भूकम्प राहत: विज्ञापन कि औपचारिकता ?

–दीपिका भुषाल

विक्रम सम्वत् २०७२ को पहिलो महिना वैशाख १२ गते आएको महाभूकम्पले नेपाल र नेपालीलाई महाविपत्तिमा पारेको छ । प्राकृतिक विपत्तिबाट नेपालीहरू निरास भएका छन् । हरेस खाएका छन् । हरेस खाएका, निरासामा परेकालाई धैर्य धारण गर्नसक्ने मनेवैज्ञानिक वातावरण वर्तमान आवश्यकता हो । भूकम्पबाट डराएको, भूकम्प पीडितहरूको मनलाई नडराउने र प्राकृतिक विपत्ति टार्न नसक्ने भनि चित्त बुझाउने प्रयास सबैतिर हुनु पर्दछ । भूकम्पमा कतिले छोरा, छोरी, श्रीमति, श्रीमान, पूरै परिवार नै गुमाउन परेको देखियो ।

दिनदशा बिग्रिएपछि बिपदको परिस्थिति आउने हो । महाविपत्तिमै मानिसको खास प्रवृत्तिको उजगार हुन्छ । महाभूकम्पपछि भूकम्पसँग गाँसेर धेरै मानिसले धेरै कुरा सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरे । सन्देशमूलक, जानकारीमूलक, सुझावमूलक सिर्जनात्मक र रचनात्मक सुधारमूलक र मानिसमा विद्यमान खराब नियत र प्रवृत्तिका विरुद्ध थुप्रै वाक्यांशले यतिखेर फेसबुक भरिएको छ ।

म आफैंले पनि फेसबुकवालमा “भूकम्पमा परी जवान छोरा गुमाउँदा कति पीडा भएको होला ? यी यस्तो पीडा व्योहोरिरहेका बाबुआमालाई राहत दिन जाँदा राहत रकमभन्दा मानिसको लस्कर धेरै लिएर जानेहरूलाई फोटो खिचाउन कति रहर लागेको होला ?” भनेर पोष्ट गरेकी थिएँ । एकजना फेसबुक साथीले त्यसमा प्रतिकृया दिंदै यो वाक्यांश निकै मार्मिक छ, यसमा मानवीय संवेदना उल्लेख भएको छ, त्यसैले यसबारे आलेख लेख्न आग्रह गरेपछि मैले यो लेख लेखेकी हुँ ।

प्रकृतिको कम्पन्न समान भएपनि दूष्ट, पापी, भ्रष्ट कर्मचारी र दलका ठूला नेता तथा कार्यकर्ताको घर नभत्किएकोमा दु:ख मान्नेहरू पनि धेरै छन् । घरधनीको घर भत्किएको छ भने डेरावालको भौतिक र मानवीय दुबै क्षति धेरै भएको छ । कतिपय स्थानमा क्षति व्योहोर्ने डेरावाल, राहत थाप्ने अरबपति पनि देखा परेको छ ।
सामाजिक संजाल प्रयोगकर्ता एकजनाले “वाह वाह साम्यवादी ¤ कुनै धनि, गरीब, जाति, भाषा, धर्म, लिंग, वर्गको विभेद नगरी आउने, सबैलाई समान रुपमा प्रभाव पार्ने भनेर प्रकृतिको अनुपम समानता ¤” भनि व्याख्या गरेका छन् ।

करोडपति र रोडपतिलाई महाभुकम्पले एकैसाथ एकै पालमुनिको बासिन्दा बनायोजस्ता चर्चा पनि खुबै सुन्न पाइयो, देखियो पनि ।
भूकम्पबाट ठूला नेता मात्र होइन, ठूला कलाकार, ठूला पत्रकार, ठूला लेखक, ठूला व्यवसायी, उद्योगपति, ठूला पदमा रहेका सरकारी कमर्कचारी कसैलाई केही भएको छैन । घर भत्किएको छैन भन्ने कुरा पनि चर्चामा आए । भूकम्पको वर्गीय प्रभाव परेको, काठ र गाउँघरका पुराना धेरै घर भत्किएको, शहर बजारको पुराना घर चर्किएको तर नभत्किएको पनि पाइयो । प्रकृतिको कम्पन समान भएपनि घरहरू असमान रुपमा क्षति पुगेको, असमान रुपमा भत्किएको पनि देखियो भनेर चर्चा गर्नेहरू पनि देखिए ।
भूकम्पले धेरैलाई धेरै कुरा सोच्ने र देख्ने अवसर दिएको छ । राहत सामग्री वितरणमा धाँधली र भ्रष्टाचार गर्ने पापीहरू र विषम परिस्थितिमा विपतको घाउ आलो भएको बखतमा नि:स्वार्थ भावले सहयोगकालागि फैलिएको हातहरू पनि थुप्रै देखियो । भूकम्पलाई उपभोक्तावादका रुपमा प्रयोग गर्ने, राहतको नाममा भिखारीलाई झैं एकएकवटा चाउचाउ बाँडेर थरिथरिका अभिनय गरेर फोटो खिचाउने संघसंस्थाका पदाधिकारिहरू पनि देखियो । त्यसैले भनिन्छ हामी बसेको र बाँचेको धर्ती भवसागर हो । लोभी, पापी, अपराधी, दानी, दाता, सहयोगी हातहरू हेर्न कहिं कतै जानुपर्दैन । महाविपतका समयमा सबै कुरा छर्ल·सँग देख्न सकिन्छ ।

भूकम्पमा परि जसको जनधनको क्षति भयो, उसको पीडा उसैसँग छ । कसैले शेयर गर्न सक्दैन । भावनामा बगेर मानवीय समवेदना प्रकट गर्नु, सहानुभूति राख्नुबाहेक हामीसँग अर्को विकल्प छैन । प्राकृतिक विपद मानिसले व्योहोर्नु पर्दछ । प्राकृतिक विपदलाई मानिसले कुनैपनि हालतमा जित्न सक्दैन ।
प्राकृतिक विपद झुक्याएर आउँछ, सधैं आउँदैन पनि । मानिसले आफ्नो जीवनमा कुनै न कुनै प्राकृतिक विपत्ति झेल्नु नै पर्दछ । भूकम्प, अतिवृष्टि, अनावृष्टि (खडेरी) प्रचण्ड गर्मी, आँधीबेहरी, चट्याङ्ग, बाढी, डुबान, पहिरो आदि प्राकृतिक विपत्ति हुन्, जसलाई दैवी विपत्ति पनि भनिन्छ । दैवी विपत्तिमा जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ । विपत्तिबाट जनधनको क्षति हुनबाट भने रोक्न सकिंदैन । “दैवको लीला अपरम्पार, जस्मा घुम्दछ सारा संसार” भनिएकै छ ।

प्राकृतिक विपदमा परेकालाई राहत वितरण तत्काल गर्ने, आश्वस्त पार्ने कर्तव्य र दायित्त्व सरकारको हो । राहत वितरणको वेथितिमाथि नियन्त्रण सरकारले गर्नै पर्दछ । मानवीय संवेदनशीलतामाथि खेलवाड गर्नु भनेको नरकको यात्रा तय गर्नु सरह हो ।

भूकम्पमा परी जवान छोरा, छोरी, बालबालिका, गुमाउँदा कति पीडा भएको होला ? पीडामा रहेकालाई मल्हमपट्टी लगाउनु मानव धर्म हो । मन, वचन, कर्म र धनले पीडितहरूको सेवा गर्नु नै धर्म हो । पीडामा परेका मानिसलाई लामवद्ध गराएर केही रकम र केही राहत सामग्री दिंदा दाताले जुन फोटो खिचाएर सहयोगको प्रमाणपत्र दिंदैछन् यो निर्लज्जता हो, नि:स्वार्थ सेवाको भावना होइन । गोप्य दानजस्तो ठूलो धर्म केही छैन भनेर शास्त्रमा लेखिएको छ । आत्मप्रदर्शन, विज्ञापनको शैलीमा भूकम्पपीडितहरूलाई औपचारिकता निर्वाहकालागि गरिने राहत सहयोगले कुनै फल नमिल्ने नीति र व्यवहारले देखाएको छ । दु:ख परेको बेला हात पसार्नु मानिसको बाध्यता हो । मानिसको बाध्यतामा विज्ञापन गर्नु अधर्म हो । राहत वितरण फगत विज्ञापन भइरहेको छ । सहानुभूतिपूर्वक, मानवीय संवेदनशीलताको दायरभित्र रहेर राहत वितरण गर्नेहरूले फोटो खिच्ने आशा राख्दैनन् । राहत सामग्री वितरणले फेशनको रुप पनि धारण गरेको छ । एक रुपैयाँको राहत सामग्री दिएर पचास रुपैयाँको प्रदर्शनी गरिने परम्परा निन्दनीय कार्य हो ।

प्रकाशन मितिः२०७२ जेठ २८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment