नापतौलको नाममा व्यापक ठगी,प्रहरी प्रशासन मौन

क्राइमचेक प्रतिनिधि।
वीरगंज।वीरगंज क्षेत्रको तरकारी तथा फलफुल बजारमा स्थानीय तरकारी व्यापारीहरूले कृत्रिम तथा अवैध नापतौलका सामाग्री प्रयोग गर्ने क्रम अझै नरोकिएपछि उपभोक्तहरु ठगिने क्रम जारी नै रहेको छ ।
चाडपर्वको समयमा तरकारी व्यापारीले काठको तराजु तथा ढुङ्गा र ढुङ्गाको किलो तथा तौलको सामान अवैधरुपमा प्रयोग गर्न थालेको कारण स्थानीय उपभोक्ता ठगिने क्रम बढ्दै गएको भएपनि स्थानिय प्रहरी प्रसासन मौन रहेका कारण उपभोक्ता मारमा परेको स्थानीय उपभोक्ता अनवर हवारीले बताउनुभयो ।
अधिकांश सब्जी पसलेले काठको तराजु र ढुङ्गाको किलो बनाएर तौलमा सब्जी बिक्री वितरण गर्ने गरेका कारण प्रतिकेजी तौलमा ८ सय ग्रामभन्दा कमै तौल हुने गरेको पाइएको वीरगंज जेलरोडका एक होटल सञ्चालक राजु लामाले बताउनुभयो ।
विशेषगरी वीरगंजको बिर्ता, घण्टाघर, गण्डक, नगवा, जिबिस चोक, मुर्ली चोक लगायतका तरकारी बजारहरुमा तरकारी तथा माछा मासु ब्यबसायीहरुले नापतौलको नाममा नक्कली ढक तराजुको प्रयोगगरी उपभोक्ता ठग्ने गरेका छन् । सब्जी
व्यापारीले बासको टोकरी, तथा ढुंगा ईटाको किलो प्रयोग गरेर सब्जी मण्डिहरुमा उपभोक्ताहरु ठग्दै आएका छन् ।
गत वर्ष पनि यसरी नै सब्जी व्यापारीले अवैध नापतौलको सामाग्री प्रयोग गरेपछि स्थानीय प्रशासन तथा बजार अनुगमन समितिले तरकारी व्यापारीबाट २ सय भन्दा बढी ढुङगा र दुई दर्जन काठको तराजु बरामद गरेको थियो । तर नियमित बजार अनुगमन नहुँदा र अवैध तौलका सामाग्री प्रयोग गर्नेमाथि कडा कानुनी कारबाही नहुँदा पुनः स्थानीय तरकारी व्यापारीले अवैध नापतौलका सामाग्री प्रयोग गर्न थालेको स्थानीय उपभोक्ताको गुनासो रहेको छ ।
तरकारी व्यापारीदेखि स्थानीय मासु व्यापारीले समेत कृत्रिम नापतौल प्रयोग गरेर उपभोक्ता ठग्ने काम गरिरहेको भएतापनि सम्बन्धित निकायले अझैसम्म पनि यस विषयमा अनुगमनको लागि चासो नदेखाएको विर्ता जेलरोड निवासी स्थानिय बासिन्दा रामाशीष साहले बताउनुभयो ।
प्रत्येक दिन वीरगंज बजारका केही तरकारी व्यापारी बाहेक अधिकांश व्यापारीले अवैध नापतौलका सामाग्री प्रयोग गर्ने गरेका छन् । यस्तो कार्यले स्थानीय अन्य व्यापारी, सुरक्षाकर्मी, कर्मचारी, प्रशासन तथा होटल सञ्चालकदेखि सर्वसाधारणसमेत दैनिक ठगिने गरेको भएतापनि स्थानीय प्रशासन र बजार अनुगमन टोलीका प्रतिनिधिको दृष्टि यसतर्फ नपरेको गुनासो स्थानीय उपभोक्ताको रहेको छ ।
गत वर्ष स्थानीय प्रशासनको कारबाही र अनुगमनले गर्दा व्यापारीको यस्तो अवैध कार्यमा केही कमी आएको थियो । तर स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट तरकारी तथा मासु बजार नियमित अनुगमन हुन छाडेपछि पुनः व्यापारीले उपभोक्ता ठग्न थालेको स्थानीय उपभोक्ता बताउँछन् । (प्रकाशित मिति २०७० कार्तिक ०७ गते बिहीवार)


SHARE THIS

Author:

Facebook Comment