म प्रधानमन्त्री हुन्थे भने...

प्रधानमन्त्री ओली ज्यु !
नमस्कार !
यदि म प्रधान मन्त्रीको पदमा नियुक्त हुन्थे भने आफ्नो कार्यकालमा यति हदसम्म गिरेर देश र जनतालाई नै आँच आउने गरी आफ्नो मर्यादा नै भुलेर यस्ता किसिमका प्रवृत्ति गर्ने चाहीं थिइन । जुन देश र जनताको लागि नै घातक बनोस्, जो तपाइहरुबाट बारम्बार भइरहेको देखिन्छ ।

तपाईंलाई त केवल प्रधानमन्त्रीको कुर्सीमात्र पो चाहिएको रहेछ । केही महिनै सहि राष्ट्र र जनताको गति जस्तो सुकै अबस्थामा पुगोस् केहि फरक पर्दैन रहेछ तपाईहरु जस्ता प्रधानमन्त्रीलाई मात्र आफ्नो दुनो बाचुन जेल सम्म त्यहाँबाट पाइने सुख, सुबिधा सोझ्याउन पाए र आफन्तलाई मौकामा दिने कुर्सीको अधिकार पो चाहिएको भान भै रहेछ हामीलाई प्रधानमन्त्री ज्यू ।

सायद यस्ता केही स्वार्थको संयोग हुूदैन थियो भने संविधान पनि बन्ने थिएन होला । नयाँ संविधानको घोषणा पश्चात ओली ज्यु तपाईंको नेतृत्वमा नयाँ सरकार स्थापनाको त्यो भद्र सहमतिलाई संविधान निर्माणमा बारम्बार प्रेरित गरिरहेको थियो एकातिर भने अर्कोतिर संविधानका कतिपय सुल्झाउन सकिने विवादलाई समेत थांति राखेर तत्काल संविधान जारी गर्नु पर्ने आवश्यकता पछाडी शायद प्रधानमन्त्री पदको आकर्षण मुख्य थियो तपाइका निम्ति । त्यसो त संविधान जारी गर्नुपूर्व देशका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालको भारत भ्रमणले समेत संविधान तत्कालै जारी गर्नका लागि थप दवाब सिर्जना भएको सत्यता अब सर्वत्र पोखिइ सकेकोले जनताको आखाँमा छर्लंग भइ सकेको छ ।

संविधानको प्रारूप माथिको छलफलमा देशव्यापी रूपमा हिन्दु राज्यका पक्षमा देखिएको जनमत अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत नेपाललाई हिन्दुराष्ट्र घोषित गर्नुपर्ने दवाबका माझ धर्म निरपेक्ष राष्ट्रको रूपमा नेपाललाई स्थापित गर्ने उनीहरू भित्र कुत्सित राजनीतिक चाहना परिपूर्तिका लागि सबै कुरा थांती राखेर संविधान जारी गर्ने हतारो उनीहरूमा पनि जागेकै हो । नेपालको भविष्यका बारेमा निर्णय गर्ने अधिकार नेपाली जनतालाई पक्का छ तर किन संविधान जारी गर्नु अधि भारत जानु परेको थियो, उनीहरूलाई ? अनि किन हिन्दु राष्ट्रको पक्षमा टाउको हल्लाउनु परेको थियो उनीहरूलाई ? यसको जवाफ शायद नेपाली जनताले पाउने छैनन् ।

समस्या एक पछि अर्को गरेर थपिइरहेको छ । देश जटिलस्थितिमा गुजरी रहेको छ  । प्रधानमन्त्री ज्यू, तपाइको खोक्रो राष्ट्रवाद र नेपाली जनताले भोग्नुपरेको पीडालाई एक ठाउँमा ल्याएर हेर्ने हो भने अब यो देश असफलताको मार्गतर्फ धकेलिई रहेको स्पष्ट देख्छु म त । तपाईलाई कस्तो लाग्छ कुन्नि ?

प्रधानमन्त्री ज्यु, !
कुर्शीमा बसेर बाँझो सपनाको नपुंसक ठूलाठूला नारा किन लगाउनु ? सायद यसै कारणले त घूरन्धर साहित्यकार बर्नाडशाशले भनेका होलान “यदि मेरो हातमा ३ बर्षको लागि राज्य आयो भने म सबैलाई कठधरामा उभाएर सोध्ने छु तिमीले ३ बर्ष कसरी बितायौ ?
पहिले आधार हुने गर्दथ्यो। आधारभूत कुरा हुन्थे । अब त आधार नै हुदैन । हावाका कुरा हुन्छन् । आधारका निम्ति को कहाँ पर्खेर बस्छ र ? अहिले त साँप सिढीको खेल छ । सिढी पनि उसैको हो जो साँप छ ।

हेर्नुहोस् प्रधामन्त्री ज्यु !

मलाई राम्रो संग थाहा छ कि कुनै पनि गणतन्त्र देशमा प्रधानमन्त्रीको विशेष महत्व हुन्छ । मन्त्रीमण्डलमा प्रधानमन्त्री नै सबैमा मुख्य हुन्छ । उसको दूरदर्शिता र कार्यकुशलतामा नै देशको भविष्यको आधार हुन्छ । यस कारण यदि म आफ्नो देशको प्रधानमन्त्री भएको भए आफुलाई साँचै नै भाग्यशाली सम्झने थिए किनभने देश र जनताको सेवा गर्ने यस्तो ठुलो अवसर, चुनौती अरू कसरी र केमा पाइन्छ र ? सर्वप्रथम विश्वको चिनारी एकमात्र चिनारी, पशुपतिनाथले विराजमान गर्नुभएको देश नेपाल, गौतम बुद्ध जन्मेको देश, सिता, जनक जन्मेको पवित्र भूमि, अनेकौं ऋषि मुनिहरुले तपस्या गरेको भूमिको देश, विश्वको इतिहासमा चम्किने सगरमाथाको देश, बिभिन्न शक्तिरुपा देवी देवताले राज गरेको देश म कसैको धम्कि र प्रलोभावनमा परेर राष्ट्रको गौरवलाई कदाचित लिलाम गर्ने थिइन् न नेपाली धर्म संस्कारलाई नै डगमगिन दिन्थें ।
आज हाम्रो देशमा हजारौं मानिसलाई पेट भर्न भोजन, लगाउन लुगा र बस्न ओत लाग्ने घर सम्म छैन । प्रधानमन्त्रीको नाताले सबै भन्दा पहिले देशका जनताका प्राथमिकताहरूको पूर्ति गर्ने भरसक प्रयेत्न गर्थें । मजदुरहरू, कारीगरहरू आदिका कल्याणका निम्ति सर्वांगिण विकासका निम्ति तथा निम्नवर्गको दशा सुधार्नका लागि विशेष आयोजन गर्थें ।

हाम्रो देशमा आज प्रान्तवाद र जातिवाद उर्लिएर आएको छ । राजनीतिक क्षेत्रमा भ्रष्टाचार बढेको छ । घूसखोरी , कालाबाजोरी, तस्करी र दंगाफसादको कुनै सीमा छैन । यदि म प्रधानमन्त्री भएको भए यी सबै खराबीहरूलाई हटाउन कड़ा भन्दा कड़ा पाइला चाल्थें । कुनै पनि अवस्थामा देशको एकता बनाइ राख्न र देशको प्रगतिका निम्ति जियु ज्यान लगाएर प्रयेत्न गर्थें ।

बेकारी र गरिबी जस्ता समस्याहरूलाई हल गर्नका लागि साना(तीना उद्योगलाई प्रोत्साहन गर्थें । निर्भरता हटाउन उचित प्रबन्ध गर्थे । गाउँहरूको प्रगतिका निम्ति ग्राम विकास स्थितिलाई विशेष अधिकार दिन्थ्ये । समाज सुधारकहरूलाई र ग्रामसेवकहरूलाई पनि प्रोत्साहित गर्थें । यसका अतिरिक्त देशमा वैज्ञानिक र तान्त्रिक शिक्षाका निम्ति आयोजन गर्थे । विज्ञ देशका व्यक्तित्व र बौद्धिकता, विद्वानहरुलाई समावेश गर्थे । म नेपालको प्रधानमन्त्री भएको भए सबै देशहरूसंग सहयोग तथा मित्रताको व्यवहार राख्थें र आफ्नो वरपरका छिमेकी राष्ट्रसंग समान व्यवहार, व्यवसायहरुमा मित्रता बनाई राख्थे अनि गुटबन्दी देखि टाढै रहन्थें । राष्ट्रलाई शक्तिशाली र जनतालाई ससक्त बनाउन विद्यालयहरूमा फौजी तालीम अनिवार्य गर्थें र सुरक्षाको दृष्टिले देशलाई आत्म निर्भर बनाउँथें । जहाँ सम्म हुन सक्छ युद्धबाट परै रहन्थें, तर पनि अन्यायिक आक्रमणहरूको मुँहतोड़ जवाफ दिन्थे । म स्वयं आफ्नो सेवा कर्तव्य निष्ठाबाट आदर्श प्रस्तुत गर्ने प्रयत्न गर्थें । म विरोधी पक्षका दृष्टिकोणलाई बुझ्ने पुरा कोशिश गर्थें र देशको समस्याहरूलाई हल गर्न पनि उनीहरूको सहयोग लिन्थें । आफ्नो मन्त्रीमण्डलका सदस्यहरूलाई पनि उनीहरूको योग्यता अनुसार उचित जिम्मेवारी दिन्थे । उनीहरू प्रति सहानुभूतिपूर्ण तथा निष्पक्ष हुन्थें, तरपनि भ्रष्टाचारलाई सहन गर्ने थिइन ।

प्रधानमन्त्रीको नाताबाट आफ्नो लक्ष्य देशलाई हरेक किसिमबाट सुखी र समृद्ध बनाउन खोज्थें प्रधानमन्त्री ज्यु !
प्रधानमन्त्री हुनु भनेको राष्ट्रलाई काँधमा लिनु हो नकी मात्र आफ्नो दुनो सोझ्याउनु त्यसैले राजनीतिको चार गुण रणनीति, गणनीति, कुटनीति र राजनीति यी कुराको बोध एउटा असल, जिम्मेवारी नेतामा हुन् जरुरी हुन्छ जसले यी कुरालाई आत्मासाथ गरी देशको प्रगति, उन्नति, जनतालाई राहत हुने कार्य गर्छ त्यो मात्र नेता हो प्रधानमन्त्री ज्यू ! कृपया ख्याल गर्नुस देश मुक्तकको टुक्का होइन ।

–निशा अर्याल,
इजरायल

प्रकाशन मितिः २०७२ पुस २३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment