काठमाडौ, चैत १६ – सरकारले चुनावका लागि सहयोग गर्न सबैलाई अपिल गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राजनीतिक दलसँगै सबैलाई चुनावका लागि सहयोग गर्न अपिल गरेको हो ।
बैठकले सरकारको विरोध गरिरहेका सबै राजनीतिक दल र संस्थालाई आन्दोलन फिर्ता लिएर वार्तामा आउन आह्वान गरेको छ । सबैसँग वार्ता गरेर चुनावको वातावरण बनाउन सरकारले गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
समितिमा स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र सूचना तथा संचार मन्त्री माधव पौडेल सदस्य हुनुहुन्छ । सरकारले शंका, उपशंका नगर्न र वार्ताबाट सहमतिमा पुग्न सकिने बताएको छ ।
बैठकले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकारमा पत्रकार विमल गौतमलाई नियुक्त गरेको छ । त्यस्तै बैठकले सेना र प्रहरीमा सरुवा र बढुवा गरेको छ । नौ जना महासेनानीलाइ सहायक रथी, १६ जना प्रमुख सेनानीलाइ महासेनानी र सशस्त्रका पाँच जना एसएसपीलाई डिआइजीमा बढुवा गरेको हो ।
२२ जना महासेनानी र ६ जना सहायक रथीको सरुवा भएको छ ।
त्यस्तै सहसचिवसहितका कर्मचारीको पनि व्यापक सरुवा गरेको छ । बैठकले आगलागीका घटना बढेको भन्दै समन्वय, उद्धार र राहतका लागि काम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।