आक्रोशित साधुहरुले पसलमा लगाएको आगोले सिलिन्डर विस्फोट भएपछि धनुषाधाम बजारको पूरै बस्तीमा आगो अनियन्त्रित भएर फैलिएको छ। एक मात्र दमकल भएकोले करिब एक घण्टा भइसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरुले नजिकको पोखरीबाट पानी ल्याई निभाउने प्रयास यो समाचार लेख्दा दिउँसो १ बजेसम्म जारी छ।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत नेपाल र भारतका हजारौँ साधुको परिक्रमा चलिरहेको बेला दाउरा संकलन गर्ने क्रममा एक साधु घाइते हुने गरी आज बिहान पिटिएका थिए। त्यसैको विरोधमा आक्रोशित साधुहरुले प्रदर्शन थालेका थिए।
करिब दुई सयको संख्यामा पुगेका प्रहरीले घटनास्थल धनुषाधाम गाविस १ मा स्थिति नियन्त्रणमा लिए पनि धनुषाधाम बजार आएका साधुहरुले त्यहाँको एउटा मासु पसल र गेस्ट हाउसमा आगो लगाएका थिए।
गेस्ट हाउसको सिलिन्डर विस्फोट भएपछि आगो अनियन्त्रित भई बस्तीभर फैलिएको थियो।