काठमाडौ, १५ चैत । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले संविधानसभाको आसन्न निर्वाचन विथोल्न खोज्नेलाई राज्यशक्ति प्रयोग गरेर भए पनि ठिक लगाउने चेतावनी दिएका छन् ।
१५ औ वार्षिक उत्सवको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले सुरु गरेको रिपोर्टर्स क्लब नेपालको अभियान संविधानसभाबाटै नयाँ संविधान अभियान अन्र्तगतको विशेष साक्षात्कारमा विहीबार बोल्दै उनले कसैले भाग लिदैन भन्दैमा निर्वाचन नरोकिने समेत स्पष्ट पारे ।क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा संविधानसभा निर्वाचनको विरोधमा सडकमा उत्रिएका दलहरुको माग समयानुकुल नभएको र त्यसले मुलुकको हित नगर्ने भन्दै त्यस विषयमा असन्तुष्ठसँग छलफल गर्ने जानकारी दिए ।
शुक्रवार विहान ९ बजे बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सो विषयमा कुरा हुने र असन्तुष्ट पक्षसँग पनि छलफल गर्ने ओलीले जानकारी दिए ।
उनले भने–सबैलाई अस्विकार हुने नीतिले आफैलाई कमजोर र एक्लो बनाउँछ । यो विषय उहाँहरुले पनि राम्ररी बुझ्नु पर्छ ।
ओलीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन अघिल्लो सरकारले गरेको सबै राजनीतिक नियूक्ती र निर्वाचनलाई प्रभावित पार्ने गरि गरिएका सरुवाहरु खारेज गर्नु पर्ने धारणा राख्दै त्यसो नगर्दा सम्म निष्पक्ष निर्वाचन हुन नसक्ने दावी गरे ।
उनले भने– विगत सरकारले गरेको राजनीतिक नियुक्ती कायम राखेर निष्पक्ष निर्वाचन हुन सक्दैन । त्यो कायम रहेसम्म राज्य निष्पक्ष निर्वाचन गराउनबाट बञ्चित हुन्छ । त्यसैले त्यस्तालाई एक मुष्ठ रुपमा बर्खास्त गर्नु पर्छ । उनीहरुले राज्य सत्ता कब्जा गर्ने, लुटपाट गरेर खान त्यसो गरेका थिए । ओलीले निर्वाचनलाई प्रभावित पार्ने गरी विगतको सरकारले ल्याएको पपुलिष्ट कार्यक्रम समेत बन्द गर्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोग जस्तो विद्धानहरु भएको संस्थाका पदाधिकारीहरुले सरकार बदलिएसँगै नैतिकताको आधारमा राजिनामा दिनु पर्ने परम्परा सुनाउँदै उनीहरुको नैतिकतामाथि प्रश्न समेत ओलीले उठाए ।
आतंकको छायाभित्र २०६४ सालमा भएको संविधानसभाको निर्वाचन जस्तो अवको निर्वाचन नहुने स्पष्ट पार्दै अबको निर्वाचनमा नेपाली जनताले लोकतन्त्रवादी शक्तिहरुलाई दुई तिहाई बहुमत दिने विश्वास ब्यक्त गरे ।
लोकतान्त्रिक शक्तिलाई दुई तिहाई बहुमत नदिएसम्म नेपालमा संविधान बन्न नसक्ने भन्दै एमालेले लोकतान्त्रिक शक्तिहरुलाई दुई तिहाई बहुमत दिलाउन आवश्यकता अनुसार लोकतान्त्रिक दलहरुवीच सहकार्य, सहमति, तालमेल र एकता गर्दै अघि बढ्ने स्पष्ट पारे ।
ओलीले भने–चुनावमा हार्ने डर भएका अलोकतान्त्रिक दलहरुले गठबन्धन तयार पार्दैछन । कोही चुनाव भाड्न लाग्दैछन । त्यसलाई एमाले चिर्दै अघि बढ्छ ।
अख्तियारमा विवादित लोकमानसिह कार्कीलाई प्रमुख आयूक्तमा नियूक्ती गर्ने विषयमा भएको विवादमा उनले अदालतमा प्रवेश गरेको विषयमा विवाद गर्नुको औचित्य नभएको भन्दै ठूलो काम गर्न हिडेको बेला साना साना नामहरुमा विवाद गर्नुको औचित्य नहुने दावी गरे ।
अभियानको सुरुवात गर्दै क्लबका अध्यक्ष ऋषि धमलाले संविधानसभाको निर्वाचनको बातावरण निर्माण गर्दै लोकतान्त्रिक संविधान बनाउन जनतामा जागरण जगाउन र दलहरुलाई दवाव दिन क्लबले अभियानलाई देशब्यापी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।