
सरकार ! म स्वाभीमानी भई सकेको छु । यो तीन चार महिनामा धेरै कुरा सिकेको छु । त्यसैले अब कुनै वस्तु मेरो सहमतिविना आयात नगर्नु होला । मैले किन्न सक्छु या सक्दिन, कुनै बेला कसैले गोलमेच सम्मेलन भनेको थियो राजनीति शुद्धको लागि त्यही पो एकचोटि पूनः गर्ने हो कि...? होईन सधैं देशको बारेमा तिमीहरुकै मनमानी चल्ने हो भने, देशको चिन्ता तिमीहरुलाई मात्र भएको भए बिन्ति हाम्रो लागि नाकाबन्दी नखोल्नु होला । तिमीहरुले नै भने जस्तैको अघोषित नाकाबन्दी र उनीहरुले भने जस्तै नगरेको नाकाबन्दीमा पनि यत्रो दिन देश चलेकै छ । बजारमा अभावको निहुँमा दुईचार सय बढ्दैमा तिमीहरुलाई केही फरक पर्दैन र हामीलाई बोल्ने ईच्छा नभएको कुरा एउटै हो भने बिन्ति नाकाबन्दी नखोल्नु होला । र अझै हुन्छ भने विकाससँग तिमीहरुकै कुरा जोडिएको छ भने वार्तामा समय खर्चिनु भन्दा अरु अरु नै विषयमा तत्पर भई देशको समस्यालाई सुल्झाउने पो कि...?
हुन त मैले अर्थविदहरुको मुखबाट सुनेको थिएँ कुनै बेला, ५ किलोमिटर बाटो नेपालको भूभागमा बनाउनु भन्दा एउटा सानो प्लेन किन्नु फाईदा छ भनेर अब त्यही अनुसार पो देशलाई चलाउने हो कि...? हामी महंगो खाने र महंगो तिर्न सक्ने नेपाली भनेर विगतका दिनहरुले देखाई सक्यो भने अब त्यसको लागि हवाई मार्ग पो अपानाउने हो ? नेपालका घुम्तीहरु प्रयोग गर्दा एक त दूर्घटनाको डर भने अर्को तोडफोडको साथसाथै ढिलाई तथा मिसावटको प्रवल सम्भावना ज्यादा हुने अतः यस्ता असहज प्रावधानहरुलाई सहज तुल्याउन भए पनि बिन्ति नाकाबन्दी हाम्रो लागि नखोल्नु होला । र अर्को कुरा देशमा धेरै बेरोजगारहरु छन भने अहिलेको अभावमा धेरैले रोजगारी पाएका छन । शायद त्यो कसरी भन्ने मनमा लागेको भए कालोबजारीमा लगभग धेरै जसो बेरोजगार नै लागेका छन भने पैसा हुनेले लगानी पनि अहिले बेरोजगारहरुमा गर्ने गरेको देख्न थालेको छु । यसकारणले अहिले अघोषित नाकाबन्दी जुन सरकारी भाषा हो त्यो कसैले नहटाउन म आग्रह गर्छु भने खुल्ला सिमानालाई पूर्णरुपमा बन्द होस् भन्ने कामना पनि गर्छु ता कि हाम्रा छोरी चेलीहरु सहजै सिमा पारि पैठारी निकास नहोस् । हुन त नेपालभित्रको आन्तरिक कलहले धेरै चेलीहरु सिमा पारि पुगे होला अब त्यो बाटाहरु, खोल्साहरु पूर्णरुपमा बन्द गर्न नाकाबन्दी सदाको लािग आवश्यक छ नै ।
देशका भ्रष्टहरुसँग समय बर्बाद पार्नु भन्दा अझ भनौं भ्रष्ट सोच जगाउनु भन्दा नेपाल अभावमै अगाडि हिडेको राम्रो हो । र इतिहासका प्रसंगहरु जुन सदाका लागि नष्ट भएका छन हामी त्यहाँसम्म ढिला नै पुगेर आफ्ना विकास संस्कार नष्ट हुनेमा गर्व गर्न सकौं भन्नुको अर्थ विकासक्रम जुन जीवको अथवा वस्तु या सभ्यता भयो भन्ने हामी सुन्छौं या पढ्छौं त्यसको नष्ट तथा लोप पनि त्यही तीब्र गतिमा भएको पाएका छौं । शायद कहिंकतै लेखेकै वा देखेकै होला “तीब्र गति जीवन क्षति” । यो एउटा हाँसोठट्टा लाग्ला तर यथार्थ जुध्न सक्छ विचार गरौं ।
अब रह्यो सरकारको कुरा कुन चाहिं सिन्को भाँचेरको छ त ? देश आक्रान्त भई जलेर मर्नेहरु धेरै भए तैपनि मरोस भन्ने कामना बाहेक अरु केहि गरेका छैनन् । कालो बजारी सरकारबाट चलेको प्रष्ट हुँदा नि त्यसको नियन्त्रण र समाधान शुन्य हुनु साथसाथै हानथापको रणनीति बाहेक अरु केहीलाई बढावा नदिएको र विकास तथा पुनर्निमाणमा कुनै पहल नहुनुले पनि अबका दिनमा सरकारको कुनै औचित्य छैन भने आन्दोलन भनी न्यायको कुराले अन्याय साथसाथै शोषण जन्माउनुले पनि सरकार र आन्दोलनका पक्षधरहरु एउटै सिक्काका दुई पाटो मात्र हुन अरु केही होईन । यदि तिनीहरु दुबैले जनताकै कष्टलाई बढी महत्व दिन्छ भने ती दुई हुनु र नहुनुमा हामीलाई फरक पर्दैनन् । र अहिलेको आजको अवस्थाहरुमा जीवनहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराहरु तिमीहरुले दिने आश्वासन भन्दा माथिल्लो तरीकाले जानि सकेका छौं । त्यसैले झुठो अब बोल्न छोडि दिऔं । र यो नठान्नु कि हामीलाई तिमीहरुको बारेमा केहि थाहा छैन, हामीले केहि भन्दैनन यो पनि नसोच्नु आखिरमा कहिले सम्म चल्ने हो Divide & Rule ?
र अन्तमा, हामी चूप छौं त्यसको अर्थ सहन शक्ति ज्यादा नेपालीमा हुनु र कतै कहिंबाट भए पनि तिमीहरु सप्रिन्छन कि भन्नु नै हो । त्यसलाई कमजोरी ठान्नु शायद इतिहासमा धेरै कुरा छन होला जसको वर्णन र विश्लेषण गर्नु आवश्यक छैन । साथसाथै छेपारोको घर बनाउने नीति र नेपालको समृद्धि एउटै बनाउने कार्य त्यागौं । हामीलाई यही पूर्व मेची देखि पश्चिम महाकालीसम्म फैलिएर यही शिक्षित दिक्षित भई यहीको माटोमा मर्नु छ भने जीवनलाई पूनः यही जन्म भन्नको लागि यही माटोको लागि केही गर्नुछ । त्यसैले बिन्ति देश झुक्ने झुकाउने नाकाबन्दी नखोल्नु होला । हामीलाई तिमीहरुकै भाषाकै अघोषित नाकाबन्दी मञ्जर छ तर सिमा पूर्णरुपले बन्द गर्ने नीति एउटा भए पनि दिनु होला । हुन त अहिलेको सरकार बलियो नै छ, होईन र.................. ?
प्रशान्त महासागरको फेसबुक पोष्टबाट साभार