रमेश खरेलसँगको हाम्रो अपेक्षा

तीन वर्षअघि यही पुष महिनामा वीरगंजको आदर्शनगर रंगशालामा लागेको अन्तराष्ट्रिय महोत्सवमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको भाषण सुन्न हेर्न भन्दा त्योबेला पर्साको एसपीमा कार्यरत रमेश खरेललाई हेर्ने र सुन्नेको भीडको म पनि साक्षी हुँ । सबैभन्दा बढी ताली पनि खरेलकै लागि बजेको थियो त्यो मेलाको उदघाटन समारोहमा । अन्य दिन पनि मेलाको सुरक्षा व्यवस्था हेर्न त्यहाँ पुग्दा अग्ला खरेललाई घेरेर हेर्ने र उनको आटोग्राफ माग्नेको ताँती नै हुन्थ्यो ।
त्यो बेला एसपी खरेललाई देख्दा मलाई हिन्दी सिनेमाका महानायक अमिताभ बच्चनको याद आउँथ्यो । बच्चन पनि अग्ला र लोकप्रिय हाम्रा एसपी खरेलपनि त्यस्तै अग्ला र लोकप्रिय । म परबाट यो दृश्य हेरेर आश्चर्य मान्दै आनन्दित हुन्थे कि नेपालमा कोही प्रहरी अधिकृत आफ्नो इमानदारीले गर्दा यति लोकप्रिय हुनसक्छ । सबैको कुरा सुन्ने र सबैलाई बराबर मान्ने खरेलको खुबीको सबैले तारिफ गर्दथे ।
शायद नेपालमा आजसम्म कुनै प्रहरी अधिकृतको इमानदारी र साहसलाई कथा बनाएर चलचित्र नै बनाइएको छैन । तर रमेश खरेलको विषयलाई लिएर भोजपुरीमा “एसपी खरेल” नामक चलचित्र बनि सकेको छ । यो चलचित्रको दोस्रो भाग पनि अहिले बन्दैछ । आफ्नो इमान्दारीलाई लिएर चारैतिर प्रशँसित खरेलले गृहमन्त्री वामदेव गौतमसँग पनि टक्कर लिइसकेका छन् । खरेल एक योग्य र इमानदार प्रहरी अधिकृत हुन भन्नेमा कुनै शँका छैन ।
तर अहिले एसएसपी खरेल फेरि चर्चामा छन् तर अर्कै कारणले । वीरगंज भन्सारबाट जाँचपास नगरेर भित्रिएका सामानहरुको सुराकीमा खरेलकी श्रीमती अन्जु खरेलको नाम जोडिनुले । खरेलले श्रीमतीलाई सुराकी बनाएर भन्सार छलेर ल्याएको सामान वापतको कमिशन लिएको समाचारलाई सबैले जिब्रो काढेर अचम्म मान्दै कुरा गर्दैछन् । खरेललाई यो समाज र यहाँका जनताले गरेको देवत्वकरणले गर्दा उनीबाट भएको एउटा गल्तिपनि पच्न सकेको छैन कसैलाई पनि ।
खरेल प्रहरीको जागिरको सिलसिलामा जहाँ, जहाँ सरुवा भएर गए त्यहाँको अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका वहन गरे । अपराध अपराधीको दुश्मनको रुपमा खरेल चारैतिर प्रचारित र प्रशँसित भए । उनलाई हिन्दी चलचित्र सिंघमको नायकको रुपमा सबैले तुलना गरे । खरेल यथार्थ भन्दा काल्पनिक पात्र जस्ता देखिन थाले । खरेलको देवत्वकरण गर्नमा मीडियाको पनि ठूलो भूमिका रहयो । पर्सामा एसपी भएर रहुन्जेल खरेल हरेकदिन समाचारको विषय बने । उनलाई नचिनेका तर स्थानीय गुण्डाहरुबाट हायल कायल भएकाहरु पनि पनि खरेलको आड भरोसामा निर्धक्क भए ।
खरेलको सार्वजनिक छवी चलचित्रको हिरो झैं चमकदार र दमदार देखिन थाल्यो । समाज र जनताले यो बिर्सियो कि उनी पनि यहीँको हावापानीमा जन्मे, हुर्केका हुन, उनमा पनि केही कमी, कमजोरी हुनसक्छ । मान्छेलाई समानान्तर तटस्थ रुपमा हेर्नुपर्दछ । तर कुनैबेला राम मानेर पूजा गर्नेहरुमा सानो खोट देख्ने बित्तिकै रावणको पदमा विराजमान गर्दिने मान्छेको दोयम चरित्रले गर्दा पनि परिस्थिति असहज बन्दछ । आज एसएसपी खरेल प्रश्नहरुको घेराबन्दीमा परेकाछन् ।
खरेलले आफैं स्विकारी सकेका छन् कि उनकी श्रीमतीले नै सुराकीको काम गरेकी हुन् । खरेलको तर्क छ उनकी श्रीमती पनि यो देशको नागरिक भएकोले उनले सुराकी गर्नु अपराध हैन । उनकी श्रीमती वा अरु कसैले सुराकी गर्नु र त्यसवापतको कमिशन पाउनु गलत हैन । तर दु:खको कुरा उनी अरु नभएर एसएसपी रमेश खरेलकी श्रीमती हुन् । खरेलसँग यो देशका जनताको ठूलो अपेक्षा जोडिएको छ । अञ्जु खरेल अरु कसैकी श्रीमती भएकी भए चर्चामा आउँथिनन् होला । खरेलकी श्रीमतीले यस्तो सुराकीको काम गर्छिन् र उनका श्रीमानले कमिशन खान्छन् भन्ने वास्तविकता जनताले पचाउन सकिरहेका छैनन् । खरेलले पनि अरु कसैलाई सुराकी बनाउन सक्थे श्रीमतीलाई नै यो काममा किन खटाए ?
श्रीमान रमेश खरेल भन्दा फरक पेशा अँगालेकी उनकी श्रीमतीलाई वीरगंज भन्सारबाट जाँचपास नगरेरै भित्र्याइएका सामानहरुको बारेमा गोप्य जानकारी कसरी भयो ? हुनसक्छ खरेल स्वयमले अप्रत्यक्ष रुपमा श्रीमतीलाई अरु नै श्रोतबाट यो जानकारी दिन्छन् जसलाई उनकी श्रीमतीले सदुपयोग गर्दै प्रहरीमा सुराकीको रुपमा दिएकी होलिन् । खरेल जस्तो योग्य र बुद्धिमान व्यक्तिले यो हेक्का अवश्य पनि राखेकै होलान् कि उनलाई मनपराउने उनको कार्यशैलीको प्रशँसक जति यो देशमा छन् । त्यतिनै उनलाई मन नपराउने उनको सानो सानो कमजोरीलाई लिएर वार गर्नेहरु पनि प्रशस्तै हुन्छन् ।
खरेल स्वयमले पनि बुझ्नु पर्दछ कि आफ्नो कार्यशैलीले गर्दा जुन सार्वजनिक छवी बनेको छ त्यसमा न आँच आओस् भन्नेमा । उनले श्रीमतीले सुराकी गरे वापत कति रकम कमिशनको रुपमा पाए यथार्थ थाहा छैन । तर यसले उनको प्रतिष्ठामा धक्का लागेको छ । हाम्रो समाज र यहाँका मान्छे ९९ दिन सम्म गरेको राम्रो कामलाई सबै लत्याएर १ दिन गरेको नराम्रो कामलाई नै बढी ध्यान दिएर हेर्छ । राम्रो मान्छे अझै बढी इमानदार हुन्, आफु बेइमान भए पनि केही हुन्न भन्ने सामाजिक सोचाइले गर्दा पनि राम्रो मान्छेलाई बाँच्न गार्हो छ भने नराम्रो र बेइमान मान्छे दिनरात उन्नति गर्दै जान्छन् । राम्रो हुन्जेल महिमामण्डित गर्ने र आसनमा बसाउने यही समाजले एउटा सानो कमजोरी वा बेइमानी देख्ना साथ त्यही सिंहासनबाट लात हानेर खसाउँछ । समाजले रमेश खरेल जस्ता असल र लोकप्रिय प्रहरी अधिकृतबाट अलि बढी नै अपेक्षा गरेको हुन्छ र सो पूरा नहुंदा समाजको बिश्वास हल्लिनुका साथै खरेलको आफ्नै छवीमा पनि धक्का लाग्नु स्वाभाविक हो ।
– बिम्मी शर्मा

प्रकाशित मितिः२०७१ पुस २४ गते विहीवार

SHARE THIS

Author:

Facebook Comment