निर्वाचन कसैले रोकेर रोकिन्नः कोइराला, चुनावमा भाग लिन सकिन्छः वैद्य

काठमाडौं, असार १० । 
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपालमा हुन गइरहेको संविधानसभाको दोश्रो निर्वाचन कसैले रोकेर नरोकिने बताएका छन् भने केही समय अगाडीसम्म कुनै पनि हालतमा संविधानसभा निर्वाचन हुन नदिने धम्की दिंदै आएका नेकपा माओवादीका समुहले संविधानसभा निर्वाचनमा भाग लिने संकेत देखाएको छ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन हुनुपर्छ भन्ने चौतर्फी माग भएकाले कसैले रोक्न नसक्ने बताएका छन् । युवा संघ नेपालले दिएको ज्ञापनपत्र बुझ्दै
सभापति कोइरालाले जनता, अन्तर्राष्ट्रिय जगत र सबैजसो राजनीतिक दल निर्वाचनका पक्षमा रहेकाले चुनाव कसैले रोक्न नसक्ने प्रष्ट गरे ।
 सभापति कोइरालाले निर्वाचन रोक्न खोज्ने शक्ति आफैं परास्त हुने पनि बताए । नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको मोर्चा लगायतका दल निर्वाचनमा सहभागि हुने विश्वास कोइरालाको छ । स्थानीय निर्वाचन हुन नसक्दा करोडौंको भ्रष्टाचार भएको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन गर्न दबाब सृजना गर्न युवा संघलाई सल्लाह दिए ।
 संघले आगामी निर्वाचनमा ५० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्ने, ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने, संविधानसभा १ सय १ सदस्यीय बनाउनुपर्ने, विदेशमा रहेका मतदातालाई इभोटीङको व्यवस्था गर्नुपर्ने जस्ता २२ बुँदे माग राखेका छन् ।

 नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना मागमा सरकार सकारात्मक देखिए चुनावमा भाग लिन सकिने बताएका छन् । हिरामणी दुःखीको ‘स्मृतिका कुइनेटा’ नामक पुस्तक राजधानीमा विमोचन गर्दै उनले ११ बुँदे सहमति खारेज, सर्वपक्षीय गोलमेच सम्मेलनबाट सरकार गठन र अग्रगामी संविधान निर्माण आफूहरुको प्रमुख माग भएको बताए । 

वैद्यले मंसिर ४ गतेका लागि घोषित संविधानसभाको चुनाव तत्काल रोक्नुपर्ने धारणा राखे । गैरदलीय व्यक्तिलाई सरकारप्रमुख बनाएर प्रमुख दलहरुले लोकतन्त्र, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ । 
 
उनले निषेधको राजनीति तत्काल अन्त्य हुनुपर्ने धारणा पनि व्यक्त गरे ।

SHARE THIS

Author:

Facebook Comment