महाप्रलय अनुभूति:
पाँच घण्टापछि फर्किएको उज्यालो संसार
– ईश्वोरा भट्टराई२०७२ वैशाख ११ गते शुक्रवार परेको लोकतन्त्र दिवस र त्यसको भोलिपल्ट शनिवार समेत गरी दुई दिने सार्वजनिक विदा परेकोले मन मस्तिष्क र शरीरले आराम पाएको अनुभूति बिहीवारसाँझदेखि नै भईरहेको थियो । शुक्रवार र शनिवार परेको दुईदिने विदामा लामो समयदेखि थांति रहेका घरका कामहरू सरसफाईकासथै केही किनमेल गर्न बजारतिर जाऔंला भन्ने मनमनै आन्तरिक योजना
बनाएको थिएँ । शुक्रवारको दिन त्यसै बितिसकेको थियो । त्यसको भोलिपल्ट अर्थात शनिवार अरुदिनभन्दा अलि अबेला उठेर घरको नियमित काम अर्थात खानपनि र भाँडाकुटी गर्दै ११:३० बजिसकेको थियो । एकछिन थकाई मारेर बजार जाऔंला भन्ने सोच्दै टिभी खोलेर हेर्न थाले ।
म टिभी हेर्दै थिएँ छोरी र घरमा काम गर्ने नानी खेल्दै थिईन् । लोडसेडिङको समय नभएपनि एक्कासी बत्ती गयो, बत्ती गए लगत्तै टिभी, पर्खाल लगायत जमीन हल्लिन थाल्यो । यो भुकम्प नै हो भन्ने मैले थाहा पाइसकेको थिएँ किनभने यस अगाडी पनि अर्थात चार वर्ष अगाडी असोज १ गते को भूइँचालोको अनुभव मैले बटुलिसेकेको छु । धर्ती हल्लिने बित्तिकै नानीहरूलाई लिएर बाहिर रोडतिर भाग्ने प्रयास गरें । बाहिर निस्किने बित्तिकै मान्छेहरू भागाभाग थियो भने घर अगाडीको बिजुलीको खम्बामा केवल अर्थात डिस टिभीको काम गरिरहेका मान्छे हत्पती पोलबाट हाम फाल्यो । यत्तिहुँदासम्म धर्ती जोरले हल्लि रहेको थियो, घरहरू हल्लिरहेका थिए । नानीहरू अत्तालिएर मलाई समाएर बसेका थिए । करिब तीन मिनेट जतिको ठूलो हलचल पश्चात धरतीले विश्राम लिईन् । विश्राम लिने बित्तिकै हामीकहाँ मात्र यस्तो आएको हो कि अन्त पनि आएको छ भनेर सोधी खोजी गर्न थालें । फोन कतै लागिरहेको थिएन । करिब आधा घण्टालगातारको प्रयासपछि सबभन्दा मिल्ने साथीकोमा फोन लाग्यो । ऊ पनि निक्कै आत्तिएको अवस्थामा थियो ऊ भएको ठाउँतिर पनि भु–कम्प गएको रहेछ । ऊ ठीक भएपनि उसको घर परिवार, र आमाकोमा फोन नलागेर ऊ अत्तालिएको थियो । उसको कुशलताको जानकारी पाएर उसलाई सबै ठिक होल भनि सम्झाई बुझाइगरेर फोन राखेंपछि अन्य ठाउँमा फोन गर्न थालें थुप्रै ठाउँमा फोन लाग्यो, थुप्रै फोन पनि आयो । त्यतिबेलासम्म काठमाण्डौका विभिन्न खबरहरू आउन थालिसकेको थियो ।
तीन मिनेटलामो हलचलले काठमाण्डौ लगायत देशका विभिन्न भागलाई कंक्रिटको थुप्रोमा परिणत गरिसकेको रहेछ । आमा बाबालाई फोन लगाएँ, फोन लागेन, मन निकै अत्तालियो । किनभने गाउँको आमा घर पनि अलि पुरानो नै भइसकेको थियो भने आमा एक्लै घरमा हुनुहुन्थ्यो । हाम्रो आमा प्रत्येक दिन विहान १० देखि ११ बजेसम्म खाना खाइसकेर सुत्ने गर्नु हुन्छ भन्ने कुरा मेरो दिमागमा खेल्न थाल्यो । हे भगवान मेरी आमालाई के भयो होला भन्ने पिरले दिमाग घुम्न थाल्यो । बाबाको नम्बरमा फेरी फोन लगाएँ, उहाँको नम्बरमा पनि फोन लागेन, दिदीको नम्बरमा पनि कुरा हुन सकेको थिएन त्यतिञ्जेलसम्म मन निकै छटपट्टिएको थियो ।
यता बारम्बार राजधानी काठमाण्डौमा घर ढलेर मान्छे पुरिएको ब्रेकिङ समाचारले मेरो मन मस्तिष्क नै हल्लाइरहेको थियो । के गरुँ के गरुँ भैराखेको थियो । मन विचलित भइरहँदा पनि लगातार आमा र बाबाको नम्बरमा फोन ट्राइ गरिरहेकै थिएँ । साथै आमाघरकै छिमेकी आन्टीको नम्बरमा पनि फोन ट्राइ गरिरहेको थिएँ । कतै फोन नलागेपछि निकै निरास भएँ ।
ठिक एक हप्ता अगाडी अर्थात ५ गते शनिवारका दिन माता तीर्थ औंशीको दिन मात्र आमालाई भेटेर आएको मैले अब त्यो नैं अन्तिम भेट भए जस्तो लाग्यो । तैपनि मनलाई शान्त पार्दै भगवानलाई गुहार्दैं थिएँ । मलाई बाबाको पिर त्यतिखेर लागेको थिएन । बाबा भरतपुरमा बनाउन लागेको घरतिर हुनुहुन्छ होला र उहाँ दिउँसो सुत्नु हुन्न त्यसैले उहाँलाई केही पनि भएको छैन भन्नेमा म ढुक्क थिएँ तर आमाको दिनहुँ दिउँसो सुत्ने बानीले हामीबाट खोसिनुभयो भन्ने लागेर रुनु न हाँस्नुको अवस्थामा पुगेको थिएँ । तरपनि लगातार फोन ट्राई गरिरहें, र कामना गरें कि यो समयमा कोही आएर तेरो बाबा आमालाई केही भएको छैन ठिक हुनुहुन्छ भन्ने खबर सुनाईदेओस् ।
मेरो संसार नै अँध्यारो भइसकेको थियो त्यतिबेला । के गरुँ कसो गरुँ एकातर्फ लगातार फेरी भुकम्प आउने सन्त्रासमा छोरीलाई छोडेर कसरी आमा भएको ठाउँमा जाउँ जस्तो भइरहेको थियो भने कतिबेला फोन लाग्ने हो भन्ने पीर लागिरहेको थियो ।
तर भगवानले चाहे भने जे पनि हुन्छ भनें झै भू–कम्प आएको करिब ६ घण्टापछि बल्ल आमा र बाबाको नम्बरमा फोन लाग्यो । आमाले आफू ठिकै छु र घरबाहिर सुरक्षित साथ बसिरहेको छु भन्दा मेरो आँखा चिसो भयो । र आमालाई केयर गर्न भनेर तुरुन्तै बाबालाई फोन गरें बाबा पनि ठीक हुनुहुँदो रहेछ भन्ने जानकारी पाएपछि धेरै हर्षित भएँ । बितेका ती पाँच घण्टाको अवधिमा बाबाआमाले पनि मेरो नम्बरमा सैयौं चोटी ट्राई गरेका रहेछन् तर टेलिकमकी नानीले “तपाईंले डायल गर्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन” भनेर आमालाई बारम्बार भन्दै गरेसी आमालाई साह्रै रिस उठेको थियो अरे ¤ तर जब हामी सम्पर्कमा आयौं आमाको रिस शान्त भयो र म लगायत सबैको बारेमा सोधी खोजी गर्दै आफ्नो ध्यान दिन भन्नुभयो । मलाई सामान्य सन्चो बिसन्चो हुँदा नि थाहा पाउने आमासँग त्यो पाँच घण्टासम्म कुरा गर्न नपाउँदा आफूले संसार नै गुमाएजस्तो लागेको थियो भने आमाको कुशलतापश्चात संसारै पाएजस्तो भयो । धन्य भगवान मेरो आमालाई जोगाइदिनुभएकोमा । तिमीलाई लाखौं लाख धन्यवाद ।
प्रतिकृयाकोलागि
ishworabhattarai@gmail.com
प्रकाशित मितिः२०७२ वैशाख १७ गते बिहीवार