आकाशको तारा

–सीता पौडेल
आफू सधैं दु:ख अनि पीडामा छट्पटिएर भए पनि अरुलाई सधैं हौसला र हिम्मत दिने अनि सत्यको बाटोमा हिंड्ने एउटा यस्ता पात्र छन् जो अरुको खुशीमा रमाउँछन् अनि दु:खमा हिम्मत दिन्छन् । तर खोइ किन हो आज उनी आफैं भन्छन् आकाशबाट एउटा तारा झर्दैमा आकाश तारा विहीन हुँदैन भनेर ।

हो यो सत्य हो पटकपटक कैयौं ताराहरु आकाशबाट झर्ने गरेका छन् र आकाश पनि कहिले तारा विहीन भएको छैन । तर ती पात्रले यो किन बिर्सदै छन् कि ती झर्ने ताराहरु आफु मै कमजोर बन्न पुगे अनि सधैं प्रकाश दिएर आकाशमा चमचमाउन सकेनन् र आकाशबाट झर्न पुगे भनेर । एउटा यस्तो तारा जो अरु ताराहरुको लागि एउटा हिम्मत बनेको छ सत्यतामा अडिक रहने यदि त्यो तारा आकाशबाट झर्यो भने अरु ताराहरुको के होला जुन ताराहरु ऊबाट उत्प्रेरित भई आफू भित्र साहस त्यही ताराको अनुशरणमा हिंड्न् खोजी रहेका छन् र सधैं सधैं त्यही तारा जस्तै आकाशमा चम्किएर बस्न चाहन्छन् भने त्यो तारा आकाशबाट झर्नु भनेको अरु ताराहरुको आत्मबल र भरोसा टुट्नु होइन या भनौं बिस्तारै बटुलिदै गरेको ऊर्जा या सपनामा कुठाराघात गर्नु होइन ? तेसैले आफ्नो बलियो साथी तारा आकाशबाट झरोस् भन्ने कुनै ताराले पनि चाहदैनन् ।

चन्द्रमा जो महिनाको एक पटक पूर्णीमाको दिन आएर आफ्नो पूर्ण दर्शन दिएर सबैको आँखा चकाचौध हुने गरि प्रकाश दिन्छ तर ऊ सधैंभरी आकाशमा आएर आफ्नो पूर्ण उज्यालो दिन सक्दैन र विस्तारै बिलाउन थाल्छ । तर ती सानासाना ताराहरु सूर्य डुब्ने बित्तिकै आकाशमा चम्किन भुल्दैनन् ।

जसरी कोयलाखानीको बीचमा पनि हिराको पहिचान हराउँदैन र हिलोमा फक्रिएको कमलको सुन्दरता अझै निखारिएको हुन्छ, त्यसरी नै त्यो चम्किलो तारा जस्को स्थान आकाशमा छ झर्न सुहाउँदैन । तेसैले हे पात्र त्यो तारालाई आकाश मै रहन देउ र यो नभन कि एउटा तारा झर्दैमा आकाश तारा विहीन हुँदैन भनेर ।

प्रकाशन मितिः २०७२ चैत्र ०४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment