–मिन बहादुर थापाअहिलेको अवस्थामा देश र नेपाली जनताले जुन पीडा भोग्नु परिरहेको छ त्यसको परैबाट भएपनि हामी विदेशमा बस्ने जोकोही नेपालीलाई पीडाको अनुभव हुनु स्वाभाविक हो । छिमेकी राष्ट्र भारतले जुन हेपाहा र मिचाहा प्रवृत्ति गरिरहेको छ कुनै पनि स्वतन्त्र राष्ट्रका लागि सुहाउने कुरो हुँदैन । यो भारत को परम्परा अहिलेको होइन विगतमा पनि पटक पटक नेपाल र नेपालीले यस्ता अस्वाभाविक, अशोभनीय हर्कतको अनुभव गरेकै हुन् ।
तर यसपटकको हर्कत पहिलेको भन्दा धेरै तल्लो स्तरको देखिन आएको छ । कारण भारतलाई यो अवस्थामा ल्याउनकालागि सहयोग गर्ने गराउने हाम्रै गणतान्त्रिक धर्म निरपेक्षवादी राजनैतिक दलका नेताहरु हुन् जो अहिले लोकतन्त्रको उपभोग र आनन्द लिरहेका छन् । जुन बेला राजा र हिन्दु राष्ट्र फाल्नकालागि अहिलेका ठूला–बडा नेताहरुले भारतका नेताहरुसँग आफ्नो आन्द्रा भुँडी छताछुल्ल पारे, भारतले जे भन्यो हो मा हो मिलाउदै गए परिणाम स्वरुप आज देश यो अवस्था मा आइ पुग्यो । अब हाम्रो मुलुकको अन्तरिक मामलामा भारतले यो गर त्यो गर भन्न थाल्यो ।
विगतको इतिहास हेर्दा राजाहरुले नेपाली जनतासँग झुकेर देशको शीर उच्चा राखेको हामीले अनुभव गरेका छौं । ०१७ देखि ०६३ साल सम्मको नेपालको राजनैतिक परिवर्तनलाई मनन् गरे पुग्छ । प्रत्येक नेपालको राजनैतिक आन्दोलनमा भारतसंग झुक्नु भन्दा राजाहरुले नेपाली जनताले चाहे अनुसारको राजनैतिक राज्य व्यवस्था दिदै गए । अन्तमा भारतसँग झुक्नुको सट्टा आफ्नै देश र नेपाली जनताकालागि आफ्नो गौरवयमय इतिहास बोकेको राजसंस्था नै त्यागे जो हाम्रो अगाडी नजिर छ ।
यसैमा अहिले का हाम्रा नेताहरुले आत्मा सन्तुष्टी लिए रमाए । यसबाट भोलि मुलुकमा के असर हुन्छ सोचेनन् बरु अझ राजा र हिन्दुबादीहरुलाई कम्जोर बनाउन देशमा क्षेत्रीय र जातीय राज्य बाँड्दै हिंडे । आज स्वाभिमानी नेपालीले भारतको हर्कतको विरोध नगरौं, नैतिकताले दिंदैन बिरोध गरौं देशको समस्याको समाधान हुँदैन यस्तो जटिल अवस्था छ हाम्रो देश को ।तसर्थ म संविधान बनाउने तीन दलका नेताहरुसँग बिनम्र अनुरोध गर्दै यो राजनैतिक सल्लाह दिन चाहन्छु तपाईहरु विदेशसँग नझुक्नुस् नेपाली जनतासँग झुक्नुस् हिजो राजा पनि झुकेका थिए लाज हुँदैन । विश्वमा राष्ट्रियताकालागि भागेको राजालाई पनि राखिएको इतिहास छ त्यसलाई पनि मनन् गर्नुस् त्यो शक्तिलाई पनि राष्ट्रकालागि प्रयोग गर्नुस् त्यसमा आफु सानो बनिदैन । बरु नेपालीले कुन राजनैतिक प्रणाली चाहन्छन् जनमतसंग्रहमा जाने साहस गर्नुस् जो राजाले पनि गरेका थिए । आज नेपाल र नेपालीको शिर ठाडो पार्ने भारत संग नझुक्ने हो भने यहि नै उतम विकल्प होला । अन्याथा तपाईहरु भौडीमा जाक्किईसक्नु भएको छ, अरु जाकिने प्रबल सम्भावना छ । गणतन्त्र र धर्म निरेपक्षले मात्रै स्वाभिमानी हुँदैन आत्मा शुद्ध चाहिन्छ ।
प्रकाशन मितिः२०७२ असोज २१ गते बिहीवार
Nepalese Rupee Exchange Rate