वीरगंज नगरभित्र जताततैथुप्रिएको फोहोरमैला र
त्यसबाट फैलिएको दुर्गन्धले वीरगंजबासीकै सभ्यताको परिचय दिएको छ । मानिसहरू
फोहोरको डंगुरमाथि बस्ने सुंगुर अवश्य होइनन् । मानिसहरू सचेत प्राणि भएकाले
उनीहरूले आफू बसेृको ठाउँ वरपरको रहेको फोहोरमैला र दुर्गन्धका बारेमा चिन्ता र
चासो लिनै पर्दछ । तर वीरगंजबासीहरू चाहिं फोहोरमैला र दुर्गन्धमा नै रमाउन खोजेको
बुझिन्छ । वीरगंज नगरलाई सफा,सुग्घर र स्वच्छ राख्ने, खुल्ला
दिशामुक्त क्षेत्र राख्ने प्रमुख दायित्व वीरगंज उप–महानगरपालिकाको
हो । वीरगंज उप–महानगरपालिकामा सरसफाई बजेट करोडौं छुट्याइएको
छ । फोहोरमैला व्यवस्थापन वीरगंज उप–महानगरपालिकाको एक्लो प्रयासले मात्र
संभव छैन, वीरगंजबासीको सहकार्य, अनिवार्य छ । फोहोरमैला व्यवस्थापन
गर्नकालागि बेलामौकामा चेतनशील मानिएका वीरगंज नगरवासी जनताको सशक्त र उचित दबावको
पनि उत्तिकै आवश्यकता पर्दछ । वीउमनपाको १९ वटा वडामा थुप्रिएको र थुपारिएको
फोहोरमैला हेर्दा वीरगंजवासी फोहोरमैला मैत्री छन् भन्ने लाग्दछ । घर अगाडी सडकमा
थुप्रिएको फोहोर पन्छाउने कुरामा वीरगंजका व्यक्तिहरूलाई कुनै टाउको दुखाईको विषय
बन्दैन । फोहोर र दुर्गन्ध फैलिएको छ । लामखुट्टे, झिंगा र भुसुना
घन्किएको छ । फोहोरको थुप्रोमा सुंगुर र कुकुरका बथान जाँचीरहेका छन्, वीरगंजबासी
दंगदास छन् । वीउमनपाले फोहोर व्यवस्थापन गर्न
अति आवश्यक डम्पिङ साइटको आजसम्म
व्यवस्था गरेको छैन । कथंकदाचित वीउमनपाले सडकमा थुप्रिएको फोहोर उठाइहाल्यो भनेपनि
नगरभित्रकै खाली जग्गामा लगेर फोहोर फाल्दै आएकाले जताततै फोहरै फोहर छ ।
वीउमनपाका झण्डै ५०० सफाई कर्मचारीले फोहोर व्यवस्थापन नै नगरी तलब पचाइरहेका छन्
। फोहोरबाट मोहोर हुने योजना वीउमनपासँग भएको भए वीरगंज नगर सफा मात्र होइन,
वीरगंजको
फोहोरले वीउमनपाको आयश्रोत समेत हुनेथियो । यस तर्क वीउमनपाका भ्रष्ट, कामचोर
कर्मचारी र अधिकृतहरूको अहिलेसम्म सामान्य ध्यान पनि गएको छैन । नारायणी उप–क्षेत्रीय
अस्पताल वरपरको सडक क्षेत्रमा अस्पताल र क्लिनिकमा प्रयोग गरिएका अत्ति हानीकारक
फोहर सडकमा ल्याएर थुपारिएका छन् । महिनौं बित्दा पनि फोहोर उठाएको पाइँदैन ।
गर्मी महिनामा यसरी फोहोर र दुर्गन्ध फैलिनाले महामारी रोगको प्रकोप बढ्ने संभवना
देखिन्छ । वीरगंजमा फैलिएको लामखुट्टेले निर्मूल भइसकेको मलेरिया र मेनेनजाइटिसको
महामारी हुने संकेत गरेको छ । नालामा फोहोर पानी जमेसम्म, ढल निकासीको
उचित प्रबन्ध नभएसम्म रोगव्याधी बढिनै रहन्छ । फोहोर सफा हुनु भनेको नानाथरीको
रोगबाट छुटकारा पाउनु पनि हो । वीरगंजवासीमा रोग वृद्धिको प्रमुख कारण फोहोरमैला
व्यवस्थापन र हरियाली नहुनु हो । हावा, पानी, माटो, सबै
प्रदूषित भइसकेको अवस्था छ । सरसफाइको चेतना र प्रबन्ध वीरगंज नगरमा सन्तोषजनक छैन
। ग्रेटर वीरगंज बनाउने योजना बोकेको वीरगंज उद्योग वाणिज्य संघले औद्योगिक एवं
व्यापारिक केन्द्र वीरगंज नगरलाई सफा राख्न वीउमनपालाई निरन्तर घचघच्याउन किन सकेन
? आर्थिक राजधानी र नेपालकै मूख्य प्रवेशद्वारमा जताततै फोहोर र कालो
प्लाष्टिक थुप्रिएर सिंगो वीरगंज नगर कुरुप र विरुप हुँदा पनि वीरगंजवासी
फोहोरमैला पन्छ्याउन जग्दैनन् भने कहिले जाग्ने ?
फोहोरमैला
व्यवस्थापन वीरगंजको प्रमुख चुनौती हो । शौचालयको उचित व्यवस्थापन छैन । घर,
फैक्ट्री,
अस्पताल
सबै ठाउँको फोहोर थुपार्ने र फ्याक्ने ठाउँ सार्वजनिक खाली जग्गा, सडक
र नाला भएको छ । अनि कसरी हुन्छ वीरगंज नगर सफा ?
प्रकाशित मितिः २०६९/१२/२२