“धर्म निरपेक्ष देश, दशैं खर्च र भ्रष्टाचार”

– निशा अर्याल
सारा बवाल मच्चिएको छ “धर्म निरपेक्षता” को कुरालाई लिएर । नेपालका बहुसंख्यक जनता सुशील कोईरालासँग प्रश्न गर्छन् र “सेकुलर” हुने दावा ठोक्ने मीडिया निर्मम तरिकाबाट कोईरालाको पछि लागि परेको छ । बिना यो सोचेर कि वास्तवमा “धर्म निरपेक्षता” को अर्थ के ? र सेकुलर हुनुको अर्थ के ? यसलाई बुझ्नु अति जरूरी छ अनी मात्र यसमा केही भन्न सकिन्छ । यदि हामीले धर्म “धर्म निरपेक्ष” शब्दको सन्धी विच्छेद गर्यौं भने “धर्मनिरपेक्ष”  = धर्म+ निरपेक्ष “निरपेक्ष” व्यक्ति आखिर हामी “धर्म निरपेक्ष” कसरी हुन सक्छौं ? अर्थात त्यो व्यक्ति “अधर्मी” हुन्छ । “हामी त “धर्म सापेक्ष” व्यक्ति आखिर धर्म निरपेक्ष कसरी हुन सक्छौं ? ...... धर्म शाश्वत सत्य हो जुन कहिल्यै असत्य हुन सक्दैन । जुन सृष्टिको आरम्भबाट चलिआएको छ । जबसम्म सृष्टि छ धर्म सनातन छ । धर्म त इश्वर प्रकृतिद्वारा प्रदत्त हो ।

एकतिर धर्मनिरपेक्षताको कुरा छ अर्को तिर दशैं खर्च अवकाश प्राप्त र वहालवाला कर्मचारी, प्रहरी, सैनिक चाहे त्यो मुसलमान होस, चाहे इसाइ होस्, चाहे त्यो अन्य कुनै धर्मको होस सबैले लिन्छन् र उपभोग गर्छन् । अनि धर्मको नाममा ब्रह्मलुट पनि हुन्छ । सरकारको यो कस्तो धर्म निरपेक्षता ?

नमूना हेरौं कोईराला सरकारको ? सुशील कोइराला सरकारले जाँदा जाँदै सत्तारूढ दलका जिल्ला स्तरीय प्रभावशाली नेता, पूर्व र वर्तमान सांसद, कार्यकर्ता र वरिष्ठ नेताका आफन्तलांई “दशैं खर्च”का नाममा ठूलो रकम बाँड्न थाले रे ।

सरकारले आर्थिक सहायता वितरणसम्बन्धी कानुन, नियमावली, निर्देशिकालगायतको उल्लंघन गर्दै दशैंको पूर्वसन्ध्यामा रकम बाँड्न थालेको छ रे । गम्भीर रोग लागेको व्यक्तिलाई स्वदेशी या विदेशी अस्पतालमा उपचार गर्दा लागेको खर्चमात्र सरकारले दिन सक्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्था बाहिर गएर सरकारले हचुवामा आर्थिक सहायता वितरण गर्न पाउँदैन ।

सरकारले सत्तारूढ एमाले, काँग्रेका प्रभावशाली नेता र मन्त्रीको सिफारिसमा पूर्व र वर्तमान साँसद, प्रभावशाली कार्यकर्ता र आफन्तलांई रकम वितरण सुरू गरेको छ रे ।

सरकारले मन्त्रिपरिषदका पुराना निर्णयको माइन्यूटमा छिराएर करौंडो रूपैयाँभन्दा बढी आर्थिक सहायता बाँडीसकेको सुनिन्छ । विहिवार बस्ने बैठकको निर्णय पारेर थप सयौंलाई एक देखि १० लाख सम्मका दरले रकम बाडिंदै छ ।

राष्ट्रपति डा. रामवरण यादवले सहमतिमा नयाँ प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेपछि कामचलाऊ बनेको सरकारले राज्यको ढुकुटीमा यस्तो खेलवाड गर्‍यो । यो सरासर अख्तियारको दुरूपयोग हो कि होईन ?

सरकारले गैरकानुनी रूपमा रकम बाडिरहँदा मुलुकले भारतबाट अघोषित नाकाबन्दी खेपिरहेको छ । त्यस्तै भूकम्पपीडित जनताको पुन:स्थापना तथा क्षतिग्रस्त संरचना पुनर्निमाणमा कुनै उल्लेख्य प्रगति हुन सकेको छैन । म यहाँ इजरायलबाट पनि अनुभूत गरिरहेकी छु ।

प्रधानमन्त्री निवास बालुवाटार श्रोत अनुसार मन्त्रालयले विभिन्न जिल्लाका १ सय ७४ व्यक्तिलाई ४ करोड रूपैयाँ भन्दा बढी आर्थिक सहायता वितरण गर्न मन्त्रीपरिषदमा सिफारिश गरेका छन् रे । सिफारिश भएका मध्ये एक करोड रूपैयाँ वितरण भइसकेको स्रोतले उल्लेख गरेको छ  ।

अनैतिक तरिकाहरूको प्रयोगबाट अरूबाट केही फायदा प्राप्त गर्नु भ्रष्टाचार हो । देश र व्यक्तिको विकासमा यो अवरोधका एउटा ठूलो कारक बन्दै छ । हामी तपाईंले भ्रष्टाचारको कुराहरू लेखेर समाजलाई अवगत गराऊनु पर्छ । भ्रष्टाचार एउटा विष हो । यसले देश, सम्प्रदाय र समाजका मानिसको दिमागमा कुप्रभाव छरिरहेको छ । मात्र एउटा सानो इच्छा र अनुचित लाभकालागि सामान्य जनकों संशाधनहरूलाई बरबाद गर्छ भ्रष्टाचारले । कसैले आफ्नो शक्ति र पदलाई गैरकानुनी तरीकाबाट गलत प्रयोग गर्छ भने त्यो भ्रष्टाचारी हो । त्यो सरकारी संस्था होस या गैर सरकारी त्यो भ्रष्टाचारको दायरा भित्र पर्छ । किनभने यसले समाज र समुदायमा असमानता छर्छ र संगसंगै यसले राजनीतिक आर्थिक र सामाजिक रूपबाट राष्ट्रको प्रगति र विकासलाई अवरूद्ध गर्छ ।

प्रकाशन मितिः२०७२ असोज २८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment