गाई त पस्यो पस्यो, तर बाख्रो कसरी पस्यो

–स्वयम्भुनाथ कार्की

एक रोचक किस्सा छ , एक किसानको लहलह बाली भएको बारीमा बार भत्काएर उसैको गाई पस्यो । अघाउन्जी चरेपछि त्यो गाई त बाहिर निस्कियो तर छिमेकीको बाख्राले पनि बार भत्केको मौका छोप्यो । बारीमा पसेर निर्धक्क बाली चर्न लाग्यो । त्यत्तिकैमा त्यो किसानआई पुग्यो ।

छिमेकीको बाख्रा आफ्नो लहलह बालीमा चर्दै गरेको देखेर रिसले आगो भयो । बाख्रा पक्रेर छिमेकीलाई तथानाम गाली गर्न थाल्यो । विस्तारै गाँउले जम्मा भए , छलफल शुरु भयो ।

स्थलगत निरिक्षणले त्यो बालीमा गाई पनि पसेको देखियो । पहिले गाई पसेपछि त्यसै दुलोबाट बाख्रा पसेको देखियो । बालीको हानीमा बाख्राको भन्दा धेरै गाईको करामत देखिए पछि कसको गाई पसेको भन्ने खोजी भयो । गाई त्यही किसानको भएको पत्ता लाग्यो ।

यसरी हानीको न्यून हिस्सामात्र बाख्राको रहेको सावित भयो । किसानलाई आफ्नो गाईले बार भत्काएको, बाली खाएको भन्दा छिमेकीको बाख्राले मौका छोपेको रिस धेरै थियो । तर उसंग बाख्राको ठूलो अर्धेलो सावित गर्ने कुनै बाटो रहेन । केवल एउदै रट लगाउदै रह्यो ‘ अथवा गाई त पस्यो पस्यो, तर बाख्रो कसरी पस्यो ’ ।

गाई पस्न सकेको दुलोबाट बाख्रा सजिलै पस्न सक्छ भनेर सबैले भनेको उसले र उसका परिवारले सुन्न नै चाहेनन । छिमेकीलाई दोषरोपण गर्न केवल ‘ अथवा गाई त पस्यो पस्यो, तर बाख्रो कसरी पस्यो ’ भन्दै कराई नै रहे ।

त्यो गाँउकाहरु उसलाई देख्ने बित्तिकै ‘बाख्रा कसरी पस्यो ?’ भनेर जिस्क्याउन थाले । विस्तारै उसलाई चिन्ने जतिले जिस्क्याउने मेलो बन्यो ।

नेपाल सरकारको वर्तमान हालत त्यही किसानको झै भएको छ । उ चाहान्छ विश्वले यो संविधानलाई उत्कृष्ट भनि देओस । जनता अनुमोदित संविधान हो भनेर मानि देओस ।

यसै इच्छाको वशिभूत भएर प्रचण्ड प्रवृति नेताहरुले ‘यो संविधान सबैभन्दा राम्रो भएकोले भारतिय जनताले पनि यस्तै संविधान माग्लान भन्ने खतराले मोदीले यसलाई अपुर्ण भनेका हुन ’ सम्म भन्न भ्याए ।

यो स्तरको बहुलठ्ठी कुरा सही हो भनेर जनतालाई बुझाउन दलका बुद्धिजीवि मानिएकाहरुको जमातले भए भरको बल लगायो ।

आफ्ना हरेक कुराको विदेशीबाट प्रशंसा मात्र सुन्ने बानी परेका परिवर्तनका सारथीहरुले आजकल आलोचना सुन्नु पर्दै छ । नेपालको वर्चश्व, परंपरा र चिनारी भएका सबै कुरा समाप्त परेर मानसिक उपनिवेश बनाउन खोज्ने वैदेशिक शक्तिकेन्द्रहरुको विजय भएको छ ।

परिवर्तको नाममा राज्यले लगाएको निषेधाज्ञा तोडन विदेशी राजदुतहरु नै राजधानीका सडकमा आउनुलाई अहिले नेपालको मुलधारमा भएकाहरुले सदाशयता देखे । गाई पस्ने दुलो आफैले बनाए । पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा विदेशीलाई साँछी राख्ने लाछी कामसम्म पनि गरियो ।

आफ्ना हरेक मामिलामा विदेशी मित्रहरुको सक्रियतालाई हमेशा स्वागत गरियो । यो कुरा ठिक भएन , आन्तरिक मामिलामा हस्तक्षेप भयो भनेर राष्ट्रवादीहरुले भने । तर परिवर्तन आन्तरिक मामिला मात्र हुन सक्दैन यो विश्वको चासोको विषय हो भनेर दिएको जवाफ अहिले पनि कानमा गुन्जदैछ ।

अहिले पनि भारतमा मणिशंकर ऐयरहरुले मोदीले नेपाललाई चीनको काखमा हाले भनेको कुरा गौरवपुर्ण तरिकाले प्रचार गरिदैछ ।

नेपाललाई भारतको खेलौना सरह मान्ने र त्यो खेलौना आफ्नो हातबाट फुत्केको भनेर भन्ने अपमानजनक अभिव्यक्तिले वर्तमान सत्ताधारीलाई पोलेको छैन ।

यस्ता अभिव्यक्तिहरुमा आपत्ति जनाउनु पर्ने स्थानमा आफ्ना पक्षमा भनेर गौरवान्वित गर्ने समुहबाट नेपालको स्वाभिमान, गौरव रक्षा होला भनेर सोच्नु मुर्खता नै हो ।

आज स्वागत गर्दा भोली त्यही मणिशंकरहरुले दिएको अर्को अभिव्यक्तिको विरोध गर्ने नैतिक अधिकार रहन्छ ?

नेपालको संविधान राज्यव्यवस्था आदि आन्तरिक मामिला हुन भन्ने कुरालाई नाध्दै संविधानसभाको काम, संविधान निर्माणको प्रगति विवरण हरेक वैदेशिक व्यक्तिहरुसंगको भेटघाटमा बुझाउने परंपरा शुरु गर्नेहरु अहिले विदेशले आफ्नो प्रतिकुल वक्तव्य दिए भनेर दुखेसो गर्ने आधार राख्दैनन् ।

आन्तरिक मामिलामा वैदेशिक चासो हस्तक्षेप नै हो यसमा राय बझाउनु पर्ने कारण छैन । तर आफ्नो अनुकुल हुँदा त्यसलाई वरदान मान्ने र प्रतिकुल हुँदा आपत्तिजनक मान्ने दोधारेहरुबाट मुलुकको अस्तित्व रक्षा हुन सक्दैन ।

संंविधान जनताालाई बुझाउने सरकारी अभियानमा मुख्यरुपले उठाईएको कुरा के हो भने यो संविधानमा धेरै कुरा अझै सामेल गर्न बाँकी छ , धेरै कुरा परिवर्तन गर्ने गुञ्जाईस छ ।

यो कुराले संविधान अपुरो रहेको नै भन्छ । नेपाल सरकार आफैले अभियान नै गरेर अपुरो भनेको संविधानलाई अरुले पुर्ण भनिदिएनन भनेर तुरन्त कडा प्रतिक्रिया व्यक्त गर्दा राष्ट्रवादको अर्थ नै नवुझेर पनि राष्ट्रवादी भएका आलाकाँचाहरुको वाहवाही त पाईएला तर यस्तो व्यवहार प्रत्यूत्पादक हुन सक्छ ।

पहिले वैदेशिक हस्तक्षेप पसेको त्यो दुलो वन्द गर्नु नै पर्दछ । यो दुलो बन्द गर्न नेपालको गौरव पुर्नस्थापन गरेर मात्र संभव छ त्यसैले नेपाल अधिराज्य पुनर्स्थापनाको विकल्प छैन ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
(जनआवाज)

SHARE THIS

Author:

Facebook Comment