नयाँ वर्ष र भित्ताहरु

बहिनी रूँदै सोध्छे, 
किन बाबाले मुखियाबाले जस्तै गरी, 
नयाँ बर्षमा नयाँ नाना किनिदिनुहुन्न ? 
भाइको च्यातिएको भोटो फेरिदिनुहुन्न ? 
आमाको आङको चोली फेरिदिनुहुन्न ?
र फेर्नुहुन्न आफ्नो च्यातिएको शिरको टोपी ? 
किन फेर्नुहुन्छ भित्ताको क्यालेण्डर मात्र ?
भन्नुस् न दिदी ।।
बहिनी मलाई 
थमथमाउँदै, कोट्याउँदै र हल्लाउँदै मेरो कल्पनाको संसारदेखि पर पुर्‍याउँछे, 
र भन्छे, 
किन नयाँ बर्षमा बाबाले मुखियाबाले जस्तै गरी, 
मिठाईहरु ल्याउनुहुन्न ? 
र हामीलाई घुमाउन परसम्म लानुहुन्न ? 
भन्नुस् न दिदी ।।
किन बाबा अगेनीको छेउमा बसेर टोलाइरहनुहुन्छ ? 
र झस्कनुहुन्छ मुखियाबाको कुरा गर्नसाथ, 
भित्ताको क्यालेण्डर हेर्दै, 
हातका औंला भाँचिरहेको देख्छु, 
कतै मलाई नयाँ नाना किनीदिने दिन गन्दै त हुनुहुन्न ? 
किताब, कापी र खेलौना किनिदिने सोच गर्नुभाको त होइन ?
भन्नुस् न दिदी ।।
पहाडले थिचेजस्तै गरी मैले टाउको हल्लाएँ, 
ऊ फेरी रुन्चे स्वरमा भन्न थाली, 
नयाँ वर्ष मुखियाबाको घरमा र हाम्रो घरको भित्तालाई मात्र आउँछ ? 
भन्नुस् न दिदी ।।




सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ

प्रकाशन मितिः २०७३ वैशाख ०२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment