संविधानसभा निर्वाचन

              सशस्त्र जनयुद्धबाट स्थापित एनेकपा माओवादीको एजेण्डा हो संविधानसभा । राजनीतिक दलहरूबीच राजनीतिक सहमति हुन नसक्दा पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन । विघटन भयो । दोश्रो संविधानसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका, जनाधार भएका राजनीतिक दलहरू संविधानसभाले विगतमा संविधान बनाउन नसक्नुमा एकले अर्कोमाथि दोष लगाइरहेका छन् । मतदाताहरूमाथि सक्दो भ्रम छरिरहेका छन् । बास्तविक र यथार्थ लुकाइरहेका छन् । पहिचानसहितको संघियता, संविधानसभाबाट संविधानको चुनावी नारा दिइएको अग्रगामी शक्ति मानिएको एनेकपा माओवादीले दुई तिहाई बहुमत बिना भोलिका दिनमा संविधान निर्माण नहुने बताइरहेको छ । एनेकपा माओवादीबाट फुटेर गएको क्रान्तिकारी देशभक्त नेतृत्व दोश्रो संविधानसभा निर्वाचन देश र जनताको हित अनुकूल छैन, यसको बहिष्कार गर्नु बाहेक देश र जनताको सर्वोत्तम हितकालागि अर्को विकल्प छैन भनि चुनाव वहिष्कार अभियान लिएर जनताहरूकहाँ पुगेको छ । वास्तवमा भन्ने हो भने नेपालको चुनाव भारत, अमेरिका, युरोपेली महासंघ लगायतलाई लागेको छ । दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न गराउन विदेशी शक्तिहरू प्रत्यक्ष रुपमा लागेका छन् । देश पनि चुनावमय बनेको छ । १२४ वटा राजनीतिक दलका उम्मेदवारहरू २४० स्थानमा प्रत्यक्ष चुनाव लडिरहेका
छन् । मतदाताहरू समक्ष राजनीतिक दलका नेताहरू अआफ्नो घोषणापत्र लिएर पुगेका छन् । मतदाताहरूबीच चुनावी चर्चा चलेको छ ।


                संविधानसभाले नेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न गणतन्त्रात्मक राज्यको रुपमा रहि भविष्यमा शासन गर्न संविधान निर्माण गर्ने हो । प्राचीन भूमि नेपालले विश्वमा आफ्नो  उचित  र सम्मानित स्थान ग्रहण गरी विश्वशान्तिको उत्थान, मानव कल्याण र देशमा आर्थिक समृद्धिको लागि पूर्ण योगदान दिने वातावरण बनाउनु पर्दछ । नेपाली जनताबीच समानता हासिल गर्न प्रतिवद्ध लोकतान्त्रिक शाषन व्यवस्थाको स्थापना गर्न, जातीय, लैंगिक र सबैखाले विभेदलाई प्रतिबन्ध लगाउने, जातीय र लैंगिक समानता र राष्ट्रिय एकता प्रवद्र्धनकालागि संविधानसभा हुनुपर्दछ । नेपालको वर्तमान अवस्थामा भारतद्वारा अति हस्तक्षेप र प्रभाव पारिएको छ । नेपालको राष्ट्रियता सर्वाधिक संकटमा छ । भारतले संविधानसभा निर्वाचन सफल पार्न सबैखाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको छ, यसले गर्दा स्वाभिमानी, देशभक्त नेपालीहरू संविधानसभा निर्वाचनबाट तर्सिएका छन् । कम्युनिष्ट अनुशासन र नैतिकतामा बाँधिएका नेपालका कम्युनिष्ट कार्यकर्ता चुनावबाट तर्र्सिएका छन् । चुनावमा पैसाको खोलो नै बग्ने भएको छ । साम, दाम, दण्ड, भेद अपनाएर चुनावी मैदानमा पार्टीका उम्मेदवारहरू उत्रिएका छन् । संविधान निर्माणकालागि भन्दा पनि शासन गर्न राजनीतिक दलहरूले चुनावलाई उपयोग गर्न थालेका छन् । दोश्रो संविधानसभाले झन संविधान निर्माण गर्न नसक्ने देखिन्छ । संविधानसभाले निर्माण गर्ने संविधान विवादरहित सबै पक्षलाई मान्य हुनु पर्दछ । दुई तिहाई बहुमतले बनाउने संविधान दिगो हुन सक्दैन । राष्ट्रिय सहमति अनिवार्य छ । आगामी निर्वाचनमा दुई तिहाई बहुमत कसैको आउँदैन । नेपालमा राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्न खोजिएको छ । राजनीतिक दलहरूको चरित्र, नैतिकता, कार्यशैली हेर्दा गणतन्त्र स्थापना गर्न सक्ने, संघीय राज्य स्थापान गर्न सक्ने हुत्ति, क्षमता र मति दलहरूमा देखा परेको छैन । जनताले चुनावमा भाग त लिने भएका छन् तर त्यसको सदूपयोग नहुने निश्चित छ । चुनावी मैदानमा चुनावी अभियानमा मतदाताहरूलाई गलत ढंगले उपयोग गर्न खोजिनु राम्रो होइन । चेतनाभया । (प्रकाशित मिति २०७० कार्तिक ७ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment