चुनाव मंसिरमा : अध्यक्ष खनाल

बारा, २० चैतःनेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबै दललाई समेटेर मंसिरमा चुनाव गराइने बताएका छन् । 
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा मंगलबार बिहान सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले नेकपा–माओवादीलगायतका असन्तुष्ट सबै दलसँग वार्ता गरेर चुनाव गराइने बताएका हुन् । 
चुनावप्रति असन्तुष्ट पोखिरहेका सबैको मागलाई वार्तामार्फत समाधान खोज्न सम्भव उनको विश्वास छ । उनले मुलुकलाई निकास दिनको लागी निर्वाचन मंसीरमा महिनामा कुनै पनि हालतमा गर्न आवश्यक रहेको समेत बताए । 
राजनितिक दलहरुबिच सहमती हुन सके असारमै चुनाव गर्दा उत्तम हुने भएपनि मंसीरसम्म गरिनुपर्ने उनको धारणा छ । उनले आउँदो वर्ष नेपालको चुनावी वर्ष हुने समेत विश्वास व्यक्त गरेका छन् । 
अध्यक्ष खनालले आगामी संविधान सभाको निर्वाचनबाट नेकपा एमाले देशकै ठुलो दल बन्ने दाबी गर्न चुकेनन् । उनले एमाले ठुलो दल बन्न सकेमात्र देशले संकटबाट निकास पाउने दाबी गरे । यस्तै दाबी केही दिन अघि गृह जिल्ला रौतहटको भ्रमणमा आएका बेला एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment