रगँ र जीवनःसन्दर्भ हरितालिका तीज

– बिम्मी शर्मा
  त्यो तीजको दिन थियो । जहाँ सबै महिलाले आफ्नो सौभाग्यको कामना गर्दै ब्रत बस्छन् त्योदिन मेरी आमाको सिउंदो उजाडिएको थियो । घरमा संवेदना ब्यक्त गर्न आउने मान्छेको
ओइरो लागेकोे थियो । घरमा सबैको अनुहार निन्याउरो भएपनि संवेदना ब्यक्त गर्न हाम्रो घरमा आएका महिलाहरुले भने रातो सारी, पोते र गहनाले झकिझकाउ थिए । कसैंको सिंउदो रित्तिदां कोहीले भने त्यस्तो दुखको घडीमा पनि आफ्नो संवेदनालाई जीवित राख्न सकेका थिएनन् । त्योदिन मलाई दैवले दिएको बिपत्ति र  आमाको दुखमाथि ती महिलाहरुले न जानेरै अट्टहास गर्या जस्तो अनुभव भयो ।
    दुई वर्षअघि फोक्सोको क्यान्सरले थलिएर मामा बित्नु भयो । मामा बित्दापनि मान्छेहरुको रुपरगँ त्यही नै थियो । उनीहरु किञ्चितपनि दुखी छैनन् भनेर उनीहरुले लगाएको लुगाको रगँले बताउंदै थियो । अस्पतालमा बिरामी भेट्न जांदा होस वा मान्छे मरेको घरमा संवेदना दिन गएकोबेला आफुले लगाएको लुगाको रगँ र गहनाप्रति मान्छे बढी नै लापरवाह हुन्छन् । पुरुषहरु प्राय रफटफ नै हुने भएकाले तीनको लुगापनि साधारण नै हुने गर्दछ । तर महिला अझ त्यसमापनि बिबाहित महिला जो प्राय रातो रगँको लुगा र सिन्दुर पोतेमा सजिएर नै जहाँपनि जाने गर्दछन् । तीनले यस्तो संवेदनशील समयमा अरुको भावनाको ख्याल राख्दा राम्रो हुन्थ्यो कि ?
  रगँ र मान्छेको जीवन एकआपसमा जोडिएको छ । रगँहीन जीवनको हामी कल्पनापनि गर्न सक्दैनौ । त्यसैले बिभिन्न रगँहरुले मान्छेको भावनालाई अभिब्यक्त गरिरहेको हुन्छ । केहीवर्ष अघिसम्म श्रीमान मरेपछि श्रीमतीले सुनसान र रगँहीन जीवन बिताउनु पर्ने पारम्परिक बाध्यताबाट हाम्रो समाजले धेरै हदसम्म मुक्ति पाईसकेको छ । यो समाज उदार बन्दै गएको संकेत भएपनि मान्छे संवेदनशील हुन चाँही बाँकी नै रहेको देखाउंदछ । के लगाउने भन्दापनि कँहा कुन अवसरमा कस्तो लुगा लगाउने भन्ने प्रश्न मुख्य हो । बिहा ब्रतबन्धमा सजिसजाउ भएर जांदा राम्रो मानिन्छ भने कोही आफन्त बिरामी  भएको हेर्न अस्पताल र मान्छे मरेको घरमा संवेदना ब्यक्त गर्न जाँदा सकेसम्म हल्का रगँको लुगा लगाउंदा कसैको आँखामा पनि त्यो बिझ्दैन होला ।
      भर्खरै नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । पशुपति आर्यघाटमा नायक श्रेष्ठलाई श्रद्धान्जली दिन गएकाहरुमा नायक राजेश हमाल छुट्टै देखिएका थिए । नायक हमालले सादा सेतो लुगा लगाउनुको साथै हातमा सेतो र पहेलों रगँको फूल शवमा चढाउनकालागि लगेको दृश्य बडो मार्मिक थियो । यहाँ तर्क दिनेपनि होलान् कि नायक हमाल समपन्न भएकोले अवसर अनुसारको पहिरन गर्न सक्दछन् । तर साधारण मान्छेलेपनि संवेदनशील समयमा होश पुर्याएर आफुसंग भएकै  मध्ये सादा लुगा लगाएर उपस्थिति जनाउन सक्दछन् । कहिलेकाँही हतारमा मान्छेलाई लुगा फेर्न फुर्सत नहुन सक्छ । तरपनि यस्तो नाजुक समयमा मृत्यु भएको व्यक्तिको परिवारलाई नबिझ्ने किसिमको लुगा लगाउनुका साथै सोही अनुरुपको ब्यवहार गर्दा राम्रो हुन्थ्यो होला ?
          मान्छेले लगाएको लुगाले कतिपय ठाउंमा उसको ब्यवहारलाई पनि प्रतिबिम्बित गरिरहेको हुन्छ । खुशीका क्षणमा लगाइएको रातो, पँहेलो पहिरनले त्यो बेलाको भावनालाई ब्यक्त गर्दछ भने दुख का क्षणहरुमा लगाइएका सेतो वा हल्का रगँका पहिरनले शान्ति र संवेदनाको सन्देश बोकेको हुन्छ । जीवनमा रगँ र भावनाको राम्रो संयोजन गर्न सके मान्छे सबैतिर सम्मानको हकदार हुन्छ होला । देशमा गणतन्त्र आईसकेको र उदार अर्थब्यवस्थातिर लम्कि रहेको हाम्रो जस्तो विकासोन्मुख देशमा कसैलाईपनि आफ्नो रुची अनुसारको पहिरन लगाउने छुट हुनुपर्दछ । कसैको व्यक्तिगत जीवनमा कसैले कुनै प्रकारको चियोचर्चो र हस्तक्षेप गर्न पाईन्न ।
      तर सार्वजनिक ठाउं त्योपनि मान्छे बिरामी पर्दा वा मर्दा त्यो ठाउंमा भावशून्य भएर जानु कति उपयुक्त छ होला ? मर्ने त मरेर गईहाल्छ उसले उठेर हेर्दैन को आयो र कसले कसरी संवेदना ब्यक्त गर्यो भनेर । मर्नेका बाँचेका आफन्तहरु जे त्यो असहज र संवेदनशील घडीमा आखाँको भाव र स्नेहिल स्पर्शलाई नै आधार मनेर बसेका हुन्छन् । तीनलाई त्यस्तो कठीन समयमा कसैलेपनि सादा लिवासमा उपस्थित भएर एक मुठ्ठी संवेदना दिनुजति महत्वपूर्ण अरु केही हुन सक्दैन ।


SHARE THIS

Author:

Facebook Comment