काठमाडौ, चैत २४ – स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव आउँदो जेठ १३ गते हुने भएको छ ।
शनिबार बिहान बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले चुनावको मिति घोषणा गरेको विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुखहरुको बैठक छिटो बोलाएर चुनावको तयारीका लागि निर्देशन दिइने उहाँले बताउनुभयो । विश्वविद्यालयको हिजो भएको विशेष सभाले मिश्रित चुनाव प्रणाली अनुसार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने निर्णय गरिसकेको छ ।
अब क्याम्पसहरुमा चुनाव हुँदा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक प्रणालीबाट पदाधिकारी चुनिनेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष र सहसचिव सहित ५० प्रतिशत सदस्य समानुपातिकबाट चुनिनेछन् ।
यसैबीच स्ववियु चुनाव घोषणा भएपछि नेपाल विद्यार्थी संघले गर्दै आएको अनसन स्थगित भएको छ । चुनाव घोषणाको माग गर्दै नेविसंघले तीन दिनदेखि अनसन गर्दै आएको थियो ।