होटलमा यौनधन्दा, रंगेहात पक्राउ परेका दुई जोडीलाई सार्वजनिक मुद्दा

बाँके ।
होटलमा यौनजन्य क्रियाकलाप गर्ने दुई जोडीलाई बाँके प्रहरीले सार्वजनिक अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ। नेपालगन्ज तथा कोहलपुरका होटलहरूमा व्यापकरूपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले केही होटलमा छापा मार्दा चार जनालाई नियन्त्रणमा लिएको हो।

नेपालगन्जको दुईवटा होटलबाट नियन्त्रणमा लिइएका ती चार जनालाई सार्वजनिक अपराधअन्तर्गत कारबाही अघि बढाएको प्रहरीले बताएको छ।अहिले पक्राउ परेकी महिला यसअघि पनि पक्राउ
परेकी थिन्। प्रहरीले यसअघि पक्राउ गर्दा लामो काउन्सिलिङ गरेको छोडेको थियो। प्रहरीले जति काउन्सिलिङ गरे पनि त्यस्ता महिलाहरू पुनः आफ्नै धन्दामा फर्किने गरेको घटनाले देखाएको छ। ‘अन्य आयस्रोत छैन, यस्तो नगरे भोकै मर्नुपर्छ।’ –धन्दावाला महिलाको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने।प्रहरीले आइतबार छापा मार्दा दुई जोडी मात्रै पक्राउ परे पनि नेपालगन्जमा अवैध धन्दाको विकृतरूपमा रहेको भुक्तभोगीहरूको भनाइ छ।
नेपालगन्जका सेतुविकचोकलगायतका चोकहरूमा संसाँझै धन्दावालाहरूको मोलमोलाइ हुने गरेको घटनाले पनि यहाँ यौनकर्मीहरूको संख्या धेरै रहेको प्रस्टिन्छ। कतिपय होटलको कमाउधन्दा नै त्यही रहेको छ।

प्रहरीले धन्दावालालाई पक्राउ गरे पनि होटल सञ्चालकलाई केही नगर्ने हुनाले यस्तो विकृति मौलाएको हो। होटल सञ्चालकले आफैं मिलाइदिनेसमेत गरेका छन्। बाँके प्रहरीले यौनधन्दा सञ्चालन गरेको पाइएमा होटल सञ्चालकलाई पनि कारबाही गर्ने बताएको छ। त्यही होटलमा धन्दावाला समातेर गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने अनि होटल सञ्चालकले यस्तो कार्य गरेको पाइएमा कारबाही गर्छु भन्नु आफैंमा हास्यास्पद देखिन्छ।

यस्तोमा होटलवालाहरू आउने जोडीहरू ‘श्रीमान्–श्रीमती’का रूपमा कोठामा आउने गरेको दाबी गरेर बच्ने गरेको पाइन्छ। नेपालगन्जमा यसअघि होटलमा आउने पाहुनाको ‘नाता’ हेरेर मात्रै बस्न दिने निर्णय गरिएको थियो। तर, त्यो पूर्णरूपमा लागु हुन सकेको छैन।
केही होटलको बदमासीले गर्दा नेपालगन्ज राम्रो होटलहरूको पनि बेइज्जत हुने गरेको छ। कमाउ धन्दामा लागेका त्यस्ता होटललाई सबै मिलेर नंग्याउनुपर्ने होटल व्यवसायी भाष्कर काफ्लेको भनाइ छ। उहाँले होटल सञ्चालकले नाता खोज्ने काम भए पनि पूर्णरूपमा लागु गर्न नसकिँदा यस्ता कुराहरू बाहिर आइरहेको बताउनुभयो। ‘कोहीको नियत नै त्यस्तै हुन्छ।’ –व्यवसायी काफ्ले भन्नुभयो।

यौनकर्मी महिलालाई पक्राउ गरेपछि उसको बिलौना सुन्दा टिठ लागेर आउने अधिकारीहरूको भनाइ छ। ‘बेरोजगार छन्, खानाकै लागि यस्तो धन्दा गरेको बताउँछन्’, एक प्रहरी अधिकृत भन्छन्– ‘पक्राउ गरेर केही दिन खाना खुवाएर पठाउनुको विकल्प छैन।’ बाँके प्रहरीले अहिले पक्राउ परेकालाई यसअघि पनि काउन्सिलिङ गरेर छोडेको पाइएकाले धन्दा गर्नेलाई कारबाही या काउन्सिलिङ केहीले पनि नछेक्ने देखिएको छ।



SHARE THIS

Author:

Facebook Comment