दुई यथार्थताको दर्शन

– भरत दाहाल
पहिलो यथार्थ:
२०६८ साल चैत्रको मध्यराति राज्यको सेनालाई आफ्ना लडाकुहरुको शिविर कब्जा गर्न पठाएर सफलता प्राप्त गरेपछि एमाओवादी नेताहरुले गर्वकासाथ “शान्ति प्रकृया पूरा भएको” घोषणा गरेका थिए । त्यसको झण्डै ३ वर्षपछि उनीहरुले आफूलाई पाण्डवको सक्कलसँग मिलेको ठम्याउँदै “महाभारत युद्ध”को सपना बर्बराउँदैछन् ।
२०६९ साल चैत्रमा भएको आफ्नो हेटौंडा महाधिवेशमा उनीहरुले निर्णय गरेका थिए कि ०५२ साल फागुनदेखि हतियार उठाउनुको मूख्य उद्देश्यका रुपमा राखिएको नयाँ जनवादी क्रन्तिका “आधारभूत कामहरु सम्पन्न भएका छन् ।” त्यो घोषणाको झण्डै २ बर्षपछि उनीहरुले संविधानसभा प्रतिगामी भैसकेको अर्ति दिंदैछन् ।
उनीहरुका उपरोक्त पूर्व दावीहरुबाट निस्कने निष्कर्ष के हो भने शान्तिको प्रश्न उनीहरुको घाँटीमा गाँड बनेर झुण्डिएको लडाकु शक्तिलाई विसर्जन गरेर साम्राज्यवादीहरुका हातबाट बफादारिताको प्रमाणपत्र लिने कुरा थियो र “नयाँ जनवाद” भनेको उनीहरु प्रधानमन्त्रीको पदमा आसिन भएर जनताको करमा मोजमस्ति गर्ने कुरा थियो । आज लडाकु पनि छैनन् र सरकार पनि छैन । त्यसैले “महाभारत” को छनक पनि देखिंदैछ र संविधानसभा पनि पश्चगामी भएको छ ।
दोश्रो यथार्थ:
संविधानसभालाई जन्माउन १० बर्ष रगत बगाएको दावी गर्ने आमाले यसलाई वहिष्कार गरेको दृष्य देखिएको छ । आफ्नो शिशुलाई बहिष्कार गर्ने कुरा या त नक्कली आमाको हकमा कल्पना गर्न सकिन्छ या मष्तिष्क विकार भएकी आमाको हकमा । जुन कोणबाट हेरे पनि एमाओवादीले संविधानसभालाई संविधान बनाउन योग्य देख्दैन ।
अर्कोतिर संसदवादीहरुले कथित विवादमा रहेका मुद्दाहरु सुल्झाउन “विज्ञ”हरुतिर सार्ने कुरा उठाईसकेका छन, जो विल्कुलै अपेक्षित कुरा थियो । कथित रुपमा सार्वभौम दाबि गरिएको संविधानसभाले पूरो संविधान जारी गर्न नसक्नु भनेको यो त्यस कामका लागि अयोग्य हुनु हो । यसर्थ, संविधानसभा संसदवादीहरुका लागि पनि औषधि होइन ।
कसैको आफ्नो नभएपछि संविधानसभा कसको हो त ? यो “रहष्य” अब उजागर भएको छ । यो बनका गुफामा कोच्चिएका र शहरी चोकहरुमा बरालिएका रखैलहरुलाई नचाउनका लागि तिनीहरुका अजनबी नाठाहरुले बनाएको चौतारी हो । कुनै चौतारी एकछिनको तामझामका लागि प्रयोग हुन्छ, आश्रय दिने घरका रुपमा होइन । तामझाम सकिएपछि चौतारीहरु वेवारिसे हुन्छन् । रखैलहरुको नक्कली बच्चा अब वेवारिसे चौतारी सावित हुने समय आएको छ ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment