अतिमानवहरुको अवसर , राष्ट्रिय विपत्ति


–स्वयम्भुनाथ कार्की
यसपालीको भुईचालोले पैदा गरेको राष्ट्रिय विपत्तिलाई अवसर भन्नेहरु धेरै भए । प्रभावितहरुको आत्मवल बढाउन यो आवश्यक पनि थियो । त्यसैले सबैको यो भनाईलाई सकारात्मक रुपमा नै लिईनु पर्दथ्यो र लिईयो पनि । सबैको सोचमा यो अवसर भुईचालोले थिलथिलो पारेकाहरुलाई आत्मनिर्भर बनाउने हो भन्ने थियो । विदेशमा मेसिनको पुर्जा सरह घोटिएर आङ्खनो रगत सुकाउने मेहेनती नेपालीलाई स्वदेश बनाउन उत्प्रेरित गर्ने अवसर भनेको हो भन्ने थियो । अन्य सबै काम थाँती राखेर नेपाली सबै पुर्ननिर्माणमा जुट्ने अबसर भन्ने थियो । तर अतिमानवहरुले भनेको अवसर यी रहेनछन ।

मगन्ते वानी परिसकेका अतिमानवहरुले यो विपत्तिलाई भिक्षपात्र भर्ने अवसरका रुपमा लिएका रहेछन । सयौ किलोमिटर टाढाबाट विमानमा दालरोटी माग्न पनि पछि परेनन । करुणा पैदा गर्नु थियो त्यसैले त्यो भोजन गोदाममा थन्क्याए कुहाए अनि खाल्टामा पुरे । अनि फेरी हामी भोकै छौं सहायता गर भनेर याचनाको स्वर उराले । शायद खाल्टामा नै पुर्ने हो भन्ने जानेर होला कुहिएको चामल लगायतका उपभोग अयोग्य सामाग्री प्राप्त भयो । त्यो पनि ‘सित्तैमा पाए अलकत्रा’ जस्तै हात फैलाएर टाउको निहुराएर स्विकारे ।

कमाई गर्ने बानी परेका अतिमानवहरुले यो विपत्तिलाई व्यापार बढाउने अवसरका रुपमा लिएका रहेछन । लाखौं टन व्यापारिक सामान भित्रियो जसमा पिडितलाई मानविय सहायताको छाप लागेको थियो । त्यसको गन्तव्य थियो व्यापारिक गोदाम । प्रधानमन्त्री राहतकोषमा अनैतिक कमाईको सयकडा एक दाखिल गरे समाजसेवी र दानवीरको प्रतिष्ठा अतिरिक्त लाभ । सरकारी संयन्त्र नतमस्तक । अति नै भए कारवाहीको नाटक अनि नियमानुसार लाग्ने दस्तुरको चार पाँच प्रतिशत जरिवाना अन्य कन्तुर दाखिला ।

प्रचारप्रेमी अतिमानवहरुले यो विपत्तिलाई चर्चा बटुल्ने अवसरको रुपमा लिएका रहेछन । पिडितको सहायताको नाममा कहिले फुटवल, कहिले फोटो सेसन । मनोरञ्जनको मनोरञ्जन साथमा सामाजिक दायित्व पुरा गरेको मान , अनि भजने संचारमाध्यमबाट गुणगानको ओईरो । उद्धार गरेजस्तो गरेर खिचिएका अनेकौ फोटाहरु यस कुराको प्रमाण छन जसले त्यो मुन्द्रा केवल फोटो खिचाउन मात्र बनाएको थियो भन्ने कुरा जनाउछन ।

काइते अगुवाहरु अतिमानवहरुले यो विपत्तिलाई आङ्खनो मनोमानी निर्विरोध पुरा गर्ने अवसरका रुपमा लिएका रहेछन । कोहि पिडित भएर, कोहि पिडितलाई सहायतामा लागेर अनि बाँकी विपत्तिको वेलामा आपसी मतभेद निकाल्न हुँदैन भनेर चुप लागेको मौकाको सदुपयोग गर्न दत्तचित्त भएका छन । करिव दशक पुग्दा पनि हल गर्न नसकिएका बुँदामा कसैको ध्यान जान सक्दैन भनेर थाँती संविधानको निमित्त मौका छोप्न लागेका छन । मुलुक घाइते भएको अवस्थामा यो बेमौसमको बाजा यस्तालाई प्यारो भएको छ । दुर्घटनामा परेर गम्भिर घाइते भएकालाई उसको सम्पत्तिको राजिनामामा सहि गराएको जस्तै लाग्ने यो काम पनि अवसर नै भएको छ ।

यो काम पुरा गर्न धेरै समय छैन, किनभने समय वित्दै जाँदा जनता तंग्रिदै जान्छन अनि मनोमानी चल्दैन । त्यसैले सबै नियम निलम्बन गर्नु परेको छ । सबै सभासदहरुको मुख थुन्नु परेको छ । महिना दिन मै संविधान जारी गर्नु परेको छ । तर त्यो भन्दा पहिले आफु भोली पदमा रहिएन भनेको निमित्त पनि व्यवस्था गर्नु परेको छ । विपत्तिलाई अवसर बनाएर जनतालाई बन्दकी राखेर आङ्खनो मनोमानी गर्ने कामलाई अचानक सर्वोच्च अदालतले गति नियन्त्रण गर्न खोजेको छ । त्यसैले चिच्याहट छ, अदालतले राजनीतिमा हात हाल्यो ।

के निरंकुश भनेर एकोहोरो खेदो गरिएको पञ्चायतमा कार्यपालिकाका कुनै काम अदालतले रोकेको थिएन ? त्यसबेला त त्यो निरंकुशले चुपचाप अदालतको आदेश मान्यो त । कयौ सञ्चारकर्मीको अधिकार बहाली पञ्चायतको वेला अदालतले गरेकै हो निरंकुशले त चुपचाप यो अंकुश मान्यो । तर यो नवनिरंकुश भने सार्वजनिकरुपमा, बैठक गरेर घोषणा गर्दैछ हामी कुनै अंकुश मान्दैनौ । के यसको अर्थ हामी निरंकुश हौ भनेर गरेको स्विकारोक्ति हैन ? सदनमा आवश्यक बहुमत छ, जुन धाराले सर्वोच्चले वोल्यो त्यही धारा संसोघन गर्ने सरल बाटो छोडेर यो अपकिर्ति हुने बाटो किन ? उत्तर स्पष्ट छ, त्यसलाई समय लाग्छ समय लाग्यो भने यो विपत्तिले ल्याएको  आङ्खनो अवसर गुम्छ ।

तर यी अतिमानवहरुले सोच्न समय ननिकालेको बुँदा के हो भने त्यो अवसर सकिईसक्यो । जवरजस्ती गरेर न्यायपालिका नमानेर लागु गरेको संविधान प्रजातान्त्रिक हो कि हैन भन्ने बहस प्रारम्भ भै सक्यो । अझ प्रजातन्त्रमा शक्ति सन्तुलनका निमित्त बनेका तीन अंग मध्ये कार्यपालिका र व्यवस्थापिका बिचको सीमारेखा खै भन्ने खुल्दुली पैदा भईसक्यो । अतिमानवहरु हो, विपत्तिले तिमीहरुको निमित्त ल्याएको अवसर समाप्त भै सक्यो ।


विराटनगर १

प्रकाशित मिति २०७२ असार १० गते बिहीवार



SHARE THIS

Author:

Facebook Comment