हस्तान्तरण गर्न आतुर छौं : सञ्चारमन्त्री


सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले यो साताभित्रै निर्वाचन आयोगलाई पूर्णता दिएर निर्वाचनको मिति घोषणा गरिने जानकारी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सवैधानिक परिषद गठन भईसकेकाले अब बैठक बसेर एकसाताभित्रै निर्वाचन आयोगलाई पूर्णता दिई निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छौं ।’

पौडेलले आफूहरु छिटो निर्वाचन गरेर दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न आतुर भएको स्पष्ट पार्दै नियुक्तिमा ढिला गरेर सरकारले आफ्नो आयू लम्ब्याउने प्रयत्न नगर्ने बताए ।

दलहरुको सहमतिमा बनेको वर्तमान सरकारलाई निर्दलीय सरकार भनेर आलोचन गर्दा आफूहरु दुखि हुने गरेको उल्लेख गर्दै  सरकार दलीय सहमति र बाध्यताको उपज भएकोले यसलाइ निकासका रुपमा मात्र बुझ्न पौडेलले आग्रह गरे ।


उच्च स्तरीय राजनीतिक संयन्त्र र सरकारबीच कुनै मतभेद नरहेको उल्लेख गर्दै सन्चारमन्त्री पौडेलले सरकार उच्चस्तरीय संयन्त्रको सहकार्य र सुझावकै आधारमा अघि बढ्ने समेत स्पष्ट पारे ।

उनले सरकार निर्वाचनको मिसनमा बनेकोले यो सरकारबाट धेरै अपेक्षा नगर्न आग्रह गर्दै उनले आफूहरु निर्वाचन सम्पन्न गर्ने गृहकार्यमा जुटिसकेको जानकारी दिए । पौडेलले भने, ‘ठूला र दिर्घकालिन महत्वका कुनै पनि निर्णय गर्ने मनस्थितिमा छैनौं ।’

सडकमा रहेको दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गराउनु सरकारसहित सबैको दायित्व भएको उल्लेख गर्दै पौडेलले यसको लागि सरकारले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरी कार्यक्रममा बोल्दै पौडेलले सवैधानिक परिषदमा अहिलेसम्म बाहिर आए जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीको नाम सिफारिस भएर नआएको जानकारी समेत दिए ।

मन्त्रालयका निर्णय २४ घण्टाभित्र वेभसाईडमा राख्ने निर्णयलाई अहिलेको सरकारलाई मिडिया मैत्रि सरकारको भएको उदाहरणको रुपमा प्रस्तुत गर्दै पौडेलले सञ्चारक्षेत्रका केही कानून र व्यवस्थामा सुधार गर्न आवश्यक भए सुझाव दिन सञ्चारकर्मीसँग आग्रह गरे ।

SHARE THIS

Author:

Facebook Comment