राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधान न्यायाधीश खिलराज रेग्मीलाई प्रधान मन्त्री बनाउँ भन्ने एजेन्डा आफ्नो पार्टीको भएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान सभा विघटन भएको दोस्रो दिन बसेको पार्टी केन्द्रीय समितिको बैठकले सो एजेन्डा ल्याएको बताए । ‘हामीले गत जेठ १६ गते नै बहालवाला प्रधान न्यायाधीश वा पूर्व न्यायाधीशहरुलाई प्रधान मन्त्री बनाउनुपर्छ भनेका थियौँ,’ उनले भने, ‘पछि नेकपा एमाओवादीले आफ्नो सातौँ महाधिवेशनमा यो प्रस्ताव ल्यायो।’
थापाले यो एजेन्डा लिएर आफू माओवादी अध्यक्ष, एमाले अध्यक्ष लगायत दलका नेतालाई भेट्न गए पनि कसैले यो विषयमा चासो नदिएको बताए । ‘यो तपाईँको कुरा ठिकै हो । तर विवादमा परिन्छ त्यतातिर नजाऔँ भनेर प्रचण्डले भन्नुभयो,’ उनले भने ।
थापाले भोलि बसन्तपुरमा पहिलो चुनावी सभा गर्न लागेको पनि सम्मेलनमा जानकारी दिए । उनले भने, ‘यी सबै कुरा म भोलि बसन्तपुरबाट सार्वजनिक गर्छु।’ अहिले खिलराज नेतृत्वमा सरकार बन्नु राम्रो कुरा भएको बताउँदै उनले रेग्मीलाई चार दलको कठपुतली नबन्न सल्लाह दिए ।