– स्वयम्भुनाथ कार्की
ठिक ८१ बर्ष ३ महिना १० दिन पछि नेपालले महाभुकम्प प्रकोप बेहोर्नु परेको छ । त्यसबेला आधा ढलेको धरहरा यस पटक फेदैमा ढलेको छ । यो दुर्खान्त विपत्तिको बेला हो, धैर्य, साहस, सुझबुझ तथा शौर्यको परख हुने बेला हो । एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने बेला हैन । भनिन्छ ‘कुकुरले खुट्टा टोक्यो भनेर कुकुरको खुट्टा टोक्नु हुँदैन ’ । विपत्तिको सामना गर्ने पहिलो लक्ष हुनु पर्छ र धेरै नेपालीले त्यहि गर्दैछन । कसैले दानवता देखायो भन्दैमा आफुले रिसको आवेगमा आएर त्यसको जवाफ दिन लाग्यो भने विपत्तिले जित्ने छ । तर यसको अर्थ ती मानवता छोडेर यो महाकष्ट माथि झन कष्ट थप्नेलाई उनिहरुको यो व्यवहार चटक्कै विर्सेर स्विकार गर्नु हैन । कसैले गरेको ‘पोलेको घाउमा नुनचुक छर्ने’ काम न भुल्न लायक कुरा हो न भुल्नु नै हुन्छ । तर पहिलो लडाई भने विपत्ति संग हो ।
९० सालको भुकम्पको वेलामा नेपालले एक्लै भनेजस्तो त्यसको सामना गर्यो । चार, पाँच बर्ष भित्रै घुँडा टेकेर उठ्यो पनि । तर, अहिले नेपालका प्रशस्त मित्रहरु छन । उनिहरु सहायता माग्न भन्दा पहिले नै सकेको मद्दत गर्न तम्तैयार भएर आएका पनि छन । तर यस्तोमा पनि समाजका कलंक साहुकारहरु नाफा कमाउने र आङ्खनो फाइदा कसरी पुग्छ भन्ने ध्याउन्न गर्नेहरु भेटिदैछन । यस्ताको कारणले गर्दा पिडितहरुको आलो घाउमा नुनचुक त छरिएकै छ मित्रहरुको आँखामा पनि नेपाल र नेपालीको यो दानवी स्वरुप झल्केको छ जो क्षमालायक अपराध हैन । परेको बेला थाहा हुने रहेछ भन्ने कुरा यसले सावित गरेको छ । हिजोका नायकहरु यो महाविपत्तिमा खलनायक सावित भएका छन भने हिजो खलनायक भनिएकाहरु नायक सावित हुदैछन ।
समय र विपत्तिले लिएको परिक्षाको यो परिणाम भुल्न हुँदैन, त्यो नै यस्ताहरुलाई ठूलो सजाय हो । अहिले संकटको सामनामा आङ्खनो सम्पूर्ण ध्यान लगाउनु नै समयको माग हो । ठूलो काम गर्न नसकेमा पनि पीडादायी हल्ला रोक्ने, आपसी सद्भाव र बन्धुत्व कायम राख्ने काम पनि महत्वपूर्ण हुन सक्छ । कतिपय कारणले सबैले चाहेर पनि प्रत्यक्ष उद्धारमा सहयोग गर्न नसक्ने अवस्था हुन्छ । यस्तो वेलामा अहोरात्र खटेर उद्धार गरिरहेकाहरुको मनोवल वढाउने काम हुनु पर्ने हो । कोहि आङ्खनो वानीले लाचार छ, कसैको मनोवल बढाउने उसको स्वभाव नै छैन भने कम से कम काम गरिरहेकाहरुको मनोवल तोड्ने काम मात्र नगरे पनि राम्रो काम गरेकै ठहरिन्छ ।
दानवी प्रवृति देखाएर अहोरात्र खट्नेको आलोचना गर्ने काम, मौकाको फाइदा उठाएर रातारात धनी हुने काम गर्नेहरुले कमसे कम आज यो विपत्ति अरुलाई आएको छ भने कुनै समयमा आफुलाई पनि आउन सक्छ भन्ने सोच राख्नु जरुरी छ । काममा खट्नेहरु पनि मान्छे नै हुन तिनीहरुमा पनि मानविय कमजोरी हुनसक्छ । यस्तो देखिएमा उनिहरुको कमजोरी सुधार गर्ने प्रयत्नमा के गर्न सकिन्छ त्यो गर्न छोडेर अपराधीको रुपमा प्रस्तुत गर्ने काम गर्नेहरुलाई कसरी मानव भन्ने ? राजधानीमा उच्च जीवनशैली भएका कयौ यो विपत्तिमा लाइन लागेर एकमुठी खाना र एक घुँड्को पानीको प्रतिक्षामा छन । भोली आजको यो विपत्तिको फाइदा उठाउनेहरुलाई त्यस्तै दिन नआउला भन्न सकिन्न । सधै धनले काम गर्दैन भन्ने कुराको यो भन्दा वलियो प्रमाण के होला र ? यस्तो अवस्थामा ‘खुच्चिङ्ग’ शैलीमा यो यो मुख्र्याइ गरेको थिइस र तेरो घर लड्यो भनेर भन्ने कथित विषेशज्ञ र त्यस्ता कुरा प्रशारित गर्ने संचार माध्यम निश्चय नै मानविय संवेदना विहिन हुन ।
यो विपत्तिको वेलामा ककसले के के गरे ? कसले सहायता गरे ? ककसले आङ्खनो पिडामा नुनचुक छरे ? त्यो महसुस गर्नेले गरेकै हुन्छ । विपत्तिले लिएको यो परिक्षामा आफुले पाएको मूल्यांकन अन्य वेलामा जस्तो पद, समर्थक, धनले उल्टाउन सकिने छैन । त्यसैले अहिलेको आवश्यकता भनेको ‘कुकुरले खुट्टा टोक्यो भनेर कुकुरको खुट्टा टोक्ने’ हैन बरु त्यो कुकुर चिनेर राख्ने हो । समय बलवान छ, दानवी तरिका प्रयोग नै नगरी त्यस्तालाई सजाय गर्नसक्ने परिस्थिति पक्कै आउनेछ । यसका निमित्त सुदुर भविष्यमा कुर्नु पर्ने नै छैन, यो विपत्तिबाट पार पाउने वित्तिकै आउने छ । त्यसवेला मानवताका नामका यस्ता कलंक, संसारमा नेपालको नाम बद्नाम गर्ने यस्ता तत्व, अहिलेको हृदयहिन व्यवहार सबैको जवाफ छिटै दिन पाईने छ । त्यसैले अहिले यो विपत्तिसंग लड्ने र त्यसपछि यस्ता असामाजिक तत्वलाई दण्डित गर्ने हो । अहिलेलाई यो महाविपत्तिमा धैर्यता र मानवताको साथ नछोडी पहिले साहास, सुझबुझ, शौर्यताको साथ काम गर्न आवश्यक छ । आफुलाई परेको वेला आफु प्रति गरेको कसैको पनि व्यवहार भुलिनु हुँदैन । धर्य कायम रहोस, विपत्तिबाट सकिएको राम्रो तरिकाले छुटकारा पाउन सकियोस यहि कामना ।
विराटनगर १
प्रकाशित मिती २०७२।१।१७