काठमाडौ÷प्रधानमन्त्री डा बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल सुनिलले आगामी शुक्रवारसम्ममा प्रधानन्यायधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ने घोषणा गरेका छन् ।
राजधानी काठमाण्डौमा बुधवार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले आफूहरु हदैसम्म लचक भएर सहमति कायम गराउने पक्षमा रहेकोले पनि शुक्रवारसम्म प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्ने विश्वास ब्यक्त गरेका हुन् । उनले सरकारको नेतृत्व गर्ने विषयमा प्रधानन्यायधीससँग पटक–पटक कुराकानी भएको र उहाँको पनि समर्थन रहेको दावी गर्दै प्रधानन्यायधीशले नेतृत्व गर्दिन भनेर नभनेको स्पष्ट पारे । उनले भने, “प्रधानमन्त्रीले पटक पटक प्रधानन्यायधीशसँग छलफल
गर्नु भएको छ । प्रधानन्याधीशले म बन्दिन भनेर कहिल्यै पनि भन्नु भएको छैन । प्रधानमन्त्रीले बुधवार विहान पनि उहाँसँग छलफल गर्नु भएको छ । बाहिर हल्ला आए जस्तो कुनै समस्या छैन ।
पौडेलले थपे, “उहाँले नेतृत्व लिन्न भन्नु भएको होईन । विरोध हुनु भएन सबैको समर्थन हुनु पर्छ भन्ने चासो मात्रै हो ।
प्रधानमन्त्रीले पूर्व निर्वाचन आयुक्त, विज्ञहरुसँग छलफल गरेको र उनीहरुले १०० दिनभित्रमा निर्वाचन गर्न सकिने स्पष्ट आधार दिएको भन्दै पौडेलले दलहरूवीच अहिले नै सहमति भए जेठ भित्रमा चुनाव हुन समस्या नरहेको स्पष्ट पारे ।
प्रधानन्यायधीशको नेतृत्वमा सहमति हुन नसके मुलुकमा फेरि अर्को सहमति हुनै नसक्ने ठोकुवा गर्दै उनले त्यसपछिको विकल्प भनेको अहिलेकै सरकारको नेतृत्वमात्रै भएको बताए ।
नागरिकता, मतदाता नामावली र सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा सहमति हुनासाथ अहिलेकै सरकारले नियूक्ती र बाधा अडकाउन फुकाएर प्रधानन्यायधीशलाई नेतृत्व हस्तान्तरण गर्ने समेत पौडेलले स्पष्ट पारे ।