सुपारी: तस्करी कि व्यापार ?

हिजोआज स्थानीय र राष्ट्रिय समाचारपत्रमा सुपारी तस्करी, सुपारी बरामदको समाचार प्रकाशित भइरहेका छन् । सुपारी खेती नेपालमा पनि हुन्छ र विदेशबाट पनि सुपारी आयात गरिएका छन् । छिमेकी राष्ट्र भारतमा सुपारीको माग ठूलो छ । जहाँ माग छ त्यहाँ आपूर्ति हुन्छ, यो व्यापारको प्रकृति पनि हो । तस्करी भन्नाले राजश्व छलेर चोरी निकासी र पैठारी हुने अनधिकृत व्यापार हो । खुल्ला सिमानामा अनधिकृत व्यापार हुन्छ, स्थानीय प्रहरीले यसलाई नियन्त्रण गर्न खोज्छ, त्यो स्वाभाविकै हो । व्यापारीहरूले भारतमा सुपारीको ठूलो माग रहेको र तेश्रो मुलुकबाट आयात गरिएको सुपारी विधिवत रुपमा भन्सार नाकाबाट भारत सरकारले जान नदिएपछि भन्सार चोरी निकासी भइरहेको छ । नेपालबाट भारतमा सुपारी निकासी वैध वा अवैध किसिमले हुनु आर्थिक गतिविधि, व्यापार अन्तर्गत नै आउँछ । कतिपय वस्तु सरकारले निकासी पैठारीमा प्रतिबन्ध लगाएको कारण चोरी निकासी, पैठारी हुन्छ । नेपालबाट भारतमा निकासी गरिने वस्तुमा “सर्टिफिकेट अफ ओरिजन” चाहिन्छ । नेपालमा उत्पादन नभएको तेश्रो मुलुकबाट आयात भएको सुपारीको “सर्टिफिकेट अफ ओरिजन” बनाउने कुरा नै भएन ।

सुपारी लगायत थुप्रै वस्तु विदेशबाट आयात गरेर व्यापारीहरूले भारत निकासी गर्दै आएका छन् । त्यो एउटा परम्परागत व्यापार नै बनेको छ । अनधिकृत व्यापार रोक्न दुई देशबीच सन्धि पनि भएको छ । नेपालबाट भारत निकासी हुने सुपारी लगायतका वस्तुहरू भारतीय प्रहरी र कस्टमले पक्राउ नगर्ने तर नेपालका प्रहरीले बरामद गर्ने, पत्रकारहरूले समाचार लेख्ने, यो समाचारले कसको हित रक्षा भइरहेको छ ? बुझिनसक्नु छ ।
वीरगंजस्थित भारतीय वाणिज्य दूतावासले पनि सुपारीको तस्करी र व्यापारको बारेमा अवश्य जानकारी राखेकै होला । कुरा रह्यो तेश्रो मुलुकबाट व्यापारीहरूले भन्सार र अन्य राजश्व तिरेर ल्याएको वस्तु कुनै पनि माध्यमबाट पु¥याउँछन् भने यसबाट व्यापारिक स्वार्थ पूर्ति हुन्छ, व्यापार बढ्छ । नेपालबाट जाने वस्तु रोक्ने काम भारतीय सीमामा खटिएका सुरक्षाकर्मीको हुनुपर्ने होइन र ? भारतबाट नेपालमा तस्करी भई आउने वस्तु के भारतीय पक्षले बरामद गरेका छन् त ? तसर्थ सुपारी व्यापार कि तस्करी ? यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित

SHARE THIS

Author:

Facebook Comment