नेपाल र भारतको जुहारी , प्रायोजित नहोस

–स्वयम्भुनाथ कार्की

संविधान घोषणाको समय आईपुग्नै लाग्दा मोदीले आफ्नो विषेश दुत नेपाल पठाएर नेपालीको देशभक्तिलाई भारतको विरोधमा केन्द्रित गरेका छन । एक देशभक्त नागरिक भएको
नाताले ठूल्दाई बन्न खोज्ने भारतको प्रवृतिले क्षोभ पैदा गर्नु स्वभाविक नै हो । तर के पुरा घटना देखाए जत्तिकै सरल हो त ? वा यो मोदीको तुरन्तको रिसको परिणाम हो ? यो अवस्थामा विवेक पुर्‍याउने सबैले यी प्रश्नको उत्तर खोज्न आवश्यक त छदैछ तर यी प्रश्न किन उठे भन्ने कुरा जान्न पनि त्यतिनै आवश्यक छ ।

          नेपालीको राष्ट्रप्रेमलाई आफ्नो विरुद्ध लक्षित गराए अभिष्ट पुरा गर्ने भारतको पुरानो रणनीति हो । कोशी लगायतका सम्झौतामा नेपालले जति गुमाउनु परेको थियो त्यो भन्दा ज्यादा ती सम्झौतामा भएका नेपालपक्षले पाउनु पर्ने न्यूनतम कुरा पनि दिन नपर्ने स्थिति पैदा गरेर भारतले फाइदा उठाएको छ । ती सम्झौताको विरोधमा नेपाली राष्ट्रप्रेम उठदा उसले आफुले दिनुपर्ने भनेर सही गरेको कुरा पनि दिन परेर भारतलाई फाइदा भएको छ । यो कुरा कोशी लगायत ती सम्झौताहरुको अध्ययन गरेमा प्रष्ट हुन्छ ।

          वर्तमान जुहारी नेपालले नयाँ संविधान जारी गर्दैछ भन्ने भारतले थाहा नै पाएन र अन्तमा आएर बखेडा गर्न खोज्यो भन्ने आधारमा शुरु भएको छ । यो नेपालमा फैलिएको भारतिय सुचना संकलनको जालोको क्षमता बुझेकाहरुले पत्याई हाल्न कठिन छ । माओवादी विद्रोहदेखि कै केही तथ्यहरु यहाँ दोहोर्‍याउने प्रयत्न गर्छु । यी तथ्यहरुको आधारमा हरेक देशभक्तले एक पटक विचार गर्नुपर्दछ ।

माओवादी विद्रोहमा धेरै भारतको मिचाहा प्रवृत्तिका विरोधका कुराहरु सतहमा आए । सुरुङ्ग युद्धको कुरादेखि भारतिय पञ्जाले नेपाल चिथोरेका पोष्टर पनि सामुन्ने आए । जव बाह्रबुँदे सम्झौता भयो त्यसमा भारतको निर्देशक भुमिका रह्यो । आफैले पनि आतंककारी घोषणा गरेको समुहका नेताहरु भारत कै जमिनमा र संरक्षणमा रहेको कुरा खुल्यो ।

मोदीका प्रशंसक संसारभरी रहेका छन तर मोदी केवल प्रचण्ड र माओवादीका प्रशंसक रहेका छन । उनले यो प्रशंसा नेपालमा मात्र गरेका छैनन आङ्खनै मुलुकमा र अन्तराष्ट्रिय मञ्चमा समेत गरेका छन । के उनको प्रचण्ड र माओवादी संगको मोह यति छिटो भंग भयो होला त ?

सोह्र बुँदे समझदारी गरेर सविधान मस्यौदाको काम अगाडी बढाई सकेपछि प्रचण्ड लगायत नेपालका केही प्रमुख नेताहरु मोदीको निम्तोमा भारत गए । के त्यसवेला नेपालमा संविधान जसरी भए पनि बन्छ भन्ने कुरा मोदी संग लुकाउन सफल भए ? बरु फर्केपछि उनीहरुले दिएको अभिव्यक्तिले त यो कुराको जानकारी मोदीलाई गराएको कुरा कै पुष्टि गर्छ ।

केपी ओलीका विषेश दुत दिल्लीमा हुँदै मोदीलाई आफ्नो विषेश दुत पठाएर भारतको हस्तक्षेप छ भनेर खुल्लारुपमा देखाउने आवश्यकता किन पर्‍यो ? गुप्तरुपमा केपीका विषेश दुत मार्फत दवाव दिने सजिलो बाटो किन अपनाएनन ?

टुडिखेलमा भारतलाई चुनौती दिने भाषण र सुरुङ्ग युद्धको चुनौती एकै स्तरको त हैन ?

बान की मुन लगायत जतिले पनि संविधानको समर्थनमा वक्तव्य दिएका छन सबैले आन्तरिक द्वन्द शान्तिपूर्ण तरिकाले वार्ताबाट हल गर्न सुझाव दिएका छन । अमेरिकाको वक्तव्यमा त अझ सुरक्षकर्मीलाई संयम अपनाउन पनि आग्रह गरिएको छ । भारतले आन्तरिक द्वन्द हल गर्न गरेको अनुरोधलाई हस्तक्षेप भनिए जस्तै अरुलाई किन भनिएको छैन ?

भारतको विषेश दुतको कुरा प्रकटमा आएदेखि यो संविधानसंग असन्तुष्ट रहेकाले पनि राष्ट्र बचाउन भनेर समर्थन गरेका हुन । मनोमानी गरेका भनेर सर्वआलोचित नेताहरु भारतलाई गाली गर्ने वित्तिकै फेरी पुन नायक हुँदैछन । के मोदी यति मुर्ख होलान कि आफ्नो कदमको के के असर पर्दछ भन्ने आंकलन पनि गर्न सक्दैनन ?

        यी सव कुराले वर्तमान नेपाल भारत जुहारी प्रायोजित हो कि भन्ने शंका पैदा गर्दछ । यदि प्रायोजित हो भने कुन लक्षको निमित्त हो ? केवल अहिले नेताहरुलाई प्राप्त नायकत्व दिनमात्र हो वा अन्य गुप्त कुरा पनि छ । किनभने नेपालमा आफ्नो यस्तो विरोधको मोल केवल यत्ति लक्षको निमित्त चुकाएको होला भनेर मान्न सकिन्न ।

        प्रार्थना छ मेरा यी संशयहरु रत्तिभर पनि सत्य नहोस । तर आवेशमा आउनु भन्दा विवेचन गर्नु उपयुक्त होला ।

SHARE THIS

Author:

Facebook Comment