आधुनिक विज्ञानलाई चुनौतीः अक्सिजन बिना नौ दिनसम्म जिवितै हिन्दू बाबा

केशव शरण
पोखरा: अक्सिजनबिना नै समाधि बसेका सिध्दबाबा कृष्णदास नौ दिनपछि ब्युँझेका छन् । गत चैत २६ गते शुक्रबारदेखि पोखराको रामघाटस्थित नरनारायण स्थानमा बसेका उनलार्इ वैशाख ३ गते शुक्रबार बन्द बाकसबाट निकालिएको छ ।

बाबा सुतेको काठको बाकस अक्सिजन छिर्नै नसक्ने गरी प्लास्टिकले समेत बाहिरबाट बन्द गरी माटोले पुरिएको थियो । बिहान ९ बजेर ५५ मीनेटमा ब्युँझेका उनलार्इ निकाल्न पौने १० बजेबाटै बाकस खोल्न सुरू गरिएको थियो ।

बाकस खोलिएको दृश्य हेर्न त्यहाँ हजारौं पोखरेलीको उपस्थिति रहेको थियो । उक्त दृश्य देख्न मिल्ने गरी प्रोजेक्टरबाट देखाइएको थियो ।

योग र साधनाका माध्यमबाट अक्सिजनबिना नै बस्न सम्भव हुने उनले बताएका थिए । समाधिमा रहँदा रक्तसञ्चार, मुटुको धड्कन पनि रोकिने हुँदा शरीरलाई हावापानी र अन्न नचाहिने उनको तर्क थियो ।

चिकित्सकहरूकै सनमुन्ने त्यसरी अक्सिजन नछिर्ने बाकसमा बाबा समाधि बसेपछि उनीहरूले बाबा ९ दिनपछि जीवितै रहे चमत्कार हुने बताएका थिए ।


अक्सिजन नछिर्ने बाकसभित्र नौ दिने भूमि समाधिमा बाबा !
पोखरा: सासै नफेरी कुनै मान्छे बाँच्न सक्छ ? सक्छ । विज्ञानले अहिलेसम्म भन्दै आएको अक्सिजनबिना मान्छे केवल ३ मिनेट बाँच्छ । एकजना व्यक्ति यस्ता भेटिएका छन्, जो अक्सिजनबिना नै ९ दिनसम्म बाँचेर प्रमाणित गर्ने परीक्षामा होमिएका छन् । उनी हुन् सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य ।

पोखरा रामघाटको नरनारायण आश्रममा बिहीबार साँझदेखि भूमि समाधिमा छन् । हावा नछिर्ने काठको बाकसमा उनी सुतेपछि वरिपरिबाट प्लास्टिकले बेरेर त्यसमाथि माटोले छोपी जमेरा छरिएको छ ।

केही पूजा गरेर बाबा काठको बाकसभित्र लम्पसार सुतेपछि भक्तजनले चाबी लगाई प्लास्टिकले बेरेर भित्र कत्ति पनि हावा नछिर्ने बनाएका थिए ।

बाबाले आफू ९ दिनपछि अर्थात वैशाख ३ गते बिहान ९ बजेर ३५ मिनेट जाँदा समाधिबाट बाहिर निस्कने भन्दै भक्तजनलाई सोही समयमा आएर बाकस खोल्न भनेका छन् ।

उनी समाधि बस्दा पत्रकारहरुले प्रत्यक्ष निगरानी गरेका थिए । अरु भक्तजनलाई प्रोजेक्टरमार्फत देखाइएको थियो ।

हजारौं भक्तजन र चिकित्सकहरु समेतले आश्चर्यपूर्वक समाधि प्रक्रिया अवलोकन गरेका थिए । योग र साधनाका कारण अक्सिजनबिना पनि बाँच्न सकिने सिद्धबाबाले पत्रकारहरुलाई प्रतिक्रिया दिए ।

डा. बुद्धिबहादुर थापा भने अक्सिजनबिना बाँच्न सम्भव हुने कुरा विज्ञानले नस्वीकार्ने तर त्यस्तो भए चमत्कार हुने बताए । बाबा समाधिमा लीन भएको बाकस एक फिट माटो र बालुवाले पुरिएको छ ।

बाबाले त्यसभन्दा धेरै माटोले पुरे पनि हुने तर कम्ती गर्न नहुने बताएका थिए । योग र साधनाको माध्यमबाट अक्सिजनलाई सिधै मष्तिष्कमा राख्न सकिने र त्यसपछि पनि मानिस जीवित रहने उनको तर्क थियो ।

समाधिमा लीन हुँदा मुटुको धडकन र रक्तसञ्चार पनि रोकिने हुँदा अक्सिजन नचाहिने बाबाले बताएका थिए । ‘तर अहिले जति रक्तचाप छ, र जस्तो मेरो स्वास्थ्यको हालत छ, समाधिबाट निस्किएपछि पनि उस्तै हुनेछ,’ उनको दाबी थियो ।

बाबाले यस्तो समाधि यसअघि पनि पोखरामै र अन्त पनि लिइसकेको बताएका थिए । बाबाले अक्सिजनबिना समाधिबाट आफू अलौकिक यात्रामा जाने उनको भनाइ थियो ।

बाबा काठको बाकसमा समाधिमा लीन हुँदा त्यो बाकस उनका भक्तजनले नभई पत्रकारहरुले प्लास्टिकले बेरेका थिए । पत्रकारहरु र चिकित्सकहरुकै सामुन्ने आफूले समाधि लिने उनको रुचि अनुसारै भक्तजनले त्यस्तो व्यवस्था मिलाएका थिए ।

साभारःअन्नपूर्ण पोष्ट दैनिक

SHARE THIS

Author:

Facebook Comment