वीरगंज शहर “तराईकी रानी”

– चन्द्रकिशोर
त्यस्तो के कुरा छ, जो एउटा शहर र त्यसका बासिन्दालाई एउटा विशेष पहिचान प्रदान गर्छ ? के कुनै ठाउँको परिवेशले त्यहाँका बासिन्दालाई एउटा फरक विचार र व्यवहारशैली प्रदान गर्दछ ? के कुनै ठाउँको आफ्नो इतिहासको केही महत्त्व हुनसक्छ, यदि त्यहाँको बासिन्दाको आफ्नो कुनै इतिहास छैन भने ? के यो दुवै एउटै कुरा हो वा दुइटा ? केही खास शहरको आफ्नो
मौलिक पहिचान हुन्छ, जबकि केही खास शहरमा लामो समयसम्म बसोबासको निरन्तरता भएपश्चात् पनि त्यो केवल आवास स्थानको रूपमा मात्र रहन जान्छ । वीरगंजले नेपालमा किन प्रसिद्धि प्राप्त गरेको छ ? वीरगंज भन्ने बित्तिकै मानिसको मनमा कस्तो शहरको परिकल्पना आउँछ ? यी प्रश्नहरूका बारे एकछिन हामी घोत्लिऔं ।     वीरगंजको विकासक्रम सिमाना शहरको रूपमा भएको हो । सिमानामा पूर्वदेखि पश्चिमसम्म नेपालमा अनेकौं शहरहरू छन् तर इतिहासले वीरगंजलाई नै सबै शहरहरूलाई उछिन्ने अवसर दियो । यो शहरमा विराटनगरको जस्तो राजनीतिक योगदान पनि छ, भद्रपुर जस्तै पारम्परिक चामल उद्योगको इतिहास छ, भैरहवाको जस्तो सांस्कृतिक गतिशीलता छ, नेपालगंजको जस्तो यो शहरमा पनि सामाजिक विविधता छ भने धनगढीको जस्तो यो शहरलाई व्यवस्थित विकासको चेष्टा एउटा खास क्षेत्रको लागि गरियो, जसलाई आदर्शनगर भनिन्छ । वीरगंजको मौलिक विशेषता भनेको यो शहरभित्र नेपालका बाँकी सिमाना शहरहरूको झाँकी देख्न सकिन्छ । यसले पनि वीरगंजलाई अलि फरकपन दिएको छ । जनकपुरका केही गुणहरू वीरगंजमा छ, त्यहाँ जसरी पोखरीहरू छन्, यहाँ पनि छन्, त्यसैले वीरगंज शहरलाई “तराईकी रानी” भनिन्छ।  
   आर्थिक क्षेत्रमा लागेकाहरूले वीरगंजलाई राजधानी शहर भन्छन्, कोही मुख्य व्यापारी केन्द्र भन्छन् । इतिहासले नेपालको प्रवेशद्वार शहरको रूपमा यो शहरलाई चिनाउँछ । वर्तमानमा यो शहरले अरू शहरलाई कसरी उछिन्न सक्छ ? नगरवासीको मुख्य चिन्ता र चासो हुनुपर्छ । काठमाडौं जाने मुख्य मार्ग वीरगंजकै बाटो भएको हुनाले उन्नाइसौं शताब्दीको सुरुआतसँगै वीरगंज नेपाल जोड्ने केन्द्रको रूपमा विकसित हुनसक्यो । वीरगंजमा आर्थिक पदचापहरू सुनिन थाल्यो । राजनीतिक उद्घोषहरू गुञ्जिन थाल्यो । इतिहासले जे जुन हैसियत वीरगंजलाई दिएको छ, वर्तमानमा त्यसलाई सुरक्षित राख्ने हैसियतमा वीरगंज छ कि छैन ? वीरगंजको प्रतिस्पर्धा आफूसँगै छ । वीरगंजले आपैंmले आपैंmलाई जित्न सक्नुपर्छ ।
     यदि नेपाल गभर्मेन्ट रेलवे वीरगंजमा सञ्चालन नभएको भए ? यदि त्रिभुवन राजपथ नबनिदिएको भए ? यदि जुद्ध मैच फ्याक्ट्री यहाँ सञ्चालन नभएको भए ? यदि त्रिजुद्ध स्कूल र नेपाल राष्ट्रिय विद्यापीठको स्थापना नभएको भए ? यदि ठाकुर राम बहुमुखी क्याम्पस सञ्चालनमा नल्याएको भए ? यदि वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना यहाँ नखोलिएको भए ? यदि नारायणी सिंचाइ आयोजना वीरगंजमा नभएको भए ? यदि नारायणी र·शाला वीरगंजमा नबनेको भए ? यदि आदर्शनगर र बाइपास नबनाइएको भए ? वीरगंजको विकासक्रम कस्तो हुन्थ्यो ? कल्पना गर्न सकिन्छ ? कुनै शहर त्यो अवस्थित भएको भूगोलको कारणले पनि फलिफाप हुन्छ । कुनै स्थान विशेष त्यहाँका बासिन्दाहरूको फरक प्रस्तुतिले विशेष दखल प्राप्त गर्छ । वीरगंजको सवालमा के हो ? यो भूगोलको कारणले मात्र चम्किएको हो कि वा त्यहाँका बासिन्दाहरूको पनि विशेष योगदान छ । वीरगंजमा उन्नतिको रेलगाडी छुकछुक गुडाउनको लागि यी प्रश्नहरूको छातीबाट नगुज्रीकन स्वस्थ्य जवाफ पाइँदैन । आज वीरगंज इतिहासको त्यो मोडमा आएर अड्किएको छ, जहाँ उसले इतिहाससँग साक्षात्कार गर्नुछ ।  
   वीरगंजले क्रान्तिकिल्लाको रूपमा त्यसै प्रसिद्धि पाएको होइन, त्यो भूगोलको कारणले प्राप्त हुन आएको पगडी होइन । राजधानी शहर काठमाडौंसँगको नजिकको दूरी र तत्कालीन समयमा प्रशासनिक व्यवस्थापनले गर्दा पनि काठमाडौं छिर्न चाहने जो कोहीका लागि वीरगंज नै मूल ढोका बन्यो । झापाका होस् वा कञ्चनपुरका नेपाली, उनीहरूलाई काठमाडौं पुग्नु छ भने ‘भाया’ वीरगंज भएर नै जानुपथ्र्यो । तर २००७ सालमा नेपालमा मुक्त क्षेत्रको रूपमा जुन घोषणा भयो, त्यसका लागि वीरगंजले रगत बगाएको थियो । यस क्षेत्रका ग्रामीणहरूको पनि त्यो आन्दोलनमा साथ र सहयोग थियो । निश्चितरूपमा त्यो आन्दोलनका अगुवा थीरबम मल्ल, तेजबहादुर अमात्य जस्ता इतिहासपुरुषहरू थिए तर त्यो वीरगंजको समवेत उद्घोष थियो । अर्थात् यहाँका बासिन्दाहरूले पनि वीरगंजलाई “वीरगंज” हुने अवसर दिएको छ ।  
   आज यो शहरलाई कुन रूपमा विकसित गर्ने ? आर्थिक क्षेत्र भनेपछि आजको जमानामा केवल औद्योगिक गतिविधिमा मात्र सीमित रहेन, यसले व्यापक परिधि ग्रहण गरिसकेको छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरू ठूलो आर्थिक क्रियाशीलताको क्षेत्र भएको छ, तीसँग जोडिएका प्रतिष्ठानहरूको संरक्षण र सम्पोषणमा वीरगंजले के कति चाख दिएको छ ? वीरगंज शहर छिर्ने बित्तिकै कस्तो “लुक” हामी दिन्छौं । यहाँको स्वास्थ्य सेवा, शिक्षा सेवा तथा सेवामूलक अन्य प्रतिष्ठानहरूको स्तर कस्तो छ, त्यसको हामी न परीक्षण गर्छौं, न त त्यसमा मौलिक पहिचान नै खोजी गर्छौं । अबको वीरगंज केवल इतिहासको ब्याज खाएर अगाडि बढ्न सक्दैन । उसले आफ्नो सेवाको क्षेत्रमा विशेषता बोक्नै पर्छ ।     भन्सारको मुख्य नाका भएको हुनाले वीरगंजले राजस्व योगदानको बारेमा गर्व गर्ने गथ्र्यो । अब अरू नाकाहरू पनि खुल्नेक्रम बढ्दैछ । त्यसैगरी यहाँको स्वास्थ्य, शिक्षा वा उत्पादन क्षेत्रले विशेष पहिचान र आकर्षण बनाउन सकेन भने अरू ठाउँले उछिन्न सक्छ । राजनीतिक केन्द्रको रूपमा समेत वीरगंजको भविष्य चेपुवामा पर्ने छाँटकाँट देखिंदैछ । तसर्थ वीरगंजले आफू वीरगंज हुनुको अर्थप्रति आत्मावलोकन गर्न जरुरी छ । समाजका विभिन्न सरोकारवालाहरूका माझ आपसी विमर्श हुनु जरुरी छ । वीरगंज, यहाँ बस्ने सबैको हो, यो शहरको उन्नतिमा सबैको साझा भविष्य छ, त्यस कारण एउटा सुन्दर र समृद्ध शहरको सपनामा बाँच्नु यहाँका प्रत्येक बासिन्दाको साझा दायित्व हो । श्रोतःप्रतीक

SHARE THIS

Author:

Facebook Comment