बेलायतमा भूकम्पपीडित बालबालिका किनबेच, मूल्य आठ लाख

एजेन्सीः
बेलायती एक पत्रिकाले भूकम्पपीडित नेपाली बालबालिका करिब आठ लाख नेपाली रुपैयाँमा किनबेच भएको खुलासा गरेको छ ।

वैशाख १२ गते गएको भूकम्पमा परी परिवार गुमाए पनि बाच्न सफल नेपाली बालबालिका बेलायती परिवारले किन्ने गरेको खुलासा उक्त पत्रिकाको छ । १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई बेलायती परिवारले किन्ने गरेको खबरमा उल्लेख छ ।

गिरोहले भूकम्पपीडित नेपाली बालबालिका र नेपालसँग सीमा जोडिएको भारतको बिहारका बालबालिका बेलायत लगेर बेच्ने गरेको खुलासा भएको हो ।

द सनले गरेको खुलासा अनुसार यसरी बिक्री हुने बालबालिकाको मूल्य ५ हजार दुई सय ५० पाउण्ड तोकिएको छ । जसको नेपाली मूल्य सात लाख ९० हजार हुन्छ । समाचारमा बालबालिका बिक्री गर्ने गिरोहको नाइके भारतीय नागरिक मख्खन सिंह रहेको दाबी गरिएको छ ।
यसरी बिक्री भएका बालबालिकालाई बेलायती परिवारले धर्मपुत्र–पुत्री अर्थात् घेरलु कामदारका रुपमा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

सनको टोलीले ग्राहकको रुपमा मख्खनलाई नेपालको सीमाबाट ५० माइल टाढा रहेको भारतको जालन्धरमा भेटेका थिए । मख्खनसँगको सबै कुराकानी लुकाइएको क्यामेराबाट रेकर्ड गरिएको समाचारमा उल्लेख छ ।

मख्खनले द सनको टोलीलाई बालबालिकासँग समेत भेट गराएको खबरमा उल्लेख छ । मख्खनले भारतको बिहारका गरिब परिवारका बालबालिकालाई समेत यसरी नै बिक्री गर्ने गरेको समेत खुलासा गरिएको छ ।


ग्राहकको रुपमा मख्खनलाई भेट्न पुगेको द सनको टोलीलाई उनले बिक्रीका लागि १३ वर्षका बालक सुस्ती राम, १२ वर्षकी पूजा र १० वर्षका बालक अमितलाई भेट्टाएका थिए ।

खबरमा मख्खनले भेट्टाएका बालबालिका नेपाली हुन् वा भारतीय हुन भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन ।

मख्खनले द सनको टोलीसँग परिचय गर्न लगाउदा १२ वर्षीया बालिका पूजाले आफ्नो उपनाम प्रिती रहेको बताएकी थिइन ।

द सनको टोलीलाई मख्खनले पहिला सम्झौता गरेपछि मात्र बालबालिका लान दिने बताएका थिए ।

समाचारमा यसरी नै भारत र भारतसँग सीमा जोडिएको नेपालका गरिब परिवारका बालबालिकालाई धर्मपुत्र वा पुत्रीको रुपमा र घरायसी कामदारको रुपमा बेलायतमा बिक्री गर्ने गरेको उल्लेख छ ।

मख्खनले सम्झौतापछि आफूले बालबालिका उपलब्ध गराउने तर आवश्यक कागजात आफै तयार गर्नुपर्ने बताएको समेत समाचारमा उल्लेख गरिएको छ ।

भारतमा यस्ता बालबालिका धेरै भएको र नेपालमा वैशाखमा गएको भूकम्पपछि बिचल्ली भएका धेरै बालबालिका समेत भारत पुगेकाले आफूले बिक्री गर्ने गरेको मख्खनले बताएको खबरमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट्


SHARE THIS

Author:

Facebook Comment