विशेषज्ञ बिनाको मेडिकल कलेज

प्रा.डा. शम्भु प्रसाद पटेल

चिकित्सा क्षेत्रमा अचेल ‘खडेवावा’ भन्ने शब्दको व्यापक चर्चा भएको पाइन्छ जुन फर्जी, नक्कली र मुकुण्डोधारी शिक्षकको पर्यायवाची बनेको छ । डा. गोविन्द के.सी.को मेडिकल आन्दोलन पश्चात् उत्पन्न खडेवावा बारे बहस चलिरहँदा देशले उनीहरु बारे विस्तृत विश्लेषण खोजेको छ । उपाधि एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्ने शिक्षकलाई अलराउण्डर वा खडेवावाको दर्जा दिने हो भने अपवाद बाहेक धेरै कलेजहरुमा अलराउण्डर वा खडेवावाहरुको बिगबिगी छ । प्रायजसो मेडिकल कलेजहरुमा विशेषज्ञहरुको अभाव रहेको छ । यहाँ वायोस्टाटिस्टिक्स विषयका खडेवावाहरु बारे मात्र चर्चा गरिएको छ । वायोस्टाटिस्टिक्स एक आधारभूत विज्ञान हो जुन चिकित्साशास्त्रको एम.बि.बि.एस., बि.डि.एस., बि. फार्मेसी, बि.पि.एच., बि.एस्सी नर्सिङ्ग, एम.पि.एच., एम.एन. आदि कार्यक्रममा अनिवार्य विषयको रुपमा पठनपाठन गराइन्छ । चिकित्साशास्त्रमा गरिने अनुसन्धान र सो विषयको विकास विस्तारमा वायोस्टाटिस्टिक्सका महत्वपूर्ण भूमिका रहेको छ ।

आधुनिक चिकित्साशास्त्र गफमा आधारित विज्ञान होइन बरु ज्ञान, धारणा, सिप, अभ्यास र आचारसंहिताले भरिपूर्ण तथ्यमा आधारित विज्ञान हो । प्रत्येक दिन नविनतम ज्ञान र प्रविधिको विकास भइरहेको परिवेशमा उच्च शिक्षाको अन्य क्षेत्रमा जस्तै चिकित्साशास्त्रमा पनि विशेषज्ञ जनशक्तिको व्यवस्था भएको पाइन्छ । शिक्षकको नियुक्ति र पदोन्नति खुल्ला विज्ञापन तथा उसको योग्यता, विशिष्टता, ज्येष्ठता, सृजनशीलताको आधारमा हुने गर्दछ । वायोस्टाटिस्टिक्स प्राध्यापन गर्नको लागि विश्वविद्यालयले तथ्यांकशास्त्र लिएर कम्तिमा स्नातकोत्तर उपाधि उत्तीर्ण गरेको हुनुपर्ने प्रष्ट मापदण्ड निर्धारित गरी दरबन्दी समेत किटान गरेको छ तर यो मापदण्ड कागजमा मात्र सीमित रहेको छ । अपवाद बाहेक अधिकांश सम्बन्धन प्राप्त मेडिकल कलेजहरुमा कमर्श वा गणितका शिक्षकहरु वायोस्टाटिस्टिक्स प्राध्यापन गरिरहेको पाइन्छ । हामी कहाँ अझै पनि नियुक्ति र पदोन्नति योग्यताको आधारमा होइन बरु राजनीतिक भागबण्डा, भौतिक हस्तक्षेप, चाकडी–चापलुसी र जातपातको आधारमा भएको पाइन्छ । सरकारले उच्च शिक्षामा स्पष्ट नीति निर्माण र अवलम्बन गर्न नसक्दा र सरोकारवालाहरु जागरुक नहुँदा खडेवावा संस्कृति फस्टाएको छ ।

 फलस्वरुप एकातिर वायोस्टाटिस्टिक्सको विषयगत अस्मिता र पहिचान अपहरित भएको छ, प्राज्ञिक प्राध्यापकहरुको भविष्य धरापमा परेको छ भने अर्कोतिर विषयगत शिक्षकको अभावमा चिकित्साशास्त्रका विद्यार्थीहरु शैक्षिक कुपोषणका सिकार बनेका छन् । अचेल चिकित्सकहरुको आचारण, योग्यता, कार्य सम्पादन क्षमता लगायतका बारेमा गम्भीर प्रश्न उठ्ने गरेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र संस्था माथि गाली गलौज, भौतिक आक्रमण दिन प्रति दिन बढ्दो छ । मेडिकल काउन्सिलद्वारा लिइने योग्यता परीक्षामा चिकित्सकहरु पटक पटक अनुत्तीर्ण भएको खबर सुनिन्छ । स्वदेशी चिकित्सकहरुको साख, कैरियर र भरोसामाथि आशंका उठेको छ । शायद यसै कारणले होला, अलिकति हुने खानेहरु स्वदेशमा उपचार गराउन चाहदैनन्, विदेशमा उपचार गराउन मन पराउँछन् । तर सर्वसाधारण जनताहरु पीडित छन् ।

यस सन्दर्भमा वायोस्टाटिस्टिक्सको विषयगत अस्मिता तथा पहिचान र चिकित्सकहरुको भविष्यसित सम्बन्धित प्रश्नहरुको खोजी गर्नु आवश्यक छ । आपूmले नपढेको वा उपाधी÷विशेषता हासिल नगरेको विषयमा प्राध्यापन गर्नु अन्य विषयको अस्मिता र पहिचानको अपहरण होइन र ? उपाधि÷विशेषता एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्नु भनेको खसी झुण्डयाएर कुकुरको मासु बिक्री गर्नु जतिकै ठगी कार्य होइन र ? एउटा अन्धोले अर्को अन्धोलाई डो¥यायो भने के नतिजा आउँछ ? एउटा दन्त चिकित्सकले नेत्र चिकित्सकले गर्ने आँखाको शल्यक्रिया ग¥यो भने के हुन्छ ?। उत्तर स्वतः आउँछ– दुर्घटना हुन्छ । स्मरण रहोस् त्रिभुवन विश्वविद्यालयलले विगत चार दशकदेखि यस विषयको स्नातकोत्तर तह र विद्यावारिधी तहको दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । स्वदेशमैं वायोस्टाटिस्टिक्स विषयको विशेषज्ञ जनशक्ति हुँदाहुँदै सो विषयमा एमबिएस, एमबिए वा गणितका शिक्षकबाट वायोस्टाटिस्टिक्स विषयको प्राध्यापन हुनु मुख हुँदाहुँदै नाकबाट दूध खानु जस्तै मुढता भएन र ?

मुलुकलाई विषयगत शिक्षक र योग्य चिकित्सकको ठूलो खाँचो छ । एक्काइसौं शताब्दीमा विश्व प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष चिकित्सक उत्पादन गर्नको लागि प्रत्येक विषयको प्राध्यापन सम्बन्धित विषयकै विशेषज्ञबाट हुनु आवश्यक छ, पुरातन शिक्षा प्रणालीका अवशेषहरुलाई त्याग्नु आवश्यक छ र सुशासन र कानून विपरीतका क्रियाकलापलाई निरुत्साहित गर्नु आवश्यक छ । मेडिकल क्षेत्रमा देखा परेको खडेवावा र अलराउण्डर संस्कृतिलाई निरुत्साहित गरिएन भने यसले निश्चय नै चिकित्साशास्त्र को सम्पूर्ण गरिमालाई ध्वस्त पार्छ ।


इमेल ःsagar_peacezone2008@yahoo.com
लेखक त्रिभुवन विश्वविद्यालय, ठाकुर राम बहुमुखी क्याम्पसमा तथ्यांकशास्त्रका प्राध्यापक हुनुहुन्छ ।


SHARE THIS

Author:

Facebook Comment