वीरगंज/
रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्िरज प्रालिले पर्सा र बाराका किसानलाई आफनो लागी रोप्न लगाएको उखु खेत मै कुहिने अवस्था आएको छ।
पानी पर्न थालेपछि बाटो थुनिएर उखु मिलसम्म पुर्याउन नसक्ने अवस्था आएको किसानको गुनासो छ ।
बारा बन्जरिया–४ का किसान परमेश्वर महतोले ऋण गरेर लगाएका
१० कट्ठाको उखुमध्ये आधा खेतमै सड्ने अवस्था आएको दुखेसो पोखे । उखु खेतमै सुकेर ढल्न थालेको र अहिले वर्षासँगै खेत रसारएर उखू कुहिने अवस्था आएको गुनासो गरे ।
गर्मीयाम सुरु भएसँगै प्रतिक्विन्टल उखुबाट सामान्य औसत नौ किलोग्रामको सट्टा सात किलोमात्र चिनी उत्पादन हुन थालेपछि मिलले घाटा हुने देखेर आफूहरुको उखु खेतमै रहेको किसानको गुनासो छ।
मिलले बारा र पर्साका किसानलाई उखु बाली लगाउने बेला पाँच करोड रुपैयाँ ऋण दिएको जनाएको छ ।
मिलसँग सम्झौता गरेर दुई जिल्लामा गरी १० हजारभन्दा बढी किसानले आठ हजार पाँच सय हेक्टरमा उखु रोपेका थिए ।
किसानले चलान पुर्जी नदिएको भन्दै यसअघि आन्दोलनसमेत गरेका थिए। मिलले चालु सिजनमा १८ लाख ८३ हजार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।
बाराका किसानले रोपेको लगभग दुई लाख क्विन्टल उखु अझै खेतमा रहेको मिलले जनाएको छ। हालको मूल्य अनुसार उक्त उखु बेच्दा किसानको हातमा साढे नौ करोड रुपैयाँ पर्छ।
मिल सञ्चालक समेत रहेका राप्रपा नेपालका सभासद राजकुमार अग्रवालले खेतमा बाँकी सबै उखु क्रसिङ गर्ने बताए। किसानले मिलगेटसम्म ल्याएको उखुमात्र किन्न सकिने पनि उनले प्रस्ट्याए ।