गोकुल वानियाँ, पोखरा १८ चैत्र ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास बैशाख १ गते हुने भएको छ । पर्यटनमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेतको उपस्थितिमा विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको विहिवार पोखरामा वसेको बैंठकले शिलान्यासको मिति तय गरेको हो ।
शिलान्यास कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन समितिका संयोजक एबं संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा मुल समिति गठन गरिएको छ । समितिमा चार नम्बर प्रदेशका सबै जिल्ला र क्षेत्रका सांसद, राजनितिक दलका प्रमुख, सरकारी निकायका प्रमुख, क्षेत्रीय कार्यालयका प्रमुख, निजी क्षेत्रका संघसंस्थाका प्रमुखलाई सदस्य तोकिएको छ ।
शिलान्यासमा प्रधानमन्त्री सहित सबै राजनीतिक पार्टीका प्रमुख एबं चिनिया सरकारी प्रतिनिधिको पनि सहभागिता रहने गरी व्यवस्था मिलाइने संयोजक अधिकारीले बताए । विमानस्थल शिलान्यासलाई पोखरामा मात्रै सिमित नगरी चारनम्बर प्रदेश स्तरीय बनाउने बैंठकले निर्णय गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल शिलान्यासमा सबै पार्टी, क्षेत्र, संघसंस्था र व्यक्तिहरुले अपनत्व महशुस गर्न सक्ने गरी जनपरिचालन गर्ने निर्णय बैंठकले गरेको छ । बैंठकले विमानस्थल शिलान्यास बैंशाख १ गते गर्ने, कार्यक्रमलाई भव्य बनाउने तथा यसअघि कायम पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल नामबाट क्षेत्रीय शव्द हटाउने समेत निर्णय गरेको छ ।
बैंठकमा पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द प्रसाद पोखरेलले विमानस्थल शिलान्यस तोकिएकै समयमा हुने र निर्माण कार्यपनि तिव्र गतिमा अघि बढ्ने बताउनुभयो । स्थानियको सहयोग भए कुनैपनि कारणले निर्माण कार्यमा रोकावट नआउने उहाँले आश्वासन दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले प्राविधिक रुपमा देखिएका समस्या सुरुमै हल नगरे निर्माणपछि पनि सञ्चालनमा वाधा पर्न सक्ने तर्फ समेत गराउनुभयो । शिलान्यास पछिको निर्माण कार्यको लागि विना अवरोध निर्माण समाग्री दिने र काम गर्न दिने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका उप महानिर्देशक महेन्द्र सिंह रावलले विमानस्थल निर्माणको लागि केहि चुनौतिहरु वाँकीनै रहेको बताउनुभयो । मुख्य डिजाईनको काम वाँकीनै रहेको, सञ्चालन प्रक्रियासँगै जनशक्ति व्यवस्थापनको लागि पनि अहिलेनै सोच्नुपर्ने उहाँले बताउनुभयो ।
आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । आसपासमा रहेका ३४ घर टहरा अधिग्रहण गर्नुपर्नेमा ५ वटा मात्रै वाँकी छन् । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।
बैंठकमा वोल्ने कास्कीका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाहरु काम सुरु हुने र विचमै रोकिने गरेका उदाहरण दिदै पोखरा विमानस्थलको निर्माण कार्य कुनैपनि हालतमा रोक्ने नहुनेमा जोड दिए । उनीहरुले ताकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने बताए ।
प्रभावित क्षेत्रका वासिन्दाले भने विमानस्थलको लागि अधिग्रहण गरिएको घर जग्गाको मुआव्जा वितरण सन्तोसजनक नभएको गुनासो गरेका थिए । बैंठकमा नयाँ विमानस्थल वनेपछि हालको विमानस्थलको सहित व्यवस्थापन हुनुपर्ने पनि आवाज उठेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चैत्र ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएपछि पोखरामा अन्तरराष्ट्रिय विमानस्थल शिलान्यासको चरणमा पुगेको हो ।
पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग ०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । सम्झौता नेपाल सरकारले सोही वर्षको कात्तिक १० गते स्वीकृत गरेको थियो ।
पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।