रौतहट,२० चैतः रौतहटको मत्सरी गाविसका १८ वर्षिय यूवक भुलन भनिने रामचन्द्र साहको अपहरणमा संलग्न रहेको आशंकमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।मत्सरी गाविस वडा नम्वर ८ का फेकु साह बनियाका १८ बर्षिया छोरा भुलन भन्ने रामचन्द्र साह गत दुई दिनदेखि बेपत्ता छन् । अपहरणको आशंकामा मत्सरी ९ निवासी किसुनी सहनीका छोरा चन्दन सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।भुलन सीमावर्ती भारतको बैरगनिया गएको दुई दिन बितिसक्दा पनि अझैसम्म घर नफर्किएपछि अपहरणको आशंका गरिएको छ । किशुनीले भुलनलाई फिर्ता ल्याउन ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने भन्दै उनका अभिभावकलाई बताएका गाउँलेको भनाई छ । भुलनका अभिभावकले इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएपछि अनुसन्धानका लागि सहनीलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक रामाश्रय यादवले बताए ।