाल्छ । दलको आधारभूत सिद्धान्त गौण हुन थाल्छ । समयको माँगको बहानामा दलहरु जोडिन वा तोडिन लाग्दछन् । अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको विजारोपण हुन्छ । उदाहरणको निमित्त नाजीको सर्वमान्य नेता हिटलर, फासिष्टको पूज्य नेता मुसोलिनी कै नाम पर्याप्त हुन्छ ।

“क्याडरवेस” दल एक पटक सदस्थता लिए पछि सजिलै छोड्न नमिल्ने किसिमको दल हो । “नोट अफ डिसेन्ट” भनिने गरेको राय बझाउने पद्धति यस्तै दलहरुको हो जहाँ कुनै निर्णय सर्वसम्मत मात्र हुन्छ, चित्त नबुझे राय बझाउने सुविधा दिईएको हुन्छ । जो कि विद्रोह जन्माएर दल विभाजनमा कि आत्मसमर्पणमा समाप्त हुने गर्दछ । कुनै पनि हालतमा दल भित्र वैचारिक विविधता कायम रहन सक्दैन । जति वेलासम्म रहन्छ गुटवन्दी रहने गर्दछ । यस्ता गुटहरुको संघर्ष “प्रेम र युद्धमा सबै उचित छ” शैलीको हुने गर्दछ । विना मनभेदको मतभेद यहाँ संभव नै हुन सक्दैन । यस्ता मनभेदको उपचार रक्तरंजित भएका उदाहरण पनि इतिहासमा छरपष्ट छन । “मासवेस” भनेर कुनै वर्ग समुहको प्रतिनिधित्व गर्ने दलमा यस्तो सर्वसम्मत सम्भव छैन, न कुनै नेताको व्यक्तिपुजा सम्भव छ । त्यसैले “मासवेस” दलहरुको नेतृत्व यस्तै “क्याडरवेस”को आकर्षणमा जाँदैछ । त्यसैले धेरै दलहरुमा बैठक कुनै पर्व जस्तै हुन थालेको छ, त्यो पनि “जुठो”, “सुतक” आदिले थुनिने किसिमको पर्व ।

जव सम्पुर्ण जनतलाई कुनै न कुनै दलमा आवद्ध हुनै पर्ने वातावरण पैदा हुन्छ त्यसवेला जति नै ठूलो स्वरले फलाके पनि जनताको अधिकार कुन्ठित नै रहन्छ । दलहरु जनताको अधिकार उपयोग गर्ने हतियार नरहेर जनताको अधिकारको ठेकादार बन्न पुग्छन् । आफ्नो सर्वोच्चता र सार्वभौम अधिकार दलहरुले प्रयोग गरेको टुलुटुलु हेर्न बाहेक अर्को विकल्प रहदैन । केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने व्याख्या हुन थाल्छ । अनि विस्तारै पोलपोट, ईदिअमिन, चाउचेस्कु अवतरित हुन थाल्दछन । वर्तमानमा नेपाल यहि अवस्था भोग्दैछ । खाका स्पष्ट छैन, रुप पनि स्पष्ट छैन तर पोलपोट, ईदिअमिन हुनसक्ने कच्चा पदार्थहरु प्रचुर मात्रामा देखिदैछन । जनताको कोखबाट जन्मेका यस्ता तानाशाहको मलजलको निमित्त हमेशा इतिहासलाई गालि गर्नु र त्यसलाई नकार्नु हुन्छ ।

नेपाली मनले न कुनै “क्याडरवेस” दल खोजेको छ , न “मासवेस” नै । यस्ता दलहरुको कमीकमजोरी औल्याउने वित्तिकै आफुलाई गद्दार भनिने छ भन्ने थाहा छ । “ तँ फलानो समुदायको भएर फलानोको विरोध गर्ने , तँ गद्दार होस” भन्ने कुरा नेपाली समाजमा देखिन थालेका छन् । यो कुरा कुनै वर्ग विषेशमा, कुनै समुदाय विषेशमा वा कुनै जाति विषेशमा मात्र सिमित छैन । सबैमा कुनै न कुनै यस्ता स्वघोषित मालिक पैदा भएका छन् जो आफ्नो कुरा नमान्नेलाई मध्ययूगिन बर्बर प्रथाले जस्तै जातीच्यूत, वर्गच्यूत गर्न पछि पर्दैनन । हुक्कापानी बन्द गर्ने यस्तो प्रचलनलाई विश्वले कुप्रथा मानिसकेको अवस्थामा पनि यसैको डर देखाएर आफ्नो वर्चश्व सावित गर्ने यस्ता “क्याडरवेस”, “मासवेस” समुहहरु अव नेपालीका हुन सक्दैनन् । नेपालीलाई चाहिएको छ आस्था आधारित, सिद्धान्त आधारित राजनैतिक समुह । समुहले आफ्नो आस्था सिद्धान्त कतिमात्रामा बोकेको छ त्यो निर्णय त्यो दलले हैन कि जनताले गरेर छान्ने हो ।

नेपालीको दुर्भाग्य कि अहिलेसम्म यस्तो कुनै दल अस्तित्वमा आउन सकेको छैन । कुनैले कसैले आफु यस्तो हुँ भन्ने देखाउन खोजे पनि अलिकति मौका पाउने वित्तिकै उ पनि आफ्नो मतदाताहरु माथि, आफ्ना सदस्यहरु माथि स्वामित्व जनाउन नै खोज्दछ । यसरी बारम्बार विश्वास गुमाउन पुगेका दलहरुलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुर्‍याउन सक्ने आफ्नो व्यक्तिगत फाईदा हेरेर मत दिन वा समर्थन गर्न  वाध्य छन । घोर निराशामा अरु केहि नभए पनि अलिकति व्यक्तिगत लाभ नै भए पनि लिन जनता पछि पर्न चाहँदैन । जनता संघर्ष गर्न तैयार छ, तर त्यो संघर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन । नेपालका हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसक्यो , स्थायित्वले पैदा हुनसक्ने आफ्नो समृद्धि र सुखको बलिदान दिइसक्यो । विगतका आधा शताव्दि भरि अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन । के यस्तोमा जनताको अधिकारको उपभोक्ता हैन जनतालाई अधिकार उपभोग गराउन तैयार आस्था आधारित दलहरु निक्लेलान ? दल आस्था सिद्धान्तको निमित्त हो व्यक्तिपुजाको निमित्त हैन भन्ने कुरा कसैको मगजमा पस्ला ? प्रश्न अनुत्तरित छ ।

विराटनगर १


प्रकाशित मिति:२०७२ वैशाख ३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment