– प्रशान्त महासागर
बुढीकी भाई !
मनुष्यले बनाउने मोटरहरुमा
आजभोली
दुईचार इन्जिन हाल्ने समय आ’को बेला
भगवान् किन तिमी कन्जुस हुन्छौ
मलाई एउटा मात्र इन्जिन भा’को शरीर किन दिन्छौ
बुढीकी भाई !
त्यो पनि आधा घोडा शक्तिको
जब कि
प्रदुषण र दूर्गन्धित सोचसँग जुध्न
मलाई
चार वेद झै
तिमीले चार घोडा शक्तिको
चार इन्जिनयुक्त मोटर शक्तियुक्त शरीर दिनुपर्छ नै
ता कि
बैंशमा गर्ने गल्तिलाई, शक्तिमा लत्तिने मतिलाई
अपमानलाई, भ्रमलाई
रिसराग, द्वेषलाई
निभ्दै गरेको दियोमुनिबाट
देख्ने चेष्टा गर्न दुई आँखा अग्रसर हुन नपरोस्
मति र गतिले सच्याउन सकूँ, स्पर्श गर्नु सकूँ
ना कि मर्मतमै
बुढीकी भाई !
एउटाको हिस्सा, अर्कोको निस्सा हुन नपरोस्
इन्जिनको स्वामी जीवन हो भने
आराध्य इन्जिनको मृत्यु हुन किन दियौ
बुढीकी भाई !
भगवान्, तिमी किन कन्जुस भयौ ।
प्रशान्त महासागर
हाल: काठमाण्डौ

Nepalese Rupee Exchange Rate