पुष १ गते १७ साल र ७२ साल

–स्वयम्भुनाथ कार्की

लाग्छ पुष १ गते राष्ट्रप्रमुखको कारणले ऐतिहासिक हुने दिन हो । वि.सं. २०१७ को पौष १ गते राष्ट्रप्रमुखको हैसियतमा राजा महेन्द्रले साहस देखाएको दिन थियो । भर्खरै जस्तो आम चुनाव मार्फत प्रचण्ड बहुमतले बनेको सरकार निलम्वन मात्र गरेनन सरकारका सदस्यहरुलाई नजरवन्द पनि गरे ।

यो घटनाको बारेमा सबैको आफ्नो आफ्नो धारणा हुनसक्छ । तर यो तथ्य कसैले पनि अस्विकार गर्न सक्दैन कि उनी जीवित रहुन्जेल उनको यो कदम अडिग चट्टानको रुपमा रह्यो । ११ बर्ष १ महिना १६ दिनको उनले र थप १८ बर्ष १ महिना १७ दिन उनका छोरा राजा वीरेन्द्रले मुलुक डोर्‍याए ।

यसको ५५ बर्ष पछि २०७२को पुष १ गते नेपालको राष्ट्रपतिको हैसियतमा राष्ट्रप्रमुख भएकी विद्या भण्डारीको जनकपुर भ्रमण संसार हल्लाउने रह्यो । तर यसले राजा महेन्द्रको जस्तो राष्ट्रप्रमुख बलियो भएको सन्देश दिएन । बरु नेपालको राष्ट्रप्रमुख ‘एकल महिला’ भएर अपमानित भएको हल्ला संसारभरी चल्यो ।

यो घटनाले शान्त हुँदै गएको तराई पुषको सिरेटोमा पनि फेरी तात्न लागेको छ । नेपालको व्यवस्थाको कमजोरी संसारभर उजागर भएको छ । राष्ट्रपतिले त ‘विचरी’ भनेर सहानुभूति बटुलेकी छन भने जनताले समाप्त हुन लागेको त्रास थपिने आशंकामा थुरथुरी हुनु परेको छ ।

कुरो कसैको मान सम्मानको हैन मुलुकको मान सम्मानको हो । जानकी मन्दिरका महन्त मन्दिरमा कुनै भेदभाव नभएको कुरा भनेको भन्यै छन । यत्रा बर्षमा लाखौ एकल महिलले जनकपुर उत्सवमा भाग लिएका छन । दैनिक सयौ दर्शनार्थीमा कयौ एकल महिला हुने गर्दछन ।

यो भन्दा पहिले कहिल्यै कतै जनकपुरको जानकी मन्दिरमा उनिहरुलाई रोकिएको कुरा सुनिएन । तै पनि घटना त भयो , तर के यो घटनालाई जनकपुरको गौरवशाली परम्परा हियाउन प्रयोग गर्न मिल्छ ?

त्यस्तो दुर्वाच्य बोल्ने कोही एक दुई हुनसक्छन , वा कुनै समुह पनि हुनसक्छ । तर यसको सजाय नेपालले आफ्नो गौरव मानेको जानकी मन्दिरले बोक्नु पर्ने हो ?

जानकी मन्दिरका कोही जिम्मेवार संलग्न नभएको यो शुद्ध राजनैतिक प्रोपागाण्डामा नेपालकै अमुल्य धरोहरको मान मर्दन गर्दा प्रश्न उठछ राष्ट्रपतिको अपमान भयो की उनको अपमान भएको आरोपमा जानकी मन्दिरको अपमान गरियो ।

राष्ट्रपतिको व्यक्तिगत कुरा र जीवनलाई लक्ष गरेर यी भन्दा कयौ ज्यादा अपमानजनक हल्लाहरु आउने गरेका छन । जसको उल्लेख पनि गर्न मिल्दैन ।

उनका श्रीमान संगै मृत्युबरण गर्ने अर्का नेताकी श्रीमती भने अवहेलित भएको र उनले भने त्यो अवस्थाको लाभ पाएको कुराहरु सुनिने गर्दछन । भन्नेहरु त यहासम्म भन्छन की व्यक्तिको रुपमा उनिसंग भएको एकमात्र हतियार, क्षमता वा योग्यता नै सहानभूति हो ।

सहानुभूतिको यो अस्त्र प्रयोगमा उनी सिपालु छिन । यस हल्लालाई विश्वास गर्नु उचित हुँदैन । तर संयोग भने परेको नै छ , मदन भण्डरीकी पत्नी आज नेपालको सर्वोच्च पदमा र जीवराजकी पत्नी गुमनामीमा छन ।

राष्ट्रपति माथि पेट्रोल बम प्रहार भएको जनकपुरमा राष्ट्रप्रमुख माथि प्रहार भएको यो पहिलो घटना हैन । राजा महेन्द्रको भ्रमणमा उनको गाडीमा पनि बम प्रहार भएको थियो ।

तर उनले यो घटनालाई जनकपुरको गौरव माथि प्रहार गर्ने हतियार बनाएनन । यो पेट्रोल बम प्रहारलाई भन जनकपुर मात्र हैन सम्पुर्ण मिथिला संस्कृति माथि धावा बोल्ने अवसरको रुपमा प्रयोग हुनु कुनै पनि देशप्रेमी नेपालीको निमित्त दुखको कुरा हो ।

नेपालका भएका हरेक संस्कृति , परंपराहरु नेपालका सम्पदा हुन । चाहे त्यो साकेला होस वा विवाह पञ्चमी । चाहे त्यो लाखे होस वा देउडा सबै नेपालीका सम्पत्ती हुन । नेपालीले गौरव गर्ने धरोहर हुन ।

हो जसले वा जुन समुहले उनलाई एकल महिला भनेर प्रताडित गर्ने प्रयत्न गरेको छ त्यसलाई मुलुकको महिला मैत्री संविधान अनुसार कारवाही गर्नु पर्दछ । कुनै नेपाली चाहे त्यो जुन पनि समुदायको होस त्यो यस कारवाहीको विपक्षमा हुँदैन । तर यसलाई हतियार बनाएर नेपालीको साझा सम्पत्ती मिथिलाको गौरव माथि प्रहार गरिन्छ भने सोच्नै पर्दछ राष्ट्रपति ठूलो की राष्ट्र टूलो ।

विराटनगर १
२०७२।९।६
साभारः गोरखा एक्सप्रेस

SHARE THIS

Author:

Facebook Comment