–भिम खनाल
जब म रेगिस्तानका पहाडबाट
नक्शामा देश हेर्न थाल्छु
आँसुले चिसो मानचित्र निर्माण गर्न थाल्छ
आगोले निल्दै गरेको चुरोटको अस्तित्व जस्तो
क्रमस निख्रदैछ जीवन
त्रासले लखेटेको हतार बाहेक
हरेक फुर्सदहरु बिथोलेर जान्छन्
यी बिख्तरी यामहरू
घरि घरि सम्झन्छु आमाको आदर्श
बा को निरीह धन्दा
पुस्तौ लामो सुकुम्बासी फेहरिस्त
देशको हैसियत
एकादेशका कथा होईनन
मेरी दिल कान्ता
मेरी प्रेमिका
जिन्दगीका तनाम अप्ठ्याराहरु
तिम्रो प्रेमले जितिरहेछु यो मरुभुमिमा
म पसिना बगाउने नदि नभेटी
पाखुरा बजाउने पहाड नदेखी
भविष्य खोज्दै हिंडेको मान्छे
अभावले गिज्यायर सहन नसकी
नुन चामल जोहो गर्न
सयौ खोला तरेर आएपनि
सपनाभरि उहीँ सगरमाथा चढिरहेको हुन्छु
रेडियो को मिटर घुमाउछु
रिमोट थिचि टिभिको च्यानल बदल्छु
र झ्याल ढोका खुल्लै छोड्छु
कतै हावाले राहतको समाचार भित्र्याउला भनी
फेरि पल्टाउछु अनलाईन किताब
चार सय पृष्ठको संविधान
र खोजिरहन्छु युवा अधिकार
घरिघरि रेट्न आईपुग्छ घाँटी
एउटा अनाम हतियार
यसरी नै बाँच्ने हो भने म मनोरोगी हुनेछु
यो खाडिको निस्सास बस्तिमा
बरु उडाउछु जिन्दगीको विमान
बसाउछु चन्द्रमामा बस्ति
झिक्छु हजुरवाले नालापानीमा चलाएको
चमचमाउँदो बेरोजगारी खुकुरी
लगाउछु धार आफ्नै पसिनाले
फाड्छु अत्याचारको सामन्ति जङ्गल
मान्छेहरुको समावेसी वस्ती ।
भिम खनाल
प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीवार